ad ad

राजनीति


कति सम्भव छ अर्थमा जनार्दन शर्माको ‘कमब्याक’?

प्रचण्डले प्रेस सेन्टरको बैठकमा भने : नखाएको विष कसैलाई लाग्दैन
कति सम्भव छ अर्थमा जनार्दन शर्माको ‘कमब्याक’?

फाइल तस्बिर


सागर न्यौपाने
साउन १३, २०७९ शुक्रबार २३:२६, काठमाडौँ

संसदीय छानबिन विशेष समितिले निर्दोष सावित गरेपछि जनार्दन शर्मा फेरि अर्थमन्त्रालय फर्किने सम्भावनाबारे चर्चा हुन थालेको छ। 

संसदीय समितिले सफाइ दिए पनि उनलाई फेरि अर्थमा फर्काउन नहुने भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले अधिकारसम्पन्न समितिमार्फत छानबिन गर्न माग गरेको छ। 

शर्मालाई छानबिन समितिले चोख्याएपछि धेरैले उनी फेरि मन्त्रालय फर्किने आँकलन गरेका छन्। के साँच्चिकै जनार्दन अर्थमै फर्किएलान् त?

यस प्रश्नको जवाफ खोज्नुअघि बजेट निर्माणका क्रममा जेठ १४ गते राति उनले अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति भित्र्याएर करका दर हेरफेर आरोप लागेर राजीनामा दिएपछिका प्रसङ्गको चर्चा गरौँ।

२२ असारमा संसदीय छानबिन विशेष समिति बन्नुअघि शर्माले संसदलाई सम्बोधन गर्दै राजीनामा दिएका थिए।

बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएको समाचारले विवादित बनेका शर्माले अर्थ मन्त्रालयको सीसीटीभी फुटेजसमेत १५ दिनमै डिलिट गरेको अर्को आरोप खेप्नुपरेको थियो।

कानुनी व्यवस्था अनुसार सरकारी कार्यालयको सीसीटीभी फुटेज ३ महिनासम्म सुरक्षित राख्नुपर्छ। तर शर्माले अर्थको फुटेज १४ दिनमै डिलिट भएको जवाफ दिएपछि उनी आलोचनाको केन्द्रमा परेका थिए। 

त्यसैबेला शर्माले आफूनिकटहरुसँग अर्थमा आफूले कुनै गलत नगरेकोले निर्दोष ठहरिने ठोकुवा गरेका थिए।

छानबिन समितिले निर्दोष रहेको प्रतिवेदन बुझाए पनि शर्माले आफू फेरि अर्थमा नफर्किने निकट सहयोगीहरुसँग बताएका थिए।

'मैले अर्थमा कुनै गलत गरेको छैन, म निर्दोष त हुन्छु,' शर्माले त्यसबेला भनेको भनाइ उद्धृत गर्दै एक नेताले भने, 'समितिले निर्दोष रहेको प्रतिवेदन दिए पनि म अर्थ फर्किन्न, चुनाव जितेर फेरि अर्कै मन्त्रालय सम्हाल्छु।'

शर्माले फिर्ता नहुने बताएपछि विकल्पमा अब युवा सांसद पठाउनुपर्ने भन्दै छलफल गरेका थिए।

'मंसिरमा चुनाव हुने भएकोले ४ महिनाका लागि युवा सांसदलाई मन्त्री बनाउने उहाँको योजना थियो,' निकट स्रोतले नेपालखबरसँग भन्यो, 'तर एमाले सांसदहरूले समितिमै दोहोरो भूमिमा खेलेको जवरजस्ती गलत गरेको देखाउन थालेको सूचना सार्वजनिक भए। त्यसैले उहाँको चाहना बदलियो।'

समितिले पहिलोपटक पाएको १० दिनको समयमा कुनै प्रमाण फेला परेन। तर, छानबिन बाँकी रहेपछि थप समय उपलब्ध गराइयो। 

यसमा शर्माको असन्तुष्टि थियो। उनी सुरुको १० दिनमै प्रतिवेदन संसदमा पेश होस भन्ने चाहन्थे। 

तर त्यसो भएन, संसदबाट सभामुख अग्निप्रसाद सापकोटाले थप ७ दिनको समय समितिलाई दिए। 

यसबीचमा डिलिट भएको सीसीटीभी फुटेज रिकभर गर्न प्रहरीको फरेन्सिक ल्याब लगियो। रिकभर पनि भयो। 

तर त्यसबाट पनि जनार्दनले १४ जेठमा बजेट निर्माण गर्दा कुनै अन्य मानिस लगेको, करका दर फेरेको विवरण समितिले फेला पारेन। त्यही विषय राखेर समितिले शुक्रबार सभामुख सापकोटालाई प्रतिवेदन बुझायो। 

जनार्दनले भनेजस्तै समितिले उनले गलत गरेको कुनै प्रमाण फेला पार्न नसकेको छानबिन समितिका संयोजक लक्ष्मणलाल कर्णले बताए।

फर्किएलान् अर्थमा?
अब अर्थमा नफर्किने बरु चुनावपछि अर्कै मन्त्रालय हाँक्ने योजना बनाएका जनार्दनले समितिको प्रतिवेदनबाट सफाइ पाएपछि नयाँ धारणा सार्वजनिक गरेका छैनन्।

उनी अझै पनि पार्टी निर्णय कुर्ने योजनामा छन्। तर,यसबीचमा एउटा कुराले निर्णयमा पुनरावलोकन गर्न बाध्य बनाएको छ। 

छानबिन विशेष समितिमा रहेका एमालेका ४ सांसदहरूले राखेको फरक मत र अर्को अधिकारसम्पन्न छानबिन समितिको मागले उनी झस्किएका छन्। 

तर स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले पनि जनार्दनलाई नै अर्थमा फर्काउन चाहेका छन्।

त्यसबारे माओवादी केन्द्रले निर्णय गरोस भन्ने चाहना देउवाको छ।

'जनार्दनजी लाई नै अर्थमा ल्याउन छलफल हुन्छ, उनको सम्भावना निकै छ,' देउवानिकट स्रोतले नेपालखबरसँग भन्यो, 'उहाँको पार्टीले निर्णय गरोस् भन्ने प्रधानमन्त्रीको चाहना छ।'

यसबीचमा शुक्रबार माओवादी अध्यक्ष प्रचण्डले प्रेस सेन्टरको बैठकलाई सम्बोधन गर्दै जनार्दन शर्मा निर्दोष रहेकाले नखाएको विष नलाग्ने बताएका थिए।

उनले जनार्दन अर्थमा फर्किने नफर्किनेबारे केही बोलेनन् तर लोकप्रिय बजेट ल्याएदेखि घेराबन्दी गर्न खोज्नेहरूले जनार्दन र माओवादीलाई समेत बदनाम गर्न चाहेको बताएका थिए। प्रचण्डले जनार्दनले सफाइ पाउने कुरामा आफू ढुक्क रहेको कुरा पनि बताएका थिए।

स्रोतले भोलि शनिबार (१४ साउन) मा यसबारे गठबन्धनमा छलफल हुने र एउटा निष्कर्षमा पुग्ने बताएको छ। 

'यो गठबन्धन सरकार हो, सबै पार्टीसँग सहमति गराएर एउटा निष्कर्षमा पुगिन्छ', स्रोतले थप्यो, 'जनार्दनलाई अर्थमा नल्याउन बाहिर धेरै दबाब बढेको छ । यसबारे गम्भीर सल्लाह हुन्छ।'

अर्थ मन्त्रीबारे माओवादीले यही १५ साउनमा बस्ने स्थायी समिति बैठकबाट निर्णय तयारी गरेको छ।

जनार्दनमै निर्भर 
अर्थमा फर्कने/नफर्कने निर्णय जनार्दनमै निर्भर रहेको माओवादी नेताहरू बताउँछन्। 

'उहाँ निर्दोष हुनुहुन्छ, समितिले त्यही रिपोर्ट दियो। त्यही  भएर मन्त्रालय फर्कन्छु भन्नुभयो भयो उहाँ नै फर्किने गरी पार्टीले निर्णय गर्छ', एक स्थायी समिति सदस्यले नेपालखबरसँग भने, 'अब उहाँको विकल्प खोज्नुहुन्न। झन् यो समयमा त हुँदै हुन्न।' 

तर, यसबारे निर्णय भने जनार्दनले नै गर्नुपर्ने भएको छ। 'उहाँले पहिला रुचि देखाउनु भएको थिएन, अहिले पार्टीबाटै विकल्प छैन भन्न थाले त उहाँ फर्कनु होला', उनले भने, 'तर, यसबारे जनार्दनजीले नै भन्नुपर्छ।'

'आइतबार कमब्याक हुने सम्भावना छ, यदि अन्य कारण नरोकिए सोमबारको क्याबिनेट बैठकमै उपस्थित हुनेगरी जान पनि सक्नुहुन्छ,' स्रोतले भन्यो, 'त्यही अनुसार तयारी भएको छ, अन्तिम अवस्थामा रोकिएन वा उहाँले आफैं नजाने भन्नुभए मात्र रोकिन्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .