राजनीति


‘एसपीपी रोकेको पत्र अमेरिकालाई पठाइनु देशभक्त नेपालीको जित’

‘एसपीपी रोकेको पत्र अमेरिकालाई पठाइनु देशभक्त नेपालीको जित’

एसपीपीबारे केही समयअघि कुरा उठाउँदै भीम रावल। तस्बिर : रासस


नेपालखबर
साउन १३, २०७९ शुक्रबार २२:१७, काठमाडौँ

नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपपी) रोक्ने गरी पत्र पठाइनु नेपाली जनताको जित भएको  बताएका छन्।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले एसपीपी अघि नबढाउने सकारको निर्णयसम्बन्धी पत्र साउन ९ गते कूटनीतिक माध्यमबाट अमेरिकालाई पठाइएको जानकारी शुक्रबारको संसद बैठकमा दिएका थिए। 

असार ६ गतेको मन्त्रिपरिषद् बैठकले एसपीपी अघि नबढाउने निर्णय गरे पनि सरकारले पत्र पठाउन आनाकानी गरिरहेको थियो।

तर प्रमुख प्रतिपक्षी, नागरिक समाज र सर्वसाधारणले समेत चर्को दबाब दिएपछि सरकारले उक्त पत्र पठाएको जानकारी संसदलाई दिएको हो।

परराष्ट्रमन्त्री खड्काले साउन ९ मै पत्र पठाइएको बताए पनि सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने शुक्रबार मात्रै पठाएको बताएका छन्।

यसलाई लिएर एमाले नेता रावलले देशभक्त नेपालीहरुको सशक्त आवाजको फलस्वरुप सरकारले एसपपीमा संलग्न नहुने भनी पत्र पठाउनु नेपाल र नेपालीको विजय भनेका छन्। 

उनले देश हितमा आवाज उठाउने सबैलाई धन्यवाद र बधाई पनि दिएका छन्। 

रावलले पञ्चशील, असंलग्नता, विश्व शान्तिका सिद्धान्त र राष्ट्रिय हितमा आधारित नेपालको स्वतन्त्र परराष्ट्र नीति रहेको पनि उल्लेख गरेका छन्। 

राष्ट्रिय स्वाधीनता र स्वाभिमानको पक्षमा देश प्रेमी सचेत नागरिकको आवाजका कारण सरकारले गत असार ६ गते एसपीपी अघि नबढाउने निर्णय गर्न बाध्य भएको पनि स्मरण गरेका छन्। 

'तर त्यस निर्णयलाई कार्यान्वयन गर्न विलम्ब गरिँदै थियो। देशभक्त नेपालीहरुको निरन्तरको सचेत प्रयत्नले अन्ततः यही साउन ९ गते उक्त कार्यक्रममा नेपाल सामेल नहुने औपचारिक पत्र अमेरिकालाई पठाइएको जानकारी परराष्ट्र मन्त्रीबाट प्रतिनिधि सभाको बैठकमा आज साउन १३ गते दिइएको छ', उनले भनेका छन्, 'यो कुनै पनि सैनिक गठबन्धनमा नेपाल सामेल नहुने स्वतन्त्र परराष्ट्र नीति र असंलग्नताको झण्डा झुक्न नदिन आवाज उठाउने सम्पूर्ण देशभक्त नेपालीहरुको जीत हो। मातृभूमि नेपालको जीत हो।'

देशको स्वाधीनता,अखण्डता र हितको पक्षमा दृढताका साथ सशक्त आवाज उठाइरहन पनि भनेका छन्। 

प्रतिनिधि सभामा सांसदहरुले निरन्तर पत्र पठाउन माग गरेपछि सभामुख अग्नि सापकोटाले सरकारलाई यसबारे साउन ५ गते निर्देशन दिएका थिए। 

'एउटा शक्ति राष्ट्रको सामरिक गठबन्धनमा नेपाललाई धकेलेर नेपाली भूमि विदेशी सैनिक प्रयोजनका लागि दुरुपयोग गर्न दिने राष्ट्र हित विरोधी कृत्य विरुद्ध मैले एसपीपीको नेपाल सदस्य भएको भनी सन् २०१९ मा थाहा पाएदेखि नै निरन्तर आवाज उठाउँदै आएको थिएँ', रावलले भनेका छन्, 'देशभक्त नेपालीहरुको आवाजको विजयप्रति गौरव छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad