पाँच दलीय सत्ता गठबन्धनका तीन दलहरु समाजवादी केन्द्र निर्माणको कसरतमा जुटेपछि गठबन्धनबीचको संवाद पातलिएको छ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) समाजवादी केन्द्र निर्माणको कसरतमा जुटेपछि गठबन्धनबीचको संवाद पातलिएको हो।
सत्ता गठबन्धनका पाँच दलहरु सामूहिक रुपमा संवादमा नबसेको डेढ साता भइसकेको छ। साउन २ गते प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका दलहरुबीच अन्तिम छलफल भएको थियो।
त्यसयता उनीहरुबीच औपचारिक र अनौपचारिक छलफल भएको छैन। साउन १ गते भारत भ्रमणबाट फर्किएको भोलिपल्ट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरुबीच बालुवाटारमा छलफल भएको थियो।
यसबीचमा समाजवादी केन्द्र बनाउन प्रचण्ड, माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र वामदेव गौतमबीच सिंहदरबारमा छलफल भयो।
यस्तै, डा. बाबुराम भट्टराई र प्रचण्डबीच पनि समाजवादी केन्द्र बनाउनेबारे ललितपुरको हात्तीवनमा छलफल भइसकेको छ।
कांग्रेससँगको गठबन्धन के हुन्छ प्रष्ट नभए पनि समाजवादी केन्द्र बन्ने निश्चित भएको माओवादी केन्द्रका नेता वर्षमान पुन बताउँछन्।
‘माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, बाबुराम भट्टराई र वामदेव गौतमबीच समाजवादी केन्द्र बनाउने सहमति भइसकेको छ,’ पुनले केही दिनअघि नेपालखबरसँग भनेका थिए, ‘चुनावमा हामी मोर्चा बनाएरै जान्छौँ।’
आसन्न संघीय र प्रादेशिक निर्वाचनमा गठबन्धनका दलहरूसँग चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरिसकेको कांग्रेस भने समाजवादी केन्द्र निर्माणका लागि भइरहेको प्रयासलाई नजिकबाट नियालिरहेको छ।
गठबन्धनका दलहरु समाजवादी केन्द्र निर्माणमा जुटेपछि कांग्रेसले उनीहरुसँग सामूहिक छलफल प्रयास नै गरेको छैन। कांग्रेसले सत्ता गठबन्धनका दलहरूसँग किन संवाद गरेको छैन त? उपसभापति धनराज गुरुङ भन्छन्, ‘गठबन्धन दलका साथीहरु जुन गृहकार्य गरिरहनुभएको छ, त्यो कहाँसम्म पुग्छ? हामी ‘वेट एन्ड सी’ (पर्ख र हेर) मा छौँ। उहाँहरु घनिभूत छलफलमा हुनुहुन्छ, हामीले किन डिस्टर्ब गर्ने?’
कांग्रेसले समाजवादी केन्द्र निर्माण प्रयासलाई सकारात्मक रुपमा लिएको उनी बताउँछन्।
‘कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले चुनावी तालमेल गर्ने निर्णय गरिसकेको अवस्थामा उहाँहरुको प्रयासलाई हामीले सकारात्मक रुपमा लिएका छौँ,’ उपसभापति गुरुङले नेपालखबरसँग भने।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत भने गठबन्धनका दलहरुबीचको संवाद पातलिएको कुरा स्वीकार्न तयार छैनन्। ‘छलफल पातलो भएको छैन। नेताहरुबीच छलफल–भेटघाट भइरहेकै छ,’ उनले प्रतिक्रिया दिँदै भने।
यद्यपि, प्रवक्ता डा. महतले समाजवादी केन्द्र निर्माण प्रयासमा कांग्रेसलाई कुनै आपत्ति नभएको बताए। ‘माओवादी र एकीकृत समाजवादी मिल्छन् भने हामीलाई के को आपत्ति? गठबन्धनमा रहँदा हिस्सा लाग्ने नै हो, एकल हुँदा आ–आफ्नो तरिकाले अगाडि बढ्ने हो,’ उनले भने।
प्रवक्ता डा. महत माओवादी केन्द्र र एकीकृत समाजवादी प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग नमिल्नेमा भने ढुक्क झैँ देखिन्छन्। तर, माओवादी केन्द्र र एकीकृत समाजवादी तथा एमालेबीचको एकता भने गम्भीर विषय भएको उनको बुझाइ छ।
‘उनीहरु एमालेसँग जाँदैनन्,’ डा. महत भन्छन्, ‘एमालेसँगको एकता भने गम्भीर विषय हुन्छ। अहिले गठबन्धनमा कुनै असमझदारी छैन।’
माओवादी केन्द्रका नेता पुनले एमालेबाहेक वामपन्थी दल मिलेर समाजवादी केन्द्र बन्ने दाबी गरे पनि एमालेसँग मिलेर चुनावमा जानुपर्ने मत माओवादी भित्रै बलियो छ। त्यसकै लागि केही नेताहरु प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको दैलो धाइरहेका छन्।
आगामी निर्वाचनपछि एउटा शक्ति कांग्रेसको र अर्को शक्ति वाम शक्तिबीचबाट बन्ने समाजवादी केन्द्रले गर्ने नेता पुनको भनाइ छ।
‘अब परम्परागत शक्तिको नेतृत्व कांग्रेसले गर्छ। प्रगतिशील शक्तिको नेतृत्व समाजवादी मोर्चाले गर्छ,’ उनले भने, ‘एमाले कता जाने भन्ने उसले निर्णय गर्ने कुरा हो।’
प्रतिक्रिया