राजनीति


कांग्रेसमा गठबन्धनको विकल्प खोजी, ‘प्लान बी’ मा प्रवेश गर्न नेताहरुको सुझाव

कांग्रेसमा गठबन्धनको विकल्प खोजी, ‘प्लान बी’ मा प्रवेश गर्न नेताहरुको सुझाव

फाइल तस्बिर


नेपालखबर
असार ३०, २०७९ बिहिबार १८:५९, काठमाडौँ

प्रमुख सत्तारुढ नेपाली कांग्रेसमा सत्तारुढ पाँच दलीय गठबन्धनको विकल्प खोज्नुपर्ने कोणबाट पनि कुरा उठेको छ।

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समितिको बैठकमा बिहीबार बोल्नेमध्ये केही नेताहरुले पाँच दलीय गठबन्धनको मात्रै भर परेर बस्न नहुने सुझाव दिएका हुन्। 

बैठकपछि बोल्दै कांग्रेसका सह-महामन्त्री बद्री पाण्डेले गठबन्धनको विकल्पमा पनि ध्यान केन्द्रित गर्नुपर्ने कुरा नेताहरुले उठाएको जानकारी दिएका छन्। 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले केन्द्रीय सदस्यहरुले गठबन्धनलाई सकेसम्म अघि बढाउनुपर्ने, यदि त्यसो नभए विकल्पका रुपमा 'प्लान बी'मा पनि प्रवेश गर्नुपर्ने माग राखेको बताए। 

'आगामी दिनमा पार्टीले कुन बाटो जाने भन्ने प्रश्नहरु छन्, त्यसैले यसको उत्तर पार्टीले दिन्छ', पाण्डेले भने, 'गठबन्धनलाई निरन्तरता दिनुपर्छ भन्ने कुरा गर्नुभएको छ। भ्रातृसंस्था र पार्टी निकायलाई पूर्णता दिनुपर्ने कुरा छ। गठबन्धन तोड्नु हुँदैन, तोडिए 'प्लान बी'मा पनि जानुपर्ने कुरा छ। कामकाजी बन्न सकिएको छैन।’

सह-महामन्त्री पाण्डेले पार्टीबारे केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ पदाधिकारीहरुले दिने तयारी रहेको बताए। 

उनले सबैको जवाफ सभापति शेरबहादुर देउवाले पनि दिने बताएका छन्। आगामी दिनमा कांग्रेसले समात्ने बाटोबारे पनि केन्द्रीय सदस्यहरुले कुरा राखेको पाण्डेले बताएका छन्। 

पाण्डेले बैठकमा सरकारसँग सम्बन्धित प्रश्नहरु पनि उठेका बताए।

'हामी पदाधिकारीले दिनसक्ने जवाफ दिन्छौँ, सरकारको तर्फबाट दिनुपर्ने जवाफ पार्टीका मन्त्री र प्रधानमन्त्रीले दिनुहुन्छ', उनले भने, 'लोकतन्त्रमा प्रश्न उठ्छन्, उठाउनुपर्छ। प्रश्नको जवाफ पनि खोज्नुपर्छ। केही समीक्षात्मक प्रश्नहरु उठेका छन्।

सहमहामन्त्री पाण्डेले पार्टी कामकाजी बन्न नसकेकाले सबै पदाधिकारीले जिम्मेवार भएर आफ्नो दायित्व पूरा गर्नुपर्ने पनि बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad