ad ad

राजनीति


उपसभामुखमा पुष्पा भुसालकै पल्ला भारी, लोसपाको भोट कसलाई?

एमाले एक्लै मैदानमा, जसपाको केही भोट हुन सक्छ यताउता
उपसभामुखमा पुष्पा भुसालकै पल्ला भारी, लोसपाको भोट कसलाई?

रुपक चौलागाईं
असार ३०, २०७९ बिहिबार १९:२४, काठमाडौँ

०७६ सालदेखि रिक्त रहेको उपसभामुख पदका लागि शुक्रबार निर्वाचन हुँदैछ। यो निर्वाचनका लागि बिहीबार उम्मेदवारहरूको मनोनयन दर्ता भएको छ। 

उपसभामुख पदका लागि नेपाली कांग्रेसका पुष्पा भुसाल र नेकपा एमालेका विद्या भट्टराईबीच प्रतिस्पर्धा हुँदैछ। भुसाल सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार हुन् भने भट्टराई एक्लै एमालेबाट मैदानमा छिन्। 

भुसालको प्रस्तावकमा माओवादी सांसद देव गुरुङ र समर्थकमा एकीकृत समाजवादीकी लक्ष्मी चौधरी छिन्। 

त्यस्तै भट्टराईको प्रस्तावकमा सांसद शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल छन्। 

एमालेले गठबन्धनविरुद्ध एक्लै प्रतिस्पर्धामा जाने निर्णय लिएको हो। सत्ता गठबन्धनमा नमिसिएको लोकतान्त्रिक समाजवादीले उपसभामुखमा उम्मेदवारी दिएको छैन। उसले नेकपा एमाले वा गठबन्धन कसलाई सघाउने? निर्णय गरिसकेको छैन। 

संसदको अंकगणित
संघीय संसदको प्रतिनिधिसभामा अहिले २७१ सांसद छन्। उपसभामुखमा निर्वाचित हुन १३८ मत आवश्यक पर्छ। 

सत्तारुढ गठबन्धनमा अहिले पाँच दल छन्। संसदमा सबै सांसद उपस्थित भएर मतदान गरेमा गठबन्धनकी उम्मेदवार भुसालको जित पक्का छ। पाँच दलीय गठबन्धनका सबै सांसदको मत १५२ हुन आउँछ।  

जसमध्ये नेपाली कांग्रेसका ६३ (२ जना निलम्बित), माओवादी केन्द्रका सभामुखसहित ४९, जनता समाजवादी पार्टीका १९, एकीकृत समाजवादीका २३ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन। 

उता, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका ९८ सांसद छन। एक्लै प्रतिस्पर्धा गर्ने सोच बनाएको एमाले गठबन्धनविरुद्ध जित निकाल्न सम्भव छैन। गठबन्धन र एमाले दुवैतिर नदेखिएको लोकतान्त्रिक समाजवादी (लोसपा) का १३ सांसद छन्। रेशम चौधरी र हरिनारायण रौनियार सांसद भए पनि कारबाहीमा परेकाले मतदान गर्न पाउने छैनन्। 

प्रतिनिधिसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १ र नेपाल मजदुर किसान पार्टीबाट १ जना सांसद छन्।

लोसपा कता? 
लोकतान्त्रिक समाजवादीले अहिलेसम्म कुन उम्मेदवारलाई मतदान गर्ने भन्नेबारे बोलेको छैन। मनोनयन दर्ता गर्नुअघि प्रमुख प्रतिपक्षी एमालेसँग लोसपाका नेताहरुको छलफल भएको थियो। 

त्यही छलफलपछि एमाले संसदीय दलका उप–नेता सुवास चन्द्र नेम्वाङले लोसपाले उम्मेदवार उठाएको खण्डमा आफूहरुले सहयोग गर्ने बताएका थिए। लोसपाबाट चन्दा चौधरीको नाम आएको पनि नेम्वाङले खुलाएका थिए। 

तर, लोसपाले मनोनयन दर्ता गराएन। 

उपसभामुखको निर्वाचनमा लोसपाले भोट हाल्ने टुंगो शुक्रबार नै तय हुने लोसपाका नेताहरु बताउँछन्। तर, गठबन्धन र एमालेका तर्फबाट कसैले पनि मतदानका लागि आग्रह नगरेको लोसपा नेता केशव झा ले बताए। 

‘अहिलेसम्म कसैले पनि भोट हाल्नुपर्छ भनेर अनुरोध गर्नुभएको छैन्,’ झाले नेपालखबरसँग भने, ‘भोलि बिहान ११ बजे यही विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको छ।’

त्यही बैठकबाट मतदान कहाँ गर्ने भन्नेबारे टुंगो लाग्ने उनले बताए।  

जसपाका ४ सांसदको भोट?
जनता समाजवादी पार्टी यतिबेला औपचारिक फुटतर्फ गएको छ। उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षले समानान्तर गतिविधि गरेका छन्। यस्तो बेलामा केही सांसदहरुको भूमिका महत्वपूर्ण हुने देखिन्छ। 

जसमा बाबुराम भट्टराई, महिन्द्र राय यादव, राजकिशोर यादव र रेणु यादव छन्। राजकिशोर अहिलेसम्म कतै खुलेका छैनन्। 

रेणुले बिहीबार मात्रै उपेन्द्र यादवको साथ छाड्दै पार्टी नै परित्याग गरेकी छिन। उता, डा. भट्टराईले जसपा पुनर्गठन  निर्णय गराइसकेका छन। पूर्वमन्त्री महिन्द्र डा. बाबुरामकै भेलामा सहभागी थिए।

उनीहरुको मत कता जान्छ भन्न सकिँदैन। यादव र भट्टराई पक्षबीचको विवादका कारण शुक्रबार हुने उपसभामुखको निर्वाचनमा जसपाका केही सांसदहरुले क्याम्प फेर्न सम्भावना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .