राजनीति


एमालेले सार्वजनिक गर्यो महाप्रसाद अधिकारी पार्टीमा संलग्न नभएका दुई पत्र

एमालेले सार्वजनिक गर्यो महाप्रसाद अधिकारी पार्टीमा संलग्न नभएका दुई पत्र

नेपालखबर
असार ३०, २०७९ बिहिबार १३:५६, काठमाडौँ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भूमिगत नामसहित नेकपा एमालेमा क्रियाशील रहेको चर्चा भइरहेका बेला बिहीबार दुईवटा पत्र सार्वजनिक भएका छन्।

स्थायी कमिटी सदस्य घनश्याम भुसाल प्रमुख रहेको अर्थ तथा योजना विभागमा खोटाङ निवासी एम अधिकारी पनि सदस्य रहेको विवरण सार्वजनिक भएपछि ती व्यक्ति गभर्नर अधिकारी नै रहेको ठहरसहित तीव्र आलोचना भएको थियो।

अर्थमन्त्रालयबाट राजीनामा दिन बाध्य जनार्दन शर्मासँग सुरुमा विवादमा जोडिएका अधिकारी भूमिगत नामसहित एमालेको अर्थ विभाग सदस्य हरेको भन्दै माओवादी केन्द्रले उनको राजीनामा नै मागेको थियो।

महाप्रसादविरुद्ध सदनदेखि सडकसम्म माओवादी कार्यकर्ता हरुको स्वर चर्को भइरहेका बेला एमालेले बिहीबार दुईवटा पत्र सार्वजनिक गरेको छ। 

भुसाल नेतृत्वको अर्थ तथा योजना विभागमा रहेका एम अधिकारी को हुन् भन्ने उत्तर नदिइ एमालेले गभर्नरलाई भने जोगाउने प्रयास गरिरहेको छ।

यस्तोमा एमाले केन्द्रीय कार्यालय च्यासलबाट बिहीबार दुईवटा पत्र सार्वजनिक भएका छन्। जसमध्ये पहिलोमा महाप्रसादले सिमपानी-१ खोटाङको ठेगाना उल्लेख गरे २०७३ जेठ २५ गते नै आफूलाई अर्थ तथा योजना विभागको सदस्यका रुपमा मनोनित गरिएकोप्रति ध्यानाकर्षण गर्दै आफू कुनै दलमा नरहेको उल्लेख गरेका छन्। 

'मलाई एमालेको अर्थ तथा योजना विभागमा राखिएकोबारे औपचारिक जानकारी आएको छैन। त्यहाँ राखिएको नाम मेरो नभई अन्य कुनै व्यक्तिको हुन सक्छ', उनले भनेका छन्, 'कथम् कदाचित उक्त नाम मसँग सम्बन्धित रहेको भए म कुनै पनि राजनीतिक दलको सदस्य नरहेको र हाल त्यस्तो सदस्यता लिने मनसाय समेत नरहेकाले उक्त नाम हटाइदिन हार्दिक अनुरोध गर्दछु।'

महाप्रसादको उक्त ध्यानाकर्षण पत्रपछि एमालेका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले १० असार २०७३ मा त्यसको जवाफ दिएका छन्।

'तपाईंले आफू पार्टी केन्द्रीय अर्थ तथा योजना विभागको सदस्य नरहेको भनि दिएको पत्रका आधारमा पार्टीको केन्द्रीय अर्थ तथा योजना विभागका सदस्यहरुको नाम रुजु गर्दा उक्त नाम भूलवश पर्न गएको र सो नाम अन्तिम नामावलीमा नरहेको हुँदा तपाईंको यस विभागसँग कुनै सम्बन्ध नरहेको व्यहोरा अवगत गराउँदछु,' श्रेष्ठले अधिकारीलाई लेखेको पत्रमा भनिएको छ। 

एमालेले हालै घनश्याम भुसालको संयोजकत्वमा गठन गरेको अर्थ योजना विभागका एकजना सदस्यको वास्तविक नाम लुकाएर भूमिगत कालमा जस्तै ‘टेक नेम’ प्रयोग गरिएको भेटिएपछि विवाद भएको थियो। 

एमालेको यसै साता बसेको बैठकले विभिन्न विभागहरु गठन गरेको थियो। त्यसमध्ये भुसालको संयोजकत्वमा गठित अर्थ तथा योजना विभागको एकजना सदस्यमा ‘एम. अधिकारी खोटाङ’ लेखिएको थियो।

एम. अधिकारी अरु कोही नभएर राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै रहेको धेरैको दाबी थियो। गर्भनर अधिकारी खोटाङको सिमपानीका हुन्। उनी विगतमा पनि एमालेको विभिन्न जिम्मेवारीमा रहँदै आएको एमाले नेताहरुले बताउँदै आएका थिए। 

यसअघि गभर्नर अधिकारी एमालेको विभागीय सदस्यमा नियुक्त भएकोमा खोटाङ नै घर भएका अर्थ राजनीतिक विश्लेषक हरि रोकाले सामाजिक सञ्जालमा बधाई दिएका थिए। 

यसअघि निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले गर्भनर अधिकारीबाट सरकारलाई असहयोग भइरहेको आरोप लगाएका थिए। गर्भनर अधिकारीले केपी ओलीको कुरा सुन्ने र एमालेबाट परिचालित हुने गरेको शर्माले आरोप लगाएका थिए।

यसअघि गर्भनर अधिकारीले आफू एम. अधिकारी होइन भनेर स्पष्टीकरण दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad