ad ad

राजनीति


उपसभामुखमा भुसाल र भट्टराई प्रतिस्पर्धी, यस्तो छ दुवैको राजनीतिक यात्रा

उपसभामुखमा भुसाल र भट्टराई प्रतिस्पर्धी, यस्तो छ दुवैको राजनीतिक यात्रा

रुपक चौलागाईं
असार ३०, २०७९ बिहिबार १३:२५, काठमाडौँ

संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदका लागि शुक्रबार हुने निर्वाचनमा कांग्रेस सांसद पुष्पा भुसाल (गौतम) र विद्या भट्टराईबीच प्रतिस्पर्धा हुने भएको छ। 

उपसभामुखका चुनाव शुक्रबार दिउँसो ३ बजे हुँदैछ।

उपसभामुख पदका लागि सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका तर्फबाट विद्या भट्टराईले मनोनयन दर्ता गराएकी छन्। 

संसद सचिवालयले तोकेको मनोनयन दर्ताको समय सकिएको छ। बिहीबार दिउँसो ११ बजेदेखि १ बजेसम्मका लागि मनोनयनका लागि संसद सचिवालयले समय तोकेको थियो। 

उक्त समयमा दुई जनाको मात्रै उम्मेदवारी परेको संसद सचिवालयले जानकारी दिएको छ।

उपसभामुखमा उठेकी भुसालको प्रस्तावकमा माओवादी सांसद देव गुरुङ र समर्थकमा एकीकृत समाजवादीकी लक्ष्मी चौधरी छिन्। 

त्यस्तै भट्टराईको प्रस्तावकमा सांसद शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन्। एमालेले गठबन्धनविरुद्ध एक्लै प्रतिस्पर्धाको निर्णय लिएको हो। 

एमालेले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीलाई सघाउने भनिए पनि उक्त दलले कुनै सांसदलाई उम्मेदवारका रुपमा अघि सारेन।

०७६ सालदेखि उपसभामुख पद खाली छ। बुधबार आयोजित प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख चयनका लागि मिति घोषणा गरेका थिए।

को हुन भुसाल? 
उपसभामुखमा उठ्न लागेकी कांग्रेसकी समानुपातिक सांसद भुसाल अर्घाखाँचीकी हुन्। 

संवैधानिक परिषद् बैठक अघि बढाउन नसकेको भन्दै उपसभामुख चयन गर्नुपर्ने निचोडमा रहेको कांग्रेसले भुसाललाई अघि सारेको हो।

भुसाल २०७० मा अर्घाखाँची  क्षेत्र नं। २ बाट निर्वाचित भएकी थिइन्। २०५६ को संसदीय निर्वाचनमा समेत त्यही क्षेत्रबाट उठेकी थिइन्। 

उनले त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पनि गरेकी छन्। उनी वकालत पेशामा पनि संलग्न थिइन्। ​

उनले कानुनमा स्नातक र राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी छन्। भुसाल नेपाल बार एसोसिएसनमा केन्द्रीय सदस्य भइसकेकी छन्। 

भुसाल २०१५ सालमा बीपी कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्य मन्त्री रहेका बुवा काशीनाथ गौतम २०१७ सालमा सपरिवार भारत निर्वासित हुँदा पुष्पा पनि सँगै थिइन्। उनले १४ वर्ष भारतमा बिताइन्। 

उनी २०२८ सालदेखि सक्रिय राजनीतिमा लागेकी हुन्। 

२०७६ सालदेखि खाली उपसभामुख पदका लागि शुक्रबार निर्वाचन हुने भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख चयनका लागि निर्वाचन मिति घोषणासँगै कार्यतालिका सार्वजनिक गरिसकेका छन्।

को हुन विद्या भट्टराई?
विद्या एमालेकी दिवंगत नेता रविन्द्र अधिकारीकी पत्नी हुन्।

तत्कालीन एमालेको विद्यार्थी आन्दोलनमा सक्रिय विद्या अखिलको सचिवसम्म बनेकी थिइन्। 

रवीन्द्र अधिकारीसँग विवाह गरेपछि भने विद्या अखिल नेपाल महिला संघ हुँदै सक्रिय राजनीतिबाट टाढिएकी थिइन्। 

रवीन्द्र र विद्या अनेरास्ववियुको कार्यकर्ताका रूपमा करिब तीन दशकअघि भेटिएका थिए।

संगठनमा रवीन्द्र सिनियर थिए। दुवैले लामो समय अनेरास्ववियुको केन्द्रीय कमिटीमा काम गरे।

पछिल्लो समय उनी आरआर क्याम्पस काठमाडौंकी उपप्राध्यापक पदमा कार्यरत थिइन्।

रवीन्द्रको निधनपछि शीर्ष नेताहरुकै आग्रहमा उनी कास्की–२ बाट उपनिर्वाचनमार्फत निर्वाचित भएकी हुन्। 

कास्की जिल्ला कमिटीले सर्वसम्मत रुपमा उम्मेदवारका लागि विद्याको नाम सिफरिस गरेको थियो।

अधिकारी तत्कालीन एमालेको भ्रातृसंगठन अनेरास्ववियुको महासचिव हुँदा विद्या सचिव थिइन्। 

रवीन्द्रको राजनीतिक राजमार्ग फराकिलो बनाउन जीवन संगिनी विद्या भट्टराई दुई दशकअघि नै सक्रिय राजनीतिबाट टाढिएकी थिइन्।

०४९ सालको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुबाट पद्मकन्याको स्ववियु सभापतिकी प्रत्यासी थिइन्।

शंकर पोखरेल अनेरास्ववियुको अध्यक्ष हुँदा केन्द्रीय कमिटीमा पुगेकी विद्या योगेश भट्टराई अध्यक्ष र रवीन्द्र अधिकारी कोषाध्यक्ष हुँदा महिला विभाग प्रमुख थिइन्। 

०५५ सालमा बिहे भएपछि रवीन्द्रलाई सजिलो होस् भनेर विद्या राजनीतिबाट क्रमशः निष्क्रिय भइन्। 

अनेरास्ववियुको केन्द्रीय सचिवबाट बिदा भएपछि विद्याले घरव्यवहार धान्दै दुई छोरा विराज र स्वराजलाई हुर्काउने र आफ्नो प्राज्ञिक योग्यता बढाउनेमा ध्यान दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .