नेपाली कांग्रेसको केन्द्रीय सदस्य भीम पराजुलीले नेपाललाई हिन्दू राष्ट्र कायम गरि संघीयता खारेज गर्नुपर्ने माग जारी केन्द्रीय कार्य समिति बैठकमा पुर्याएका छन्।
विराटनगर महानगरपालिकाका पूर्व मेयर पराजुलीले सानेपामा जारी बैठकमा लिखित धारणा राख्दै कांग्रेसले धर्मनिरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता कायम राख्नु पर्ने माग गरे।
कांग्रेसले हिन्दू धर्मलाई मुख्य एजेण्डा बनाउनुपर्ने माग पनि पराजुलीले बैठकमा गरेका छन्।
पराजुलीले बैठकमा लिखित पत्र नै प्रस्तुत गरेका छन्। यो एजेन्डाले कांग्रेसलाई नै हित गर्ने भन्दै उनले यसका लागि कांग्रेस नै नेतृत्व तयार भएर अघि बढ्नुपर्ने बताएका छन्।
'देशमा धार्मिक बहसका कुरा पनि उठिरहेका छन्। धर्मान्तरणका कुरा पनि त्यतिकै आएका छन्। यी सबै कुरालाई रोक्न वैदिक सनातन धर्मको मूल्य मान्यताअनुसार हिन्दु धर्मलाई मुख्य एजेन्डा बनाइ कांग्रेसले जानुपर्छ', उनले भनेका छन्, 'धर्मनिरपेक्षता हटाई धार्मिक स्वतन्त्रता कायम गर्न केन्द्रीय कार्यसमितिमा प्रस्तावको रूपमा राख्न चाहन्छु। यसले कांग्रेसलाई सम्पूर्ण रूपमा हित गर्ने छ। यस एजेन्डालाई नेपाली कांग्रेसले नै नेतृत्व लेओस् भन्ने मेरो आग्रह छ।'
मंगलवारको बैठकमा पराजुलीसहित प्रकाश स्नेहीले हिन्दू राज्यको एजेण्डा बोकेर कांग्रेस जानुपर्ने बताएका हुन्।
पराजुलीले अहिलेकै अवस्थाको संघीयताको कुनै काम नरहेको बताउँदै प्रदेश संरचनाहरु खारेज गर्नुपर्ने बताएका छन्।
'यस्तै अवस्थामा प्रदेश सरकार चलिरहे देशमा यो भन्दा ठूलो बेथिति र जनतामा वितृष्णा, नैरश्यता बढ्दै गई चरम आर्थिक संकट निम्तिने खतरा बढ्ने देखिन्छ', उनले लिखित पत्र पेश गर्दै भनेका छन्, 'प्रदेश सरकार कि बलियो बनाऊ, नभए हटाऊ।'

Shares

प्रतिक्रिया