प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसद सार्वजनिक लेखा समितिको बैठक बहिष्कार गरेको छ।
लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षी दलले पाउने परम्पराअनुसार आफूहरुले नेतृत्व नपाएको भन्दै एमालेले बैठक बहिष्कार गरेर सिंहदरबारबाट बाहिरिएको हो।
लेखा समितिको बैठकमा सहभागी हुन एमालेका सांसदहरु विशाल भट्टराई, गोकुल बाँस्कोटा, राजेन्द्र गौतम, शिवमाया तुम्बाहाम्फे, सूर्य पाठक, मैया भण्डारी र रघुवीर महासेठ लगायत सिंहदरबार पुगेका थिए।
तर, कांग्रेसले सरकार बनेको १ वर्षसम्म पनि लेखा समिति नछाडेको भन्दै असन्तुष्टि राखेर उनीहरु बैठकबाट निस्किएका हुन्।
‘हामीले प्रमुख प्रतिपक्षी दललाई सभापति दिनुपर्ने भनेर १ वर्षदेखि भन्दै आएका थियौँ, यो प्रावधान पनि हो,’ भट्टराईले नेपालखबरसँग भने, ‘सरकारले खर्च लेख्ने अनि उसैले परीक्षण गर्ने यो अलोकतान्त्रिक विधि भयो भन्दै आएको आज ठ्याक्कै १ वर्ष भयो। त्यही भएर बैठक छाडेका हौं।’
लेखा समितिको बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइएको थियो। तर बैठक केहीबेर ढिलागरी सुरु भएको थियो।
Shares
प्रतिक्रिया