राजनीति


कांग्रेस बैठकमा डिला संग्रौलाको माग : अब पार्टीको नीति अधिवेशन गरौँ (पूर्ण पाठ)

कांग्रेस बैठकमा डिला संग्रौलाको माग : अब पार्टीको नीति अधिवेशन गरौँ (पूर्ण पाठ)

नेपालखबर
असार २७, २०७९ सोमबार १९:१७, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले छिटै नीति अधिवेशनको आवश्यकता औंल्याएकी छन्। 

पार्टी कार्यालय सानेपामा सोमबारबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा उनले नीति अधिवेशनको आवश्यकता औंल्याएकी हुन्। 

‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सम्पन्न भएको ६ महिना काटिसकेको छ। विषेश परिस्थितिमा सम्पन्न भएको यो अधिवेशनले नेतृत्वको मात्र चयन गरियो, नीति निर्माण गर्न सकेन,’ नेतृ संग्रौलाले भनिन्, ‘जसको नेतृत्व त्यसैको नीति भनेर सम्पन्न अधिवेशनले अब छिटै नै नीति अधिवेशन गर्नु पर्ने जरुरी छ। विधिको ब्याडमा नीतिको बिरुवा उमार्नु पर्दछ। नीति समय देशकाल र परिस्थिति अनुरुप हुनु पर्दछ।’

उनले आसन्न प्रादेशिक र संघीय निर्वाचनका लागि चुनावी रणनीति निर्माण गर्नुपर्ने पनि नेतृत्वलाई सुझाइन्। 

‘चुनाव जित्न रणनीति र कार्यनीति दुवैको आवश्यकता पर्दछ। आगामी चुनावमा गठबन्धन सहित गए बढी सिट हासिल गर्ने रणनीति होला तर सिटको बाँडफाँट र पार्टीबाट चुनिने योग्य सक्षम लोकप्रियलाई टिकट दिन मापदण्ड र मूल्यांकन पद्धति अपनाउन आवश्यक छ,’ संग्रौलाले बैठकमा भनिन्, ‘त्यसैले रणनीति वाह्य र आन्तरिक दुबै हुनु पर्दछ। तबमात्र परिणाम हात लाग्दछ।’

पार्टी सञ्चालनमा पार्टी सभापतिसँगै पदाधिकारीहरूको भूमिका महत्वपूर्ण रहने भन्दै उनले पदाधिकारीमा अधिकांश युवा पुस्ताका नेता भए पनि पार्टी सञ्चालनमा रुपान्तरण नभएको टिप्पणी पनि गरिन्। 

‘अहिलेको नेतृत्व हेर्दा पार्टी सभापतिमा परिपक्व नेतृत्व देखिन्छ भने पदाधिकारीमा अधिकांश युवा पिँढी आएका छन्,’ संग्रौलाले बैठकमा भनिन्, ‘तर, पार्टी सञ्चालनमा नयाँ वा रुपान्तरण भएको देखिदैन। सरकार पनि जनताप्रति उत्तरदायी र जिम्मेवार बन्नु नै पर्दछ।’ 

उनले जागरण अभियानलाई पार्टी संगठनभित्र नेता, कार्यकर्ता र जनतालाई जोड्ने महत्वपूर्ण कडीका रुपमा चित्रित गरिन्। अभियानका माध्यमबाट वैचारिक, सांगठनिक, सुदृढीकरण र परिचालनमा नयाँपन आउने उनको संग्रौलाको भनाइ थियो।

‘स्थानीय निर्वाचनमा सञ्चालन गरिएको घरघर जाऔँ कांग्रेस जिताऔँ अभियानले पहिलो पार्टी बन्न परिणाम दियो,’ उनले भनिन्, ‘आगामी निर्वाचनभन्दा अगाडी प्रदेश र संघको सरकार समृद्धि आधारसहित जनताको घर आँगनमा जागरण अभियान सञ्चालन गरिनु पर्दछ।’ 

सम्माननीय सभापति एवम् प्रधानमन्त्री ज्यू
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति
बीपी स्मृति भवन बीपी नगर ललितपुर

नेपाली कांग्रेस केन्द्रीय समितिको यो चौथो बैठक स्थानीय निर्वाचनबारे समीक्षा एवम् अन्य विविध विषय वस्तुबारे समेत विचार विमर्श गर्ने हुँदा यो बैठक आफैँमा अत्यन्त महत्वपूर्ण छ। 

१४ औं महाधिवेशन लगत्तै भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी भएको छ। यसमा आदरणीय पार्टी सभापति लगायत सिंगो केन्द्रीय समिति नै धन्यवादको पात्र बनेको छ। 

अब करिब ४ महिना पछि हुने प्रदेश र संघको निर्वाचनमा समेत कांग्रेस ठूलो दल सहित सरकारको नेतृत्वमा पुग्नु पर्ने कुरामा दुई मत छैन।

देशको राजनीतिमा विभिन्न भूमिका कहिले प्रतिपक्ष त कहिले सत्तापक्ष सहित संयुक्त सरकारको नेतृत्वमा सरकार संचालनको जिम्मेवारीमा रहेकाले सत्तारुढ दलको यो बैठकले सबैको ध्यान केन्द्रित गरेको छ। 

करिब सात दशक लामो यात्रा पार गरिसकेको लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस आफ्नो स्थापनाकाल २००३ साल देखि २०७९ साल सम्म आइपुग्दा तत्कालीन र दीर्घकालीन कार्य समितिको आधारमा बिजय र पराजय भएको इतिहास साक्षी छ। 

नेपाली जनताले आशा भरोसा गरेको सधैं जनताको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, मुलुकको स्वाधिनताका लागि संघर्ष गर्ने नेपाली कांग्रेस आजको अवस्थामा अझ बढी क्रियाशिल , संगठित भई एकताबद्ध हुन जरुरी छ। 

आधुनिक नेपालको परिर्वतनको मुल संवाहक शक्ति कांग्रेसले अहिलेको परिस्थितिमा आफ्ना नीति अवधारणा समय सापेक्ष रुपान्तरण गरी (समुन्नत नेपाल सम्पन्न नागरिक) को लक्ष्य प्राप्तिका लागि राष्ट्रको आर्थिक पक्षका साथै राजनैतिक र सामाजिक पक्ष पनि सबल हुन आवश्यक छ। 

परिणाममुखी नीति कार्यक्रम तथा योजनाको निर्माण सफल कार्यान्वयन कानूनी शासन, आर्थिक अनुशासन तथा सुशासन समग्र विकासका आधार स्तम्भ हुन्।

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पछि बनेको अघिल्लो सरकारमा नेपाली जनताले आफ्नो भविष्यप्रति विश्वस्त हुन सकेनन्। 

अब हुने निर्वाचन पछि बन्ने सरकार कांग्रेसको हुने र जनतालाई विश्वस्त पार्दै सांगठनिक, राजनैतिक, आर्थिक, सामाजिक पक्षमा समेत आमुल परिर्वतन गरि योग्य मान्छेलाई योग्य ठाउँका अवधारणा अनुरुप उम्मेदवार चयनमा ध्यान दिन जरुरी छ। 

नत्र अहिलेको स्थानीय निर्वाचनमा उदाएका स्वतन्त्र उम्मेदवारको बिजय र फेरी सलबलाई रहेको आगोको राग र तापको झिल्काले कांग्रेसलाई नछुला भन्न सकिन्न। त्यसैले यो बैठकमा निम्न बुँदामा आफ्नो धारणा राख्न चाहन्छु :

१. स्थानीय तहको निर्वाचन सम्बन्धी विवेचना : नेपाली कांग्रेस स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दल बिचको चुनावी तालमेलका कारण धेरै सिट जित्न सफल भएको छ। अहिलेको निर्वाचनको परिणामलाई हेर्दा केन्द्रीय निर्वाचन परिचालन समितिको प्रतिवेदन अनुसार गठबन्धनबिना उम्मेदवारी दिएकोमा ४८ प्रतिशत जीत निकालेको छ भने गठबन्धन गरेर उम्मेदवारी दिएकोमा ५२ प्रतिशत जीत निकाल्न सफल भएको छ।

कांग्रेस एक्लै निर्वाचनमा जाँदा पनि कमजोर नभएको तर गठबन्धन गरेर जाँदा बढी सफलता मिलेको दावी गरेको छ। टिकट वितरण गर्ने विधानतः विभिन्न निकायले आवश्यक मापदण्ड र मूल्यांकन पद्धतिअनुरुप टिकट वितरण गर्न नसक्दा अघिल्लो पटक जितेका १२६ पालिकामा यस पल्ट जीत निकाल्न सकिएन। 

यो मेरो र तेरो भन्ने भावनाले ग्रसित नभई उम्मेदवारको सहि टिकट वितरण गरिएको भए नेपाली कांग्रेसले सोचेभन्दा बढि सफलता प्राप्त हुने थियो। राजनीति दलहरूको गठबन्धन र निर्वाचन आयोगको निर्देशन समेतका कारण स्थानीय तहमा महिला नेतृत्व खुम्चियो। 

देशैभरि ७५३ स्थानीय तह मध्ये यस पटक २५ पालिकाको नेतृत्व गर्ने अवसर महिलाले पाएका छन्। संवैधानिक प्रावधान अनुसार राजनीतिक दलहरुले पालिका प्रमुख-अध्यक्ष-उपप्रमुख-उपाध्यक्षमध्ये एक महिला उम्मेदवार बनाउनु पर्नेमा गठबन्धन गरिएका पालिकामा भने प्रमुख वा उपप्रमुख मध्ये एउटा पदमा मात्र उम्मेदवारी दिँदा पुरुषलाई अघि सारेका कारण यसपालि नेपाली कांग्रेसबाट महिला प्रमुखको संख्या घट्न पुग्यो। २५ प्रमुख महिला मध्ये ८ जना नेपाली कांग्रेसबाट निर्वाचित भएका छन्। यो निराशाजनक परिणाम हो। अब आउँने निर्वाचनमा प्रत्यक्षमा महिलालाई बढी उम्मेदवारी दिइनु पर्दछ। 

२. भातृ तथा शुभेच्छुक संस्थाको पूर्णता : भातृ तथा शुभेच्छुक संस्था नेपाली कांग्रेसको मेरुदण्ड र संगठनको आधारशिला हो। यीनीहरुको क्रियाशीलता, सक्रियताबिना पार्टी बलियो हुन सक्दैन। भातृ संस्थाको अधिवेशन समयमै हुन नसक्दा तदर्थ समिति गठन गरिएको छ। त्यो समितिलाई छिटै पूर्णता दिई संगठनको विस्तार, परिचालन र सुदृढीकरण गरिनु पर्दछ।

३. विभागको गठन : कांग्रेसको विधानमा ६ महिनाभित्र केन्द्रीय विभाग सहितका संरचनाहरूलाई पूर्णता दिनु पर्ने व्यवस्था छ। विभाग गठनले पार्टीको संगठनमा नयाँ उर्जा र गतिशीलता प्रदान गर्न महत्वपूर्ण भूमिका रहन्छ। यसलाई छिटो भन्दा छिटो पूर्णता दिनु जरुरी छ। 

४. नीति तथा विधान अधिवेशन : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सम्पन्न भएको ६ महिना काटिसकेको छ। विषेश परिस्थितीमा सम्पन्न भएको यो अधिवेशनले नेतृत्वको मात्र चयन गरियो, नीति निर्माण गर्न सकेन। जसको नेतृत्व त्यसैको नीति भनेर सम्पन्न अधिवेशनले अब छिटै नै नीति अधिवेशन गर्नु पर्ने जरुरी छ। विधिको ब्याडमा नीतिको बिरुवा उमार्नु पर्दछ। नीति समय देशकाल र परिस्थिती अनुरुप हुनु पर्दछ। 

५. आगामी चुनावी रणनीति: चुनाव जित्न रणनीति र कार्यनीति दुवैको आवश्यकता पर्दछ। आगामी चुनावमा गठबन्धन सहित गए बढी सिट हासिल गर्ने रणनीति होला तर सिटको बाँडफाँड र पार्टीबाट चुनिने उम्मेदवार योग्य सक्षम लोकप्रियलाई टिकट दिन मापदण्ड र मुल्यांकन पद्धति अपनाउन आवश्यक छ। त्यसैले रणनीति वाह्य र आन्तरिक दुवै हुनु पर्दछ। तब मात्र परिणाम हात लाग्दछ।

६. पार्टी र सरकार संचालनको अवस्था: पार्टी संचालनमा पार्टीका सभापतिको साथै पदाधिकारीहरूको भूमिका पनि महत्वपूर्ण रहन्छ। अहिलेको नेतृत्व हेर्दा पार्टी सभापतिमा परिपक्व नेतृत्व देखिन्छ भने पदाधिकारीमा अधिकांश युवा पिढी आएका छन्। तर, पार्टी संचालनमा नयाँ वा रुपान्तरण भएको देखिदैन। सरकार पनि जनताप्रति उत्तरदायी र जिम्मेवार बन्नु नै पर्दछ। 

७. राष्ट्रिय राजनीतिमा कांग्रेस: नेपालको राष्ट्रिय राजनीतिमा कांग्रेस सफल भएको छ। किनकी ५ बर्षको लागि प्रतिपक्षको जिम्मेवारी पाएको कांग्रेस आज सरकारको नेतृत्वमा छ। कांग्रेसकै नेतृत्वमा स्थानीय निर्वाचन सम्पन्न भई बाँकी निर्वाचन पनि हुँदैछन्। राष्ट्रिय मुद्दाहरूमा एमसिसीको अनुमोदनले मुलुकलाई सम्बृद्धि तर्फ लैजाने नयाँ आयाम थपेको छ यस एसपीपी जस्ता स्टेट पार्टनरसिपको सवालमा सरकारको स्पष्ट दृष्टिकोण र अडानले परराष्ट्र नीतिमा अब्बल सावित भएको छ। तर, कोरोनाले थलिएको अर्थतन्त्र रुस र युक्रेनको युद्धका कारण भित्रिएको आर्थिक संकटले जनजीवन असहज र भयावह बन्दैछ। महँगी र मूल्यवृद्धिले जनता आक्रान्त छन् त्यस तर्फ ध्यान दिन जरुरी छ। 

८.जागरण अभियान:जागरण अभियान पार्टी संगठन भित्र नेता, कार्यकर्ता र जनतालाई जोड्ने महत्वपूर्ण कडी हो। जसको माध्यमबाट वैचारिक, सांगठनिक, सुदृढीकरण र परिचालनमा नयाँपन आउने गर्दछ। स्थानीय निर्वाचनमा संचालन गरिएको “घर घर जाऔं कांग्रेस जिताऔँ” अभियानले पहिलो पार्टी बन्न परिणाम दियो। आगामी निर्वाचनभन्दा अगाडी “प्रदेश र संघको सरकार सम्बृद्धि आधार” सहित जनताको घर आँगनमा जागरण अभियान संचालन गरिनु पर्दछ। जय नेपाल।


डा. डिला संग्रौला (पन्त)
नेपाली कांग्रेस, केन्द्रीय सदस्य

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad