नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवाको कार्यशैलीविरुद्ध केन्द्रीय कार्यालय, सानेपामा प्रदर्शन गरेका छन्।
भातृ तथा शुभेच्छुक संस्थाको नेतृत्व र कार्यसमितिलाई पूर्णता दिन माग गर्दै दिउँसो १ बजे कोइराला पक्षधर नेताहरुले केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गर्ने भएका हुन्।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चलिरहँदा कोइराला पक्षधर तरुण र विद्यार्थी नेताहरुले प्रदर्शन गरेका हुन्।
बिहान साढे ११ बजेबाट साढे १ बजेसम्म प्रदर्शन गरिएको नेविसंघ नेता निरञ्जन थापाले नेपालखबरलाई बताएका छन्।
‘भातृ संस्थाको तत्काल वैधानिक पूर्णता हाम्रो सरोकार, नेपाली कांग्रेसभित्र समान र न्यायपूर्ण प्रतिनिधित्व हाम्रो अधिकार,’ भन्ने मागसहित प्रदर्शन गरिएको हो।
नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघलगायतका प्रतिनिधिहरुले प्रदर्शनमा भाग लिएका छन्।
सभापति देउवाले आफूनिकटलाई मात्रै भातृ संस्थाको नेतृत्वमा लगेको, कोइराला पक्षधरलाई ‘बाइपास’ गरेको, गठित कार्यसमितिलाई पूर्णता नदिएको, १० फागुनमा भंग गरेका भातृ संस्थामा नेतृत्व नछानेको भन्दै प्रदर्शन गरिएको हो।






Shares

प्रतिक्रिया