ad ad

राजनीति


सुदूरपश्चिममा बजेट: सत्तारुढकै सांसद भन्छन् - 'सेटिङ्गमा आएको बजेट पास हुँदैन'

सुदूरपश्चिममा बजेट:  सत्तारुढकै सांसद भन्छन् - 'सेटिङ्गमा आएको बजेट पास हुँदैन'

गोकुल जोशी
असार २७, २०७९ सोमबार ११:४१, कञ्चनपुर

सुदूरपश्चिम सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटले  सत्तारुढ दलमा आन्तरिक कलह चर्किएको छ। 

सत्ता नेतृत्वकर्ता नेकपा माओवादी केन्द्र र सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सांसदहरु बजेटको पक्ष र विपक्षमा उभिएका छन्।

बजेटमा विधि र प्रक्रिया विपरीत मनपरी ढंगले योजना समावेश गरिएको भन्दै सत्तारुढ दलका केही सांसददेखि मन्त्रीले बजेट शंसोधनको अडान राखेका छन्। 

सत्तापक्षको एक कित्ता भने यथास्थितिमै बजेट पास गर्ने रणनीतिमा छ। यहीँ विषयमा सहमति नजुट्दा बजेट संसदमा प्रस्तुत भएको एक महिना बित्नै लाग्दा समेत बजेटमाथि छलफल अगाडि बढ्न सकेको छैन।

सोमबार बिहान बसेको प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्ता नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रका सांसद अक्कल बहादुर रावल कडा रुपमा प्रस्तुत भएका छन्। 

उनले सेटिङमा आएको बजेट संसदबाट पास हुन नसक्ने चेतावनी दिएका छन्। ‘बजेट सेटिङमा आएको छ, योजनाहरु काटेर एकलौटी योजना समावेश गरिएको छ, यो बजेट पास हुदैन,’ सांसद रावलले बैठकमा राखेको भनाइ उदृत गर्दै एक सांसदले भने, ‘दलमा सल्लाह नै भएको छैन, बजेटमा सेटिङ भएको प्रमाण चाहिन्छ भने पनि देखाउन तयार छौँ।’

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले सांसदहरुलाई बजेटको पक्षमा उभिन निर्देशन दिँदै बजेट पास गर्ने निर्णय गरेको थियो । तर माओवादीकै केही सांसद बजेटको विपक्षमा उभिएका छन।

सरकारले संसोधन विना बजेट पास गर्न नसक्ने माओवादी सांसद रावलको भनाई थियो। संसोधन विना पेलेर बजेट पास गरे आफूहरु प्रतिकारमा उत्रिने उनले चेतावनी दिए। 

‘गुन्डा शैलीमा बजेट पास गर्न खोज्ने? दलमा सल्लाह नै छैन, कसरी पास गर्ने हो बजेट?’ उनले भने।

बैठकमा सहभागी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीले बजेटका बारेमा उत्पन्न समस्याको निकास खोज्न २÷३ घण्टा समय माग गरेका छन्। 

सोमबार बिहान ८ बजेदेखि सुरु भएको प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति जुट्न सकेको छैन। त्यसले गर्दा बिहान ११ बजेका लागि बजेटमाथि छलफल गर्न बोलाइएको संसद बैठक दिउँसो ३ बजेका लागि सारिएको छ।

सरकारले यथास्थितिमा बजेट पास गर्न खोजेमा बैठक चल्न नसक्ने सांसदहरुको चेतावनी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .