नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रियसभामा पेस भएको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुने बताएका छन्।
नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर २ प्रदेश सभा (क) ले सोमबार आयोजना गरेको क्रियाशील सदस्यको भेला तथा जनप्रतिनिधिलाई सम्मान कार्यक्रम सम्बोधन गर्दै उनले विधेयक फिर्ता हुने बताएका हुन्।
महामन्त्री थापाले पदाधिकारीहरुले सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर विधेयक फिर्ता लिन सल्लाह दिएको जानकारी दिए। पार्टीका पदाधिकारीको सुझावलाई देउवाले गम्भीरतापूर्वक लिएको भन्दै उनले भने, ‘आज भोलिमा त्यो विधेयक फिर्ता होला।’
पूर्ववर्ती सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक ल्याउँदा तत्कालीन समयमा प्रमुख प्रतिपक्ष कांग्रेसले विरोध गरेको स्मरण गर्दै थापाले हिजो गलत भनिएको कुरा आज पनि गलत नै भएको जिकिर गरे।
‘राष्ट्रियसभामा संवैधानिक परिषद्सम्बन्धी विधेयक पेस भएको छ। यसमा हामी प्रष्ट छौँ, गल्ती गर्ने छुट नेपाली कांग्रेसलाई छैन,’ थापाले भने, ‘हिजो यस्तै विधेयक ल्याउँदा गलत भन्यौँ, मान्दैनौँ भन्यो। विधेयक ल्याएको भन्दै हाम्रो सभापति बैठकमा भाग लिन जानु भएन। हिजो गलत भनेका थियौँ, आज पनि गलत हो।’
प्रधानमन्त्री देउवाले गत बुधबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रियसभामा पेश गरेका थिए।
विधेयकमा ऐनको दफा ६ को उपदफा ३ मा अध्यक्ष र तत्काल बहाल रहेका कम्तीमा ५० प्रतिशत सदस्य उपस्थित भएमा परिषदको बैठकको लागि गणपूरक संख्या पुगेको मानिने व्यवस्था गर्न खोजिएको छ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले पदमा बहाल पदाधिकारीमध्ये बहुमत पुग्ने पदाधिकारी उपस्थित भए गणपूरक संख्या मानिने व्यवस्था राखेर विधेयक पेस गरेको थियो।
संविधानमा भएको संवैधानिक परिषदसम्बन्धी व्यवस्था अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने परिषदमा प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलको नेता, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य हुन्छन्।
अहिले उपसभामुख पद रिक्त छ। विधेयकमा प्रधानमन्त्रीबाहेकका ४ सदस्यमध्ये दुईजनामात्रै उपस्थित भएमा बैठक चालु गर्न मिल्ने व्यवस्था गर्न खोजिएपछि कांग्रेसकै नेता विरोधमा उत्रिएका छन्।
Shares

प्रतिक्रिया