राजनीति


स्थानीय चुनाव अन्तरघातले हार्‍यौँ, छानबिन गरेर कारबाही हुन्छ : प्रचण्ड

स्थानीय चुनाव अन्तरघातले हार्‍यौँ, छानबिन गरेर कारबाही हुन्छ : प्रचण्ड

नेपालखबर
असार २३, २०७९ बिहिबार १४:०, काठमाडौँ

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेमाथि कारबाही हुने बताएका छन्। 

प्रज्ञा भवन कमलादीमा जारी केन्द्रीय कमिटी बैठकलाई बिहीबार सम्बोधनका क्रममा दाहालले पार्टी अनुशासन नमान्नेमाथि छानबिन समिति बनाएर कारबाही चलाउने बताएका हुन्। 

केन्द्रीय सदस्यहरूका प्रश्नको जवाफ दिने क्रममा दाहालले निर्वाचनमा अन्तर्घातको छानबिन अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा हुने पनि बताए। खासगरी मधेश प्रदेशसहितका जिल्लामा अन्तर्घात गम्भीर देखिएको उनले बताए।

‘अनुशासन नमान्ने र अन्तर्घात गर्नेलाई कारबाही हुन्छ,’ दाहालले भने, ‘अब हामी छानबिन गर्छौँ। अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा छानबिन गरेर १५ दिनमा रिपोर्ट पनि आउँछ। पूर्व न्यायाधीशकै अध्यक्षतामा समिति बनाऊँ भनेको अलिक विवाद होला कि भनेर त्यता लागिएन।’

दाहालले अन्तर्घातकै कारण थप ३० पालिका जित्ने योजना सफल नभएको पनि बताए। '१५० देखि १७५ पालिका प्रमुख जित्न सकिने आँकलन थियो। तर अन्तर्घातले सम्भव भएन।'

दाहालका अनुसार माओवादीले १२० पालिका प्रमुख जितेर तेस्रो भएको छ। उनले आफूहरुको हिसाब गोलमाल भएको पनि बताएका छन्। 

उनले मधेशमा धेरै क्षति भएको भन्दै ४० सिट जित्ने अनुमान गरेकोमा ९ सिटमा खुम्चिन बाध्य भएको पनि गुनासो गरे।

२०७४ को निर्वाचन जितेर अलोकप्रिय बनेकाहरुलाई फेरि टिकट दिँदा पनि ती सिट गुमाउनुपरेको दाहालले बताए। 

‘हामी अन्तर्घातकै कारण हार्यौँ। पार्टी निर्णय मानेर जिताउन हिँड्नुपर्नेमा हराउन लागेको पाइयो। अब उनीहरु एकअर्कालाई कारबाही गर भनिरहेका छन्', दाहालले भने. ‘अब हाम्रै साथीहरु पनि एकअर्कालाई कांग्रेस-एमालेको पैसा खाएर हराउन लाग्यो भन्न थालेका छन्।’

उनले गठबन्धन सरकारमा माओवादीबाट मन्त्री भएकाहरुले कयौँ राम्रा काम गरेको बताउँदै तिनको विवरण पठाउन निर्देशन दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .