राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा बोलाइएको माओवादी केन्द्रीय कमिटी बैठक अन्तिम समयमा स्थगित भयो।
बैठकमा सहभागी हुन केन्द्रीय सदस्यहरु धमाधम प्रज्ञा भवनको हलमा उपस्थित भइरहेका बेला खुमलटारबाट स्थगितको सूचना आएको थियो।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयबाट बैठक स्थगितको सूचना पुगेपछि हलभित्र छिरिसकेका सदस्यहरु ‘चकित’ परे।
बैठकमा सहभागी हुन वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र पूर्व स्थायी कमिटी सदस्य लिलामणि पोखरेल लगायत शीर्ष नेता पनि पुगिसकेका थिए।
उपस्थित केन्द्रीय सदस्यका लागि खाजा मगाइएको थियो। प्रज्ञा भवनमा प्याकिङसहित पुर्याइएको खाजा केहीबेर अलपत्र भयो।
त्यसपछि नेताहरु धमाधम एक–एक वटा प्याकिङ समाएर खान थाले।
खुमलटारको सूचनाअनुसार माओवादी बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।
मंगलबारका लागि बोलाइएको बैठक बुधबारका लागि सरेको थियो। तर, संसद बैठकमा शीर्ष नेताहरु जानुपरेको भन्दै स्थगित गरिएको छ।
प्रचण्डलाई एकातिर पार्टीको पदाधिकारी चयन गर्न सकस परेको छ। अर्कोतर्फ आफ्नै दलबाट अर्थमन्त्री बनेका जनार्दन शर्माको पद जोगाउन पनि धौ धौ भएको छ। प्रमुख प्रतिपक्षी एमालेले शर्माको राजीनामा मुख्य शर्त बनाएको छ।
Shares

प्रतिक्रिया