प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सही छ कि छैन भनेर विवेचना गर्न सत्तारुढ दललाई आग्रह गरेका छन्।
एउटै मञ्चमा सँगै बसेका सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुलाई लक्षित गर्दै पोखरेलले ‘गठबन्धनको हालत’ सम्झाएका हुन्।
नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सोमबार ललितपुरको जावलाखेलमा गरेको ‘नेपालमा समाजवादका चुनौती र सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा पोखरेलले गठबन्धनमाथि प्रश्न उठाएका हुन्।
अन्तरक्रियामा महासचिव पोखरेलले आफूलाई कार्यक्रममा बोलाएकोमा माओवादी नेता नारायणकाजी श्रेष्ठलाई धन्यवाद समेत दिए।
‘अहिले गठबन्धनको राजनीतिको हालत के हुँदो रहेछ। म धेरै टाढाको कुरा गर्दिनँ,’ उनले भने,‘किनकी नेकपा एमाले र अहिलेको गठबन्धनबीच तपाईंहरुको धेरै विमत्ति छ। नेकपा एमालेप्रति तपाईंहरुको घृणाको राजनीति हो। नारायणकाजीज्यूले बोलाउनुभयो, त्यसका लागि धन्यवाद!’
एमालेविरुद्ध घेराबन्दी गर्नुपर्ने बेलामा सँगै राखेर विचार सुन्दा आन्दोलन कमजोर हुने चिन्ता गठबन्धनका नेताहरुलाई भएको भन्दै उनले ब्यंग्य गरे।
‘एमालेविरुद्ध घेराबन्दी गर्नुपरेको छ, अनि एमालेलाई नै हराउनपरेको छ', उनले भने, 'यस्तो अवस्थामा सँगै राखेर विचार सुन्दा कतै आन्दोलन कमजोर हुने हो कि भन्ने चिन्ता पनि होला।’
गठबन्धन ठीक बाटोमा भएको वा नभएकोबारे विवेचना गर्न उनले मञ्चमा रहेका गठबन्धनका नेताहरुलाई सुझाव दिएका छन्।
‘तर पनि यो ९ महिनाको अवधिलाई हेरेर गठबन्धन सही बाटोमा छ कि छैन विवेचना गर्नुहोस्,’ उनले भने।
अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, माओवादी नेता नारायाणकाजी श्रेष्ठ लगायत उपस्थित छन्।
Shares

प्रतिक्रिया