नेपाली राजदूत डा. श्रीधर खत्रीले अमेरिकी राष्ट्रपति जो बाइडेन र विदेशमन्त्री एन्टोनी ब्लिंकनसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन्।
त्यही क्रममा खत्रीले बाइडेनसँग नेपाल—अमेरिका सम्बन्धबारे संक्षिप्त कुराकानी गरेका हुन्।
भेटमा अमेरिकी राष्ट्रपतिले नेपाल र नेपाली जनता आफूलाई मनपर्ने बताएको राजदूत खत्रीले जानकारी दिए।
संक्षिप्त कुराकानीमा राजदूत खत्रीले अमेरिकासँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिएको बताएका थिए।
उनले नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध ७५ बर्षमा प्रवेश गरेको र अबका दिनमा थप मजबुत हुने विश्वास बाइडेनसँग ब्यक्त गरेका थिए।
सामान्यत: ओहदाको प्रमाणपत्र बुझाउने क्रममा राष्ट्रपतिलाई संक्षिप्त भेट्ने कुटनीतिक परम्परा छ।
तर कोरोना महामारीका कारण अमेरिकी विदेश मन्त्रालयले विदेशी राजदूतलाई राष्ट्रपति बाइडेन र विदेशमन्त्री ब्लिंकनसँग भेट गराएको थिएन।
राजदूत खत्रीले भर्चुअल माध्यमबाट ब्लिंकनलाई ओहदाको प्रमाणत्र बुझाएा थिए।
राष्ट्रपति बाइडेनपछि अमेरिकी विदेशमन्त्री ब्लिंकनले पनि गत जुन १६ मा स्टेट डिपार्टमेन्टमा खत्री र वासिङ्टनस्थित अन्य विदेशी राजदूतलाई बोलाएका थिए। त्यसक्रममा ब्लिंकनले नेपालसँगको सम्बन्धप्रति सन्तुष्टि ब्यक्त गरेको राजदूत खत्रीले जानकारी दिए।
‘नेपाल अमेरिका सम्बन्धबारे संक्षिप्त कुरा राखेँ। त्यो एउटा शिष्टाचार भेट मात्रै थियो’, खत्रीले भने।
राजदूत खत्रीले अमेरिकासँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिएको बताएका थिए।
प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको गृहकार्य भइरहेका बेला खत्रीले अमेरिकी राष्ट्रपति र विदेशमन्त्रीसँग भेट गर्ने अवसर पाएका हुन्।
खत्रीले बाइडेन र ब्लिंकनलाई भेट्दा नेपालमा अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाली सेनाको सहभागिताबारे विवाद उठिसकेको थिएन।
यद्यपि सरकारले एसपीपी अघि नबढाउने निर्णय गरिसकेको छ। राजदूत खत्रीको सक्रियता, प्रभावशाली सांसद देखी उच्च अधिकारी भेट्दै गत जुन १५ मा राजदूत खत्रीले अमेरिकी सांसद अमि बेरासँग भेटवार्ता गरेका थिए।
क्यापिटल हिलस्थित बेराको कार्यकक्षमा भएको भेटवार्तामा नेपाल र अमेरिकाका संसदका माध्यमबाट द्विपक्षीय सम्बन्ध बढाउने विषयमा विचार आदान प्रदान भएको वासिङ्गटनस्थित नेपाली दूतावासले उल्लेख गरेको छ।
अमेरिकाका प्रभावशाली सांसद बेरासँगको भेटमा राजदूत खत्रीले अमेरिकी संसद् अन्तर्गत ‘नेपाल ककस’ ब्युँताउनुपर्नेमा जोड दिएका छन्।
सांसद बेरा अमेरिकी संसदको एसिया प्रशान्त, मध्य एशिया र अप्रसार उपसमितिका अध्यक्ष हुन्। उनी सन् २०२० को फेब्रुअरी महिनामा द्विपक्षीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गरी नेपाल भ्रमणमा आएका थिए।
राजदूत खत्रीले अमेरिकाका विदेश र रक्षा मन्त्रालयका अधिकारी, सांसद र त्यहाँस्थित नेपाली समुदायसँग छलफल गरिसकेका छन्।
राजदूत खत्रीले अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र रक्षा सहायकमन्त्री लिन्ड फोर्डसँग भेटवार्ता गरिसकेका छन्।
ती भेटमा राजदूत खत्रीले प्रधानमन्त्री देउवाको आसन्न अमेरिका भ्रमणबारे छलफल गरेका थिए।
नवनियुक्त राजदूत खत्री कार्यभार सम्हाल्न गत मार्च १२ मा अमेरिका पुगेका थिए।
प्रधानसेनापति शर्माले पर्सिदेखि अमेरिकाको औपचारिक भ्रमण शुरु गर्दैछन्।
प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको गृहकार्य भइरहेको भनिएपनि भ्रमणको एकीन मितिबारे परराष्ट्र मन्त्रालयले केही बताएको छैन।
गतसाता संसद बैठकमा बोल्दै परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको गृहकार्य भइरहेको बताएका थिए। तर उनले भ्रमणको यकिन मिति बताएनन्।
नेपाली राजदूत खत्रीले अमेरिकी विदेश मन्त्रालयका उच्च अधिकारीसँग अमेरिकी कंग्रेसअन्तर्गत नेपाल ककस ब्युँताउने विषयमा छलफल गरिसकेका छन्। नेपाली दूतावासका अनुसार अमेरिकी पक्षले यसबारे सकारात्मक जवाफ दिएको छ।
गत अप्रिलमा राजदूत खत्रीले अमेरिकी उपसहायक विदेशमन्त्री केली किडरलिङसँग विदेश मन्त्रालयमा गरेको भेटमा ककस ब्युँताउनेबारे छलफल गरेका थिए।
सन् २०११ को मार्चमा अमेरिकी संसदअन्तर्गत पहिलोपटक नेपाल ककस गठन भएको थियो।
अमेरिकाको रिपलब्लिकन पार्टीका सांसद एन्डर क्रिन्स र डेमोक्रेटिक पार्टीका सांसद जरेड पोलिसले उक्त ककसमा सहअध्यक्षता गरेका थिए।
तत्कालीन नेपाली राजदूत डा. शंकर शर्माको पहलमा स्थापित अमेरिकी सांसदहरुको ककसले अमेरिका–नेपाल सम्बन्ध र सहकार्यका क्षेत्रबारे छलफल गर्ने तथा अमेरिकी सरकारलाई नेपाल मामिलाबारे राय सुझाव दिने लक्ष्य लिएको थियो।
नेपाल–अमेरिका राजनीतिक, आर्थिक तथा जनस्तरको सम्बन्ध विस्तारका लागि सांसदहरुको उक्त फोरमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको थियो।
उक्त ककसले अमेरिका र नेपालबीचका सांसद तथा राजनीतिज्ञलाई अन्तरक्रियाका लागि नयाँ बाटो खोलेको थियो। तर समयक्रममा उक्त नेपाल ककस सुस्ताएर गयो।
300
Shares

प्रतिक्रिया