ad ad

राजनीति


समाजवादीमा एकपछि अर्को तनाव, बैठक बहिष्कार गरेका मन्त्री बालुवाटारमा

समाजवादीमा एकपछि अर्को तनाव, बैठक बहिष्कार गरेका मन्त्री बालुवाटारमा

फाइल फोटो


रुपक चौलागाईं
असार ११, २०७९ शनिबार २२:१८, काठमाडौँ

केही थान मन्त्री पदलाई लिएर यतिबेला नेकपा एकीकृत समाजवादीभित्र भाँडभैलो चलेको छ। 

एक वर्षअघि मात्रै नेकपा एमालेबाट टुक्रिएर बनेको एकीकृत समाजवादीमा फुटका संकेतहरु देखिन थालेका छन्। 

स्थानीय तह निर्वाचनमा कमजोर प्रदर्शनपछि असन्तुष्टि बढेको उक्त पार्टीले यो साता लगातार बैठक राखेको छ। 

शनिबार केन्द्रीय कमिटी बैठक बसेको छ। शुक्रबार पोलिटब्युरो र त्यसअघि सचिवालयका बैठक बसेका थिए।

केन्द्रीय कमिटी बैठक सकिनेबित्तिकै केन्द्रीय परिषद् बैठक बस्दैछ। पोलिटब्युरो र केन्द्रीय कमिटीका निर्णय समूहगत छलफलसहित निष्कर्षमा पुग्ने उक्त पार्टीको तयारी छ।

दुई लाइन संघर्ष 
एकीकृत समाजवादीभित्र दुई लाइन संघर्ष सुरु भएका छन्। गत २२ जेठमा पार्टीले गरेको गरेको निर्णयअनुसार मन्त्री पद छाडेर निस्कन नमानेका केही मन्त्रीका कारण विवाद छरपस्ट हुन थालेका हुन्।

शनिबार दिउँसो केन्द्रीय कमिटी बैठकस्थलमा उपस्थित नेताहरु पनि आफ्नै नेताको विचलनलाई केन्द्रमा राख्दै चिन्ता जनाइरहेका थिए। बैठकमै मन्त्री छाड्न नसकेर खुमलटारदेखि बालुवाटारसम्म नेताहरु धाउन थालेका टिप्पणी सुनिए।

यो टिप्पणी चलिरहँदा तीनजना मन्त्रीहरु आफूहरुलाई क्याबिनेबाट बिदा नगर्न भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगे। माधव नेपालको निर्णयविरुद्ध उभिएका उनीहरुले समानान्तर गतिविधि गरिरहेका छन्। 

समाजवादीमा स्थानीय निर्वाचन नतिजादेखि पाँच दलीय गठबन्धनप्रति असन्तुष्टिका स्वर शीर्ष नेताबाटै आउन थालेका थिए। 

यस्तोमा ४ मन्त्रीसहित १० जना सांसदले शुक्रबार अध्यक्ष माधव नेपाललाई लिखित असन्तुष्टि दिएका थिए। असन्तुष्टमध्ये ४ जना मन्त्री शनिबारको केन्द्रीय कमिटी बैठकमै पुगेनन्।

बरु, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य बजेटको चटारो सक्नेबित्तिकै ‘हस्याङ्फस्याङ’ गर्दै बैठकमा भाग लिन आइपुगे।

मन्त्री बन्दा नै ६ महिने शर्त रहेकोे भन्दै उनीहरुलाई फिर्ता बोलाउनुपर्ने माधव नेपालसहितका नेताहरूले बताएका छन्।

मन्त्री फेर्ने निर्णय कार्यान्वयन नगरेको भन्दै गठबन्धनका नेताप्रतिको असन्तुष्टि केन्द्रीय कमिटी बैठकमा पोखिएका छन्। 

तर, आफ्नै पार्टीका मन्त्रीहरुले पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री देउवा गुहारेर मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको नेताहरुले बताउँदै आएका छन्। 

प्रचण्डसँग विश्वास घट्यो
एमालेसँग छुटेपछि अध्यक्ष नेपालको सबैभन्दा बढी ‘हिमचिम’ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग थियो। तर, पछिल्ला दिनमा प्रचण्डसँग नेपालसँगै समाजवादीका कार्यकर्तापंक्तिसम्मै असन्तुष्टि फैलिएको छ। 

‘मन्त्री फेर्ने निर्णय रोक्नमा भूमिका खेलेको, चुनावमा अन्तिम समयमा कांग्रेस र माओवादी गठबन्धन गरेर नेकपा एकीकृत समाजवादीको साइज निर्धारण गर्नेसम्मको खेल प्रचण्डले गरेको भन्ने बुझाई आम कार्यकर्तामा छ,’ एकजना केन्द्रीय सदस्यले शनिबार दिउँसो सुनाए।

३० प्रतिशत संघीय सांसदमा उम्मेदवारी भागमा नपरेमा गठबन्धन गर्ने वा नगर्ने छलफल समेत सुरु भएको ती सदस्य बताउँछन्। ‘माधव र झलनाथ खनालको आशय हामी तेस्रो वा चौंथो विकल्प हो भन्ने छ,’ ती नेताले भने। 

झाँक्री, खतिवडा र श्रेष्ठ गरम, आले नरम!
फिर्ता हुन नमानेका ४ मन्त्रीमध्ये प्रेम आलेले ‘सफ्ट’ विद्रोह जारी राखेका छन्। आफूनिकट मानिने केही सांसदसहित उनले शनिबार दिउँसो हस्ताक्षर फिर्ता लिए। 

हिजो मात्रै सांसद आलेले पोलिटब्युरो बैठकमा पनि ७२ घन्टाभित्र निर्णय लागू गराउने बताएका थिए। आले केही नरम देखिँदा अरुले शनिबार प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेटे। 

ती मन्त्रीले संसद बैठक ‘बंक’ गर्दा आले केहीबेर उपस्थित थिए। ती मन्त्रीहरुले बालुवाटारमा पसेर देउवालाई पद यथावत रहनुपर्ने कु राखेको स्रोतको दाबी छ।

यद्यपि १० जना सांसदले असन्तुष्टि राख्दै संसदीय दलको बैठक माग गरेपछि समाजवादीमा एक वर्षमै विभाजनको रेखा कोरिन थालेको छ।

राष्ट्रपति कार्यालयबाट शपथको निम्तो कुरिरहेका मन्त्रीहरुका लागि मात्र नभई अध्यक्ष नेपालका लागि केही मन्त्री ‘भारी’ बन्न पुगेका छन्। 

शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्यमन्त्री विरोध खतिवडा, श्रममन्त्री कृष्णकुमार श्रेष्ठले खुमलटारमा प्रचण्ड र बालुवाटारमा देउवासँग संवाद अघि बढाएपछि पार्टीभित्रबाटै आलोचना सुरु भएको छ। 

‘म भए आफ्ना असन्तुष्टि पार्टी बैठकमा राख्थेँ,’ बैठकस्थलमा एक केन्द्रीय सदस्यले भने, ‘प्रचण्ड र देउवासमक्ष मन्त्री पद जोगाउन गएर शरण पर्नु भनेको माधव कमरेडलाई अध्यक्ष नमानेको जस्तै हो।’

गठबन्धनसँग सहकार्य गर्ने, शरणमा नपर्ने
स्थानीय चुनावमा अपेक्षित सहयोग नपाएको भन्दै गठबन्धन दलप्रति समाजवादी सकारात्मक हुन सकेको छैन्। अझ, पार्टीले निर्णय गराएर पठाएका नयाँ मन्त्रीहरुको सूची अलपत्र परेपछि झन आक्रोशित छ। 

यसबारे पार्टीको सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीमा गम्भीर छलफल सुरु भएको छ। अध्यक्ष नेपालले पनि गठबन्धन दलसँगको सहकार्य आवश्यक भए पनि ‘आफ्नै बलवुता’मा बलियो भएर उभिनुपर्ने अवस्था सिर्जना भएको प्रशिक्षण दिएका छन्। 

‘पाँच दलीय गठबन्धनलाई उच्च प्राथमिकता दिएका छौं। सबैसँग सहकार्य गर्छौं तर, कसैको शरण पर्दैनौँ,’ प्रवक्ता खतिवडाले भने, ‘सबै दलसँग छलफल खुला गर्ने। पाँच दलीय गठबन्धन पहिलो प्राथमिकता तर त्यसभन्दा बाहिरका दलहरूसँग पनि खुला छलफल हुनेछ।’

नयाँ ध्रुवको खोजी
पाँच दलीय गठबन्धनभन्दा बाहिरबाट पनि संभावनाको खोजी हुनसक्ने एकीकृत समाजवादीले बताएको छ। 

‘देशभक्त र वामपन्थीबीच सहकार्यको सम्भावना देखिन्छ,’ प्रवक्ता खतिवडाले भने, ‘यसबारे सबै राजनीतिक दलसँग भेट्न तयार छौं। हाम्रो पहलमा देशमा देशभक्त, वामपन्थीहरूको नयाँ ध्रुव सिर्जना हुनसक्छ। हामी सबैलाई समेटेर देश र जनताको हितका लागि अघि बढ्न सक्छौँ।’

नयाँ शक्ति सन्तुलन देखा परेको र त्यसमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण हुने प्रवक्ता खतिवडाको भनाइ छ। 
पारस्परिक लाभका आधारमा गठबन्धन गर्न तयार भएको उनले बताए। 

‘मन्त्रिमण्डलका सन्दर्भमा आजसम्म हामीले जति प्रचण्ड र प्रधानमन्त्रीलाई पर्खियौँ,’ केन्द्रीय कमिटी बैठकपछि खतिवडाले भने, ‘अब हामी पर्खने छैनौँ। पार्टीको निर्णय मानेर तत्काल मन्त्रिपरिषद हेरफेर होस, अब उप्रान्त पनि ढिला भएमा तपाईंहरुले गरेको अपमान हो भन्ने सम्झिनेछौँ।’

अब ढिलाइ नगर्न आग्रह गरिएको भन्दै उनले गठबन्धनबाटै बाहिरिन पर्नेगरी सोच्न नपर्ला भन्ने आशय ब्यक्त गरेका छन्। ‘गठबन्धनबाट बाहिर निस्कनुपर्छ भन्नेसम्म सोच्न नपर्ला,’ प्रवक्ता खतिवडाले भनेका छन्। 

मन्त्रीको सूची संशोधन नहुने
विशेषगरी मन्त्री बन्नका लागि पठाइएका नयाँ नामप्रति दलकै मन्त्रीहरूबीच असन्तुष्टि छ। 

नयाँ नाम समावेशी नभएको भन्दै समावेशी अनुहार समेट्न अध्यक्ष नेपालसमक्ष लिखित पत्र नै दर्ज गरिएको छ। 

त्यसबारे सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै प्रवक्ता खतिवडाले भने, ‘अहिले सूची संशोधन हुँदैन्। नाम संशोधन गरेर नयाँ नाम पठाइँदैन। पार्टीसँग बार्गेनिङ गर्ने छुट मन्त्रीहरुलाई छैन।’

केन्द्रीय कमिटीमा आएनन् ३ मन्त्री
जेठ २२ गते बसेको सचिवालय बैठकबाट हटाउने निर्णय गरिएका चारजना मन्त्री शनिबारको केन्द्रीय कमिटी बैठकमा सहभागी भएनन्। शहरी विकासमन्त्री झाँक्री, स्वास्थ्यमन्त्री खतिवडा, श्रममन्त्री श्रेष्ठ बैठकमा उपस्थित नभएका हुन्।

हिजोसम्म विद्रोही देखिए पनि पर्यटनमन्त्री आले भने शनिबार दिउँसोको बैठकमा देखिए। 

‘पार्टी केन्द्रीय कमिटीमा उहाँहरु आउनुभएन किन आउनुभएन थाहा छैन्,’ प्रवक्ता खतिवडा भन्छन्, ‘गठबन्धन भित्रबाट प्राथमिकता नपाएको अवस्था छ।’

एमालेसँग सहकार्य असम्भव
एकीकृत समाजवादीले एमालेसँग तत्काल राजनीतिक सहकार्य संभव नहुने बताएको छ। 

‘एमालेले हामीलाई राजनीतिक दलको दर्जा दिएको छैन्,’ खतिवडाले भने, ‘कानुनी र राजनीतिक दुवै जब नेकपा एमालेले हाम्रो पार्टीलाई राजनीतिक दलको सम्बोधन गर्दैन, अस्तित्व स्वीकार नगरेको अवस्थामा एमाले स्वीकार गर्दैनौं।’
नेकपा एकीकृत समाजवादी पनि देशभित्रको शक्ति हो र शक्तिको महत्व हुनुपर्छ भन्ने लागेको खण्डमा त्यो राजनीतिक ‘चियापान’ संभव हुने उनको भनाई छ। 

‘राजनीतिक दल हो, यसलाई मान्छौँ भन्ने उसका अभिव्यक्तिहरु आउन, संसद विघटनदेखि अनेक हतकण्डामा आफ्नो बारेमा धारणा प्रष्ट पारोस्,’ उनले भनेका छन्, ‘यति नभई नेकपा एमाले हाम्रो राजनीतिक सहकार्य संभव छैन्। एमाले संवादको एजेण्डामा छैन।’

–समीक्षा प्रतिवेदन प्रस्तुत 
भोलिसम्म बस्ने केन्द्रीय कमिटीको आजको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक तथा राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका छन्। त्यस्तै, पार्टीका सम्मानित नेता झलनाथ खनालले समसामयिक विषयमा धारणा राखे। 

प्रतिवेदनका ५ विषय
१) राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको चर्चा।
२) वितेको स्थानीय निर्वाचनमा प्राप्त गरेका उपलब्धी, कमजोरी र अबका सम्भावनाबारे चर्चा।
२) संगठनात्मक जीवन।
३) संगठनको कार्ययोजना।
४) आम निर्वाचनको तयारी।
५) केन्द्रीय परिषदको बैठकमा समूह छलफल गरेर निश्कर्ष

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .