मधेस


बिरामी छोरी बोकेर प्रादेशिक अस्पतालमा चार दिनदेखि भौँतारिरहेकी ती आमालाई भेट्दा

बिरामी छोरी बोकेर प्रादेशिक अस्पतालमा चार दिनदेखि भौँतारिरहेकी ती आमालाई भेट्दा

शैलेन्द्र महतो
असार १२ , काठमाडौँ

शुक्रबार साँझ ६ बजे। डेरामै समाचार लेख्दै थिएँ। नजिकै एक जना महिला चिच्याइन्। अचानक पेट दुखेर छटपटाउँदै थिइन् उनी। घर–घरमा गएर काम गर्ने उनी जनकपुरमा एक्लै  बस्छिन्। छिमेकीले उनलाई सुम्सुम्याउँदै सान्त्वना दिएको देखेर मेरी श्रीमतीले भनिन्, ‘अनितालाई के भयो! छिटो अस्पताल पुर्याइदिनुस्।’

मैले ती महिलालाई मोटरसाइकलमा राखेर मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुर पुर्याएँ र भर्ना गरिदिएँ। डाक्टरले औषधि दिएपछि उनलाई बिसेक भयो।

म सोही अस्पतालको सर्जिकल वर्डाको बेड नं १४० मा भर्ना भएकी राधिका कार्कीको अवस्था बुझ्न गएँ। जेठ १६ गते चार वटै हातखुट्टा, पेट, घुँडामा करेन्ट लगाएर हत्या प्रयासपछि प्रहरीले गम्भीर अवस्थामा उनलाई प्रादेशिक अस्पतालमा भर्ना गरेको थियो।

बेवारिसे अवस्थामा १५ दिनसम्म उपचार हुँदा र प्रहरीले त्यो घटनालाई बेवास्ता गर्दा मैले उनको विषयमा समाचार ‘ब्रेक’ गरेको थिएँ। अहिले राधिकाकी आमा झण्डै एक सातादेखि छोरीको स्याहारसुसार गरिरहेकी छन्। उनको उपचारमा संलग्न एक चिकित्सकलाई फोन गरेर राधिकाको स्वास्थ्य अवस्था विस्तृतमा बुझ्न खोजेँ। ती चिकित्सकले प्रादेशिक अस्पतालकै सर्जरी वार्डमा भर्ना भएका अर्का असहाय बिरामीको समस्या बुझिदिन आग्रह गरे।

म छेउमै रहेको सर्जरी वार्डको बेड नं ११६ मा पुगेँ। बेडमा धनुषाको औरही गाउँपालिका २ चक्करका अली अकबर मन्सुर छटपटाउँदै थिए। म पुग्नेबित्तिकै उनकी श्रीमती ३३ वर्षीया जुलेखा खातुन् आइपुगिन्। जुलेखा ८ महिनाकी गर्भवती छिन्। तर, पतिको हेरचाह गर्ने कोही नहुँदा उनी दुई नाबालिक छोरीसहित अस्पतालमा बसिरहेकी छन्। वार्डमा खटिएका स्वास्थ्यकर्मीले अली अकबरको हेरचाह नगरेको जुलेखाले गुनासो गरिन्।

अली अकबरको चार दिनअघि हाइड्रोसिलको शल्यक्रिया भएको थियो। उनलाई हेपाटाइटिस–सी समेत छ। आन्द्राको केही भाग काटेर हटाइएको छ उनको। अस्पतालकै एक चिकित्सकका अनुसार चार दिनअघि समयमै शल्यक्रिया नभएको भए अली अकबरको ज्यान जोगिन मुस्किल थियो। उनको परिवार अत्यन्त विपन्न एवं असाहय छ। अर्काकै घडेरीमा ओत लाग्ने छाप्रो छ। कमाउने कोही नभएर भिख मागेर गुजारा गरिरहेको जुलेखाले सुनाइन्।  

उनका चार छोरी र एक छोरा छन्। शल्यक्रियापछि केही चिकित्सकले व्यक्तिगत तवरबाट खानपानका लागि आर्थिक सहयोग पनि गरेका छन्। तर, पाएको आर्थिक सहयोग चार दिनमा सकिएको छ। एक बिरामीसहित चार जना अस्पतालमा छन्। तर पैसा फुटीकौडी छैन।

अस्पतालले निशुल्क उपचार गरिरहेको छ। त्यहाँ उपलब्ध औषधि दिन्छ। तर, दिउँसो मात्रै। राति उनको हेरविचार कसैले गर्दैन। किनभने अस्पतालमा राति निशुल्क औषधि पाइँदैन।  अली अकबरको केही औषधि दिउँसै छैन भनेर दिएको थिएन। झन् राति त मरिगए पनि कसैको केही लाग्दैन।

जुलेखाले भनिन्, ‘हमरा घरबलाके अप्रेसन भेल है। नर्ससब निक से नै देखै हैँ। घृणा करै है। कहै है अपने देखु।’ (मेरो पतिलाई अप्रेसन गरेको छ। नर्सले राम्ररी हेरिदिँदैनन्। आफैँ हेर भन्छन्।)

प्रदेश राजधानीको सबभन्दा ठूलो अस्पतालमा विपन्न एवं असहाय बिरामीलाई गरिने यस्तो व्यवहारले जोकोही चकित पर्न सक्छ। मैले यथार्थ बुझ्न खोजेँ। डिउटीमा रहेकी एक स्टाफ नर्ससँग यो विषयमा कुरा गरेँ। ती नर्सले अली अकबरलाई खुवाउनु पर्ने तीन प्रकारको औषधि नभएको बताइन्।

जुलेखाले आफ्नी दुई वर्षीया छोरी पनि बिरामी रहेको सुनाइन्। तर, अस्पतालले ६–७ हजार रुपैयाँ भए मात्र उपचार हुने र भर्ना लिने बतायो। 

दुई वर्षीया छोरी जस्मिनालाई आठ वर्षीया माइली छोरी सकिनाले जसोतसो काखमा बोकेकी थिइन्। हातखुट्टा सुन्निएको। जिउको छालामा कालो चाउरी परेको। रुन पनि नसक्ने जस्मिनालाई ज्वरोले च्यापेको थियो। 

जुलेखाले भनिन्, ‘हम एहन अवस्थामे बच्चाके लक चाइर दिन से अस्पतालमे बौवारहल छी। मुदा कतौ भर्ना नै लरहल है। नै हमरा ल खाइला पैसा है, नै बच्चाके खुवाबला। आब हमर बेटी उपचार बिने मैरजेतै सायद।’ (चार दिनदेखि छोरीलाई लिएर अस्पतालमा घरी यता घरी उता धाइरहेकी छु। तर कतै भर्ना लिन मानेको छैन्। न आफूलाई खाने पैसा छ न बालबच्चालाई खुवाउने। अब मेरी छोरी सायद उपचारै नपाएर मर्छिन् होला।)

बेडमा अली अकबर रुन थाले, ‘हामी गरिबको लागि कोही छैन। म आफैँ यस्तो अवस्थामा छु। मेरो छोरीलाई कसरी उपचार हुन्छ? मेरो छोरी उपचार नपाएरै मर्छिन्। म त केही गर्न सक्दिनँ।’

दुवै हात जोड्दै अली अकबर र जुलेखाले सहयोग गरिदिन बिन्ती गर्न थाले। चारदिन अस्पतालमा चक्कर लगाउँदा पनि ती बालिकाले उपचार नपाएको र शल्यक्रिया गरेको बिरामीले पैसा नहुँदा औषधि नपाएको देखेर मेरो अन्तर्मन काँप्यो। 

तुरुन्तै अस्पताल प्रशासन प्रमुख डा. केडी दासलाई फोन गरेँ र सबैकुरा सुनाएँ। मैले उनलाई सोधेँ, ‘अस्पताल कसको लागि हो? पैसा छैन भने यो अस्पतालमा असहाय विपन्न मर्नै पर्छ? यी नानीको उपचार हुन्छ कि हुन्न?’

डा. दासले बालिकाको उपचार हुने आश्वासन दिए। डिउटीमा रहेका स्टाफ नर्ससँग कुरा गराइदिन भने। म स्टाफ नर्ससँग कुरा गराइदिएँ। ती नर्सले भनिन्, ‘अली अकबरलाई चाहिने औषधि छैन। हस्पिटलमा पाइएन।’

डा. दासले बालिकालाई इमर्जेन्सीमा भर्ना गर्न भने। उनले सबै उपचार निशुल्क हुने पनि आश्वासन दिए।

हामी बालिकालाई लिएर ८ बजेतिर इमर्जेन्सी वार्डमा छिर्यौँ। पारा मेडिकल अफिसर कृष्ण  झाले पुर्जा लिँदै भने, ‘यी महिला धेरै चलाख, धुर्त छिन्।’

उनको कुरा सुनेर मलाई सहिनसक्नु भयो। मैले सोधेँ, ‘यी महिला चलाख भएको भए बिरामी बच्चा यस्तो हालतमा बोकेर भौँतारिनुपर्थ्यो? उपचार हुँदैनथ्यो?’ 

उनी नाजवाफ भए।

डिउटीमा रहेका मेडिकल अफिसर डा. सञ्जीव यादवले ती बच्चालाई चार दिनअघि आफैँ जाँचेर ओपीडीमा पठाएको सुनाए। तर, त्यो दिनदेखि आज फेरि तपाईं ल्याएपछि हेर्दैछु। चार दिनअघि ती बच्चालाई पोषण वार्डमा पठाएको अर्का स्वास्थ्यकर्मीले भने। 

जुलेखाले भनिन्, ‘लिएर गएकी थिएँ तर ठाउँ छैन, ८ दिनपछि लिएर आउनु भन्यो। त्यसपछि अस्पतालकै थुप्रै ठाउँमा गएँ। कुनै वास्ता गरेन। भर्ना गरेन। एकठाउँमा ७ हजार रुपैयाँ भए मात्र भर्न गर्ने भन्यो।’

ती स्वास्थ्यकर्मीले जुलेखालाई जवाफ दिन सकेनन्।

डा. सञ्जीव यादवले बालिकाको जाँच गरे। उनको डिउटी ८ बजे सकिन लागेकाले निस्के। अर्का मेडिकल अफिसर डा. घनश्याम गुप्ता आइपुगे। उनले निशुल्क उपचारको लागि प्रक्रिया बुझ्दा बुझ्दै एक घण्टा बित्यो। तर केही उपाय भएन। 

मैले बाहिरको एक निजी फार्मेसीबाट पछि उधारो तिर्नेगरी औषधि ल्याएँ र भर्ना गराएँ। ८ महिनाकी गर्भवती जुलेखा, बिरामी छोरी र अर्की छोरी भोकभोकै थिए। मेरो खल्तीमा दुईतीन सय रुपैयाँ मात्र थियो।

त्यहीबेला सञ्चारकर्मी भाइ फुलगेन महतो आइपुगे। उनीबाट केही रकम सापटी लिएर मैले जुलेखालाई दिएँ। अली अकबरका लागि रातिलाई पुग्ने औषधि बाहिरबाट ल्याइदिएँ। 

अस्पतालमै एक चिनजानकै भाइ भेटिए। उनले जुलेखा र उनका बच्चाहरु अस्पतालमा आउने निशुल्क खाना लिन जाँदा बाँड्ने व्यक्तिले हकारेको सुनाए। 

‘हकार्दै एउटा बच्चालाई पुग्ने जति थोरै भात दियो,’ ती भाइले भने।

इमर्जेन्सीबाट बालिकालाई वार्डमा सारेपछि राति ११ बजेतिर कोठामा फर्किएँ।

अली अकबर र उनकी छोरीले उपचारका लागि प्रादेशिक अस्पतालमा भोग्नुपरेको यो कष्टले विचलित बनायो। उनीहरु जस्ता कति गरिब, अशक्त, असहाय समयमै उपचार पाउनबाट बञ्चित हुन्छन् होला? के यो अस्पतालको गैरजिम्मेवारीको पराकाष्ठा होइन?

कहिलेकाहीँ समयमा उपचार नपाएर बिरामीको अकालमै ज्यान जान्छ। दुरदराजका गाउँबाट आएका त्यस्ता बिरामीका परिवार शव लिएर चुपचाप फर्किनुको विकल्प हुँदैन। यहाँ बोल्न सक्दैनन्। झन् असहाय, अशक्त बिरामी उपचार अभावमा मर्दा त यहाँ होहल्ला गर्ने कुरै हुँदैन। न त त्यस्ता घटना सञ्चारमाध्यमसम्म पुग्छ, न सम्बन्धित निकायसम्म।

साविकको अञ्चल अस्पताललाई मधेश प्रदेश सरकारले स्तरोन्नति गरेर प्रादेशिक अस्पतालमा रुपान्तरण गरेको छ। प्रादेशिक अस्पताललाई अझै स्तरोन्नति गर्न मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत ल्याइएको छ। तर, अस्पतालको व्यवस्थामा कुनै स्तरोन्नति भएको छैन। असहाय, अशक्त, विपन्न गरिबगुरुवालाई उपचार गराउन पहिलाजस्तै सकस छ। 

असार ११, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.