ad ad

राजनीति


कांग्रेसका लथालिङ्ग भ्रातृसंगठन : वर्षौँदेखि महाधिवेशन भएन, कुनैमा नेतृत्व नै छैन

कांग्रेसका लथालिङ्ग भ्रातृसंगठन : वर्षौँदेखि महाधिवेशन भएन, कुनैमा नेतृत्व नै छैन

केशव सावद
असार ७, २०७९ मंगलबार २१:४, काठमाडौँ

१४ औँ महाधिवेशनपछि नेपाली कांग्रेस तल्लो तहसम्मै चलायमान हुँदा उसकै भ्रातृ संगठनहरु लथालिङ्ग अवस्थामा छन्। 

वडादेखि केन्द्रसम्म ७ तहमा कार्यसमिति बनाएर चलायमान बनेको कांग्रेसका १३ मध्ये अधिकांश भ्रातृ संगठन नेतृत्वविहीन र बेवारिसे बनेका छन्। 

कांग्रेसले लामो समयदेखि अधिवेशन गर्न नसकेका भ्रातृ संगठनहरुलाई गतिशील बनाउन १३ मध्ये १० वटाको केन्द्रीय कार्यसमिति विघटन गरिएको थियो। गत फागुन ३ गते सम्पन्न केन्द्रीय कार्यसम्पादन समिति बैठकले ती संगठनहरुको केन्द्रीय कार्यसमिति विघटन गरेको थियो।

यसरी विघटन हुनेमा नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल भूतपूर्व सैनिक संघ थिए। 

बैठकले गत फागुनभित्रै केन्द्रीय कार्यसमिति विघटन गरिएका भ्रातृ संगठनहरुका केन्द्रीय तदर्थ समिति गठन गर्ने निर्णयसमेत गरेको थियो। 

पार्टी सभापति शेरबहादुर देउवाले आवश्यक परामर्श गरेर फागुन मसान्तभित्र १० वटै भ्रातृ संगठनहरुको केन्द्रीय तदर्थ समिति गठन गर्ने निर्णय भएको त्यसबेला जारी विज्ञप्तिमा भनिएको थियो। 

तर, निर्णयको चार महिना नाघिसक्दा पनि प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले नेविसंघ र तरुण दलबाहेक संगठनहरुको तदर्थ समिति बनाउन सकेका छैनन्। नेविसंघ र तरुणका अध्यक्षमात्रै मनोनित गरेर अलपत्र छाडिएको छ 

नेविसंघका अध्यक्ष राजीव ढुंगाना १४ औं महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएपछि संगठन नेतृत्वविहीन बनेको थियो। नैनसिंह महर नेतृत्वले महाधिवेशन गर्न नसकेपछि ढुंगानालाई तदर्थ समितिको नेतृत्व दिइएको थियो। 

यस्तै तरुण दलका अध्यक्ष जीतजंग बस्नेत पनि कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएपछि संगठन नेतृत्वविहीन छ। 

लामो समयदेखि तरुणको पनि महाधिवेशन भएको छैन। मुस्लिम संघका अध्यक्ष अब्दुल सत्तार पनि १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि स्वतः पदमुक्त भएका थिए।  

तीनै तहको निर्वाचनको अन्तिम परिणाम आएको मितिले ३ महिनाभित्र केन्द्रीय महाधिवेशन गर्ने गरी देउवाले दुजाङ शेर्पालाई नेविसंघ र विद्वान गुरुङलाई तरुण दलको अध्यक्ष मनोनित गरेका छन्। अध्यक्षहरू मनोनित भए पनि दुवै संगठनले अहिलेसम्म पदाधिकारी र केन्द्रीय सदस्य पाउन सकेको छैन। 

फागुन ३ मा सम्पन्न बैठकले सबै भ्रातृ संस्थाका नयाँ कमिटीलाई स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम आएको मितिले ३ महिनाभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिने निर्णय गरेको थियो। 

तोकिएको उक्त अवधिमा महाधिवेशन सम्पन्न गर्न नसक्ने कार्यसमिति स्वतः विघटन गर्ने निर्णय पनि कांग्रेसबाट भएको थियो। 
कांग्रेसका १३ भ्रातृ संस्थामध्ये नेपाल महिला संघ, नेपाल मुस्लिम संघ र नेपाल मगर संघले मात्रै निर्धारित समयमा महाधिवेशन गरेका छन्। बाँकी १० भ्रातृ संस्थामध्ये अधिकांशले निर्धारित समय गुजारेको वर्षौँ बितिसक्दा पनि नेतृत्व हस्तान्तरण गरेका छैनन्।

कांग्रेसका तीन भ्रातृ संगठन नेपाल किसान संघ र नेपाल आदिवासी–जनजाति संघले १७ वर्षदेखि, भूतपूर्व सैनिक संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र राष्ट्रिय लोकतान्त्रिक अपांग संघले १३ वर्षदेखि र नेपाल दलित संघले १० वर्षदेखि महाधिवेशन गरेका छैनन्।

अध्यक्ष उमा रेग्मीलाई सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेसँगै महिला संघ पनि नेतृत्वविहीन छ। 

दलित संघका अध्यक्ष मीन विश्वकर्माले भने गत भदौमै राजीनामा दिएका थिए। कांग्रेस विधानमा भ्रातृ संगठनको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनित भए निजको भ्रातृ संगठनको पद स्वतः रिक्त हुने व्यवस्था छ।

फागुनको निर्णयअनुसार केन्द्रीय तदर्थ समिति गठन गरेर भ्रातृ संगठनहरु चलायमान बनाउन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा प्रयासरत छन्। 

उनीहरुले सोमबार सभापति देउवासँग भेट गरेर भ्रातृ संगठनहरु चलायमान बनाउन तदर्थ समिति गठन गर्न आग्रह गरेका छन्।

छलफलपछि महामन्त्री शर्माले आफूहरुले भ्रातृ संगठनहरुलाई पूर्णता दिनेबारे सभापति देउवासँग कुराकानी गरेको प्रतिक्रिया दिएका थिए। 
‘हामीले पार्टीका विभाग गठन, भ्रातृ संस्थाको पूर्णता, केन्द्रीय कार्यसमिति बैठक र पार्टीको आगामी रणनीतिबारे छलफल गरिरहेका छौँ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .