ad ad

राजनीति


बागमती प्रदेशका ७ स्थानमा बालेन्द्र अगाडि

काठमाडौं महानगरले छुने प्रदेशसभाका १८ स्थानमध्ये ७ मा बालेन्द्र पहिलो
बागमती प्रदेशका ७ स्थानमा बालेन्द्र अगाडि

केशव सावद
असार ५, २०७९ आइतबार १०:५८, काठमाडौँ

बैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनले देखाएको तथ्य हो, काठमाडौं महानगरपालिकामा बालेन्द्र शाहसँग ६१ हजार ७६७ मत छ । यो मत आगामी चुनावमा बागमती प्रदेशसभातर्फ डोलायमान भयो भने के होला ?

काठमाडौं महानगरपालिकाले काठमाडौं जिल्लाका ९ वटा संसदीय निर्वाचन क्षेत्रलाई छुन्छ । निर्वाचन क्षेत्र नम्बर १० मात्रै महानगरपालिकाले छुँदैन ।

महानगरपालिकाले बागमती प्रदेशसभाका १८ वटा निर्वाचन क्षेत्रलाई छुन्छ । अर्थात् बालेन्द्रले महानगरपालिकामा पाएको ६१ हजार बढी मतले बागमती प्रदेशसभाका १८ सीटलाई प्रभावित बनाउने क्षमता राख्छ ।

स्थानीय तह निर्वाचनको मत परिणामलाई आधार मान्दा काठमाडौँ महानगरका वडाहरु समेटिएका काठमाडौँ जिल्लाका १८ प्रदेशसभा निर्वाचन क्षेत्रमा स्वतन्त्रको प्रभाव देखिएको हो। प्रभाव अवस्था स्वतन्त्रले जितेका धनगढी र धरानमा पनि हुन सक्छ ।

देशैभरिका सातवटा प्रदेशसभामा समानुपातिकतर्फ २२० सीट छन् । प्रदेश १ मा ३७, मधेस प्रदेश ४३, गण्डकीमा २४, लुम्बिनीमा ३५, कर्णालीमा १६ र सुदूरपश्चिम प्रदेशमा २१ जना समानुपातिक प्रदेश सांसद रहने संवैधानिक व्यवस्था छ ।

सात प्रदेशका कूल ५५० सांसदमध्ये प्रत्यक्षतर्फ ३३० सिट छन् । प्रत्यक्षतर्फ प्रदेश १ मा ५६, मधेसमा ६४, बागमतीमा ६६, गण्डकीमा ३६, लुम्बिनीमा ५२, कर्णालीमा २४ र सुदूरपश्चिम प्रदेशमा ३२ जना गरी ३३० सिट रहने संवैधानिक व्यवस्था छ ।

काठमाडौँका ८ संसदीय निर्वाचन क्षेत्रमा बालेन्द्र तेस्रो, एउटामा पहिलो

‘स्वतन्त्र पार्टी’ले कति सिट जित्ला समानुपातिक?

बालेन्द्रलाई जिताउने टिमले थाल्यो संसदीय चुनावको ‘होमवर्क’

बुटवलमा स्वतन्त्र उम्मेदवारी अभियानको भेला, दल दर्ताका विषयमा दुई मत

स्वतन्त्रको भेलामा पूर्वकम्युनिस्टदेखि राजावादीसम्म सहभागी

काठमाडौंका १८ प्रदेशसभाको विश्लेषण
काठमाडौं महानगरपालिकाको प्रमुखमा विजयी बालेन्द्र शाहले प्राप्त गरेको मतका आधारमा विश्लेषण गर्दा काठमाडौँका १८ मध्ये ७ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा स्वतन्त्रको अग्रता देखिन्छ।

स्थानीय निर्वाचनको परिणामलाई आधार मानेर विश्लेषण गर्दा काठमाडौँ–१ का ‘क’ र ‘ख’, काठमाडौँ–२ को ‘क’, काठमाडौँ–४ को ‘क’,  काठमाडौँ–५ को ‘क’, काठमाडौँ–७ को ‘क’ र काठमाडौँ– ९ ‘क’ मा स्वतन्त्र पहिलो स्थानमा देखिएको छ।

स्थानीय तह निर्वाचनको जनमतकै आधारमा प्रदेशसभा निर्वाचनमा पनि मत खस्ने हो भने काठमाडौँका ७ प्रदेशसभामा स्वतन्त्रले जित हात पार्ने सम्भावना देखिन्छ। स्थानीय निर्वाचनको परिणामले सत्तारुढ नेपाली कांग्रेस ६ र प्रमुख प्रतिपक्षी नेकपा एमाले ५ प्रदेशसभा निर्वाचनमा अगाडि देखिएका छन्।

जसअनुसार कांग्रेस काठमाडौँ–२ ‘ख’, काठमाडौँ–३ ‘क’, काठमाडौँ–६ ‘ख’, काठमाडौँ–७ ‘ख’, काठमाडौँ–८ ‘ख’ र काठमाडौँ–९ ‘ख’ मा पहिलो बनेको छ। यस्तै काठमाडौँ–३ ‘ख’, काठमाडौँ–४ ‘ख’, काठमाडौँ–५ ‘ख’ काठमाडौँ–६ ‘क’ काठमाडौँ–८ ‘क’ मा एमालेलाई मत परिणामले अगाडि देखाएको छ।

स्थानीय तह निर्वाचनको मत परिणामअनुसार काठमाडौँ महानगरका १०, ११ र २९ नम्बर पर्ने निर्वाचन क्षेत्र नम्बर १ ‘क’ मा स्वतन्त्रको पक्षमा ५ हजार ५१६ मत खसेको छ। यो क्षेत्रमा कांग्रेसले ४ हजार ३३ र एमालेले ३ हजार ८२८ मत पाएका छन्।

महानगरको वडा नम्बर ३१ म पर्ने काठमाडौँ–१ ‘ख’ मा दोस्रो स्थानमा देखिएको कांग्रेसभन्दा स्वतन्त्रको पक्षमा ३ हजारभन्दा बढी मत खसेको छ। यो क्षेत्रमा स्वतन्त्रले ९ हजार ६७४, कांग्रेसले ६ हजार ५१६ र एमालेले ४ हजार ७९४ मत पाएको छ।

महानगरका ९ र ३२ नम्बर वडाको भूगोल समेटेर निर्धारण गरिएको काठमाडौँ–२ ‘क’ मा स्वतन्त्रको पक्षमा निकटतम् प्रतिद्वन्द्वी कांग्रेसले पाएको मतभन्दा झण्डै साढे ५ हजार मत बढी खसेको छ। यो क्षेत्रमा स्वतन्त्रले ८ हजार ८३३, दोस्रो देखिएको कांग्रेसले ३ हजार ३५१ र तेस्रो देखिएको एमालेले २ हजार ६८६ मत पाएको छ।

शंखरापुरा नगरपालिकाको सम्पूर्ण भूगोल र कागेश्वरी मनोहरा नगरपालिकाका ४, ५, ६, ७, ८ र ९ नम्बर पर्ने काठमाडौँ–२ ‘ख’ मा कांग्रेस पहिलो देखिएको छ। यो क्षेत्रमा कांग्रेसले एमालेभन्दा ३२ सयभन्दा बढी मत पाएको छ। यहाँ कांग्रेसले १३ हजार १४२ र एमालेले ९ हजार ९१० मत पाएका छन्।

महानगरको वडा नम्बर ६ तथा गोकर्णेश्वर नगरपालिकाका ५ र ९ नम्बर वडा समेटिएको काठमाडौँ–३ ‘क’ मा पनि कांग्रेस पहिलो स्थानमा देखिएको छ। स्थानीय तह निर्वाचनको परिणामअनुसार कांग्रेसले ४ हजार ६७४ मत ल्याएको छ। यहाँ स्वतन्त्रको पक्षमा ३ हजार ४६७ मत आएको छ। तेस्रो स्थानमा देखिएको एमालेले २ हजार ७४८ मत पाएको छ।

गोकर्णेश्वर नगरपालिकाका १, २, ३, ४, ६, ७, ८ र कागेश्वरी मनोहरा नगरपालिकाका १, २, ३ नम्बर वडा समेटेर काठमाडौँ–३ ‘ख’ निर्धारण गरिएको छ। स्थानीय तह निर्वाचनको मत परिणाम विश्लेण गर्दा यो प्रदेशसभा निर्वाचन क्षेत्रमा एमाले पहिलो देखिएको छ। यहाँ एमालेले ११ हजार १४९ र कांग्रेसले ९ हजार ४५४ मत पाएको छ।

स्थानीय तह निर्वाचनअनुसार नै आगामी निर्वाचनमा मत खसे काठमाडौँ–४ ‘क’ मा स्वतन्त्र उम्मेदवार विजयी हुने देखाएको छ। महानगरका १, ७, ८ र ३० नम्बर वडा समेटेर निर्धारण गरिएको यो क्षेत्रमा दुई ठूला दल कांग्रेस–एमालेभन्दा स्वतन्त्रको पक्षमा ४ हजारभन्दा बढी मत आएको छ।

स्थानीय तह निर्वाचनमा काठमाडौँ–४ ‘क’ अन्तर्गत पर्ने वडाहरुबाट स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ७ हजार ९४०, कांग्रेस उम्मेदवार सिर्जना सिंहले ३ हजार ९२२ र एमाले उम्मेदवार केशव स्थापितले ३ हजार २४५ मत पाएका थिए।

बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ नम्बर वडाको भूगोल मिलाएर काठमाडौँ–४ ‘ख’ निर्धारण गरिएको छ। यो प्रदेशसभा निर्वाचन क्षेत्रमा एमाले कांग्रेसभन्दा झण्डै ३ हजार मतले अगाडि देखिएको छ। यहाँ एमालेले ११ हजार ४०५ र कांग्रेसले ८ हजार ६८० मत पाएका छन्।

स्थानीय तह निर्वाचनअनुसार नै आगामी निर्वाचनमा मत खसे काठमाडौँ–५ ‘क’ मा पनि स्वतन्त्र उम्मेदवार विजयी हुने देखिएको छ। महानगरका २, ४ र ५ नम्बर वडा समेटेर निर्धारण गरिएको यो क्षेत्रमा कांग्रेस–एमालेभन्दा स्वतन्त्रको पक्षमा ३ हजारभन्दा बढी मत खसेको मत परिणामले देखाएको छ।

स्थानीय तहको परिणामअनुसार यहाँ स्वतन्त्र पहिलो, एमाले दोस्रो र कांग्रेस तेस्रो स्थानमा छन्। काठमाडौँ–५ ‘क’ मा पर्ने महानगरका वडाहरुबाट स्वतन्त्र उम्मेदवार शाहले ६ हजार ६८२, एमाले उम्मेदवार स्थापितले ३ हजार ७३१ र कांग्रेस उम्मेदवार सिंहले २ हजार ७५१ मत प्राप्त गरेका थिए।

काठमाडौँ–५ ‘ख’ मा भने एमाले अगाडि देखिएको छ। यहाँ एमालेको पक्षमा १० हजार ९८४, कांग्रेसको पक्षमा ९ हजार ६८५ र स्वतन्त्र उम्मेदवार शाहको पक्षमा २ हजार ३२६ मत खसेको थियो। महानगरको ३, बूढानीलकण्ठका ३, ४, ५, ६, ७ तथा टोखाका २, ३, ४, ५, ६ र ७ नम्बर वडा समेटेर काठमाडौँ–५ ‘ख’ निर्धारण गरिएको छ।

मत विश्लेषणमा काठमाडौँ–६ ‘क’ मा एमाले र ‘ख’ कांग्रेस बलियो देखिएको छ। महानगरका २६, २७, २८ तथा टोखाका ९ र १० नम्बर वडा समेटिएको ‘क’ मा एमालेले ४ हजार ९५०, कांग्रेसले ४ हजार ४८८ र स्वतन्त्रले ३ हजार ७२५ मत पाएका देखिएको छ।

यस्तै ‘ख’ मा कांग्रेसले ९ हजार ९१५ र एमालेले ७ हजार ७१५ मत पाएका छन्। टोखा नगरपालिकाका १, ८ र ११ तथा तारकेश्वर नगरपालिकाका १, २, ६, ७, ८, ९, १० र ११ नम्बर वडा समेटेर प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ‘ख’ निर्धारण गरिएको छ।

स्थानीय तह निर्वाचनअनुसार नै आगामी निर्वाचनमा मत खसे काठमाडौँ–७ ‘क’ मा पनि स्वतन्त्र उम्मेदवार विजयी हुने देखिएको छ। यो क्षेत्रमा स्वतन्त्रको पक्षमा ७ हजार १८ मत खसेको थियो।

यहाँ दोस्रो भएको एमालेले ५ हजार ६४ र तेस्रो भएको कांग्रेसले ४ हजार ७६६ मत पाएको देखिएको छ। महानगरका १६, १७, १८ र २५ नम्बर वडा समेटेर काठमाडौँ–७ ‘क’ निर्धारण गरिएको छ।

नागार्जुन नगरपालिकाका १, २ र ३ तथा तारकेश्वर नगरपालिकाका ३, ४ र ५ नम्बर वडा पर्ने काठमाडौँ–७ ‘ख’ मा भने कांग्रेस झिनो मतले अगाडि देखिएको छ। स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा पर्ने वडाहरुबाट कांग्रेसले एमालेभन्दा मात्र १३० मत बढी पाएको छ। यहाँ कांग्रेसले ५ हजार ७५६ र एमालेले ५ हजार ६२६ मत पाएका छन्।

महानगरका वडाहरुमात्रै समटेर प्रदेशसभा निर्वाचन क्षेत्र निर्धारण गरिएका स्थानमध्ये काठमाडौँ–८ ‘क’ मा भने एमाले पहिलो देखिएको छ। यहाँ एमालेले ४ हजार ६२६ मत पाउँदा स्वतन्त्रको पक्षमा ४ हजार ६५ र कांग्रेसको पक्षमा ४ हजार ४४ मत खसेको स्थानीय तह निर्वाचनको परिणामले देखाएको छ। महानगरका १३, १९, २०, २३ र २४ वडा मिलाएर यो क्षेत्र निर्धारण गरिएको छ।

महानगरका वडाहरुमात्रै समटेर प्रदेशसभा निर्वाचन क्षेत्र निर्धारण गरिएको काठमाडौँ–९ ‘क’ मा भने स्वतन्त्रको पक्षमा बढी मत खसेको देखिएको छ। यो क्षेत्रमा महानगरका १२, १४, २१ र २२ नम्बर वडा पर्दछन्। स्थानीय तह निर्वाचनमा स्वतन्त्रले यहाँ ५ हजार ९४८, एमालेले ५ हजार २२० र कांग्रेसले ४ हजार ८५२ मत ल्याएका थिए।

काठमाडौँ–८ ‘ख’ र काठमाडौँ–९ ‘ख’ मा कांग्रेस पहिलो देखिएको छ। कंग्रेसको पक्षमा काठमाडौँ–८ ‘ख’ बाट ३ हजार ४२३ र काठमाडौँ–९ ‘ख’ बाट ११ हजार २६६ मत खसेको थियो। एमालेले काठमाडौँ–८ ‘ख’ बाट २ हजार ८१९ र काठमाडौँ–९ ‘ख’ बाट १० हजार ८२७ मत पाएको छ।

महानगरको १५ र नागार्जुनका ४ र ५ नम्बर वडा समेटेर काठमाडौँ–८ ‘ख’ बनाइएको छ। स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा पर्ने महानगरको १५ नम्बर वडाबाट स्वतन्त्र उम्मेदवार शाहले २ हजार ८० मत पाएका थिए। काठमाडौँ–९ ‘ख’ मा चन्द्रागिरि नगरपालिकाका १, १२, १घ, १४, १५ र नागार्जुन नगरपालिकाका ६, ७, ८, ९, १० नम्बर वडाहरु पर्दछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .