ad ad

राजनीति


सैन्य गठबन्धन र राजस्व सेटिङले गठबन्धन अलोकप्रिय : शंकर पोखरेल

‘प्रधानमन्त्रीमा ५ वर्ष ओलीको विकल्प छैन’
सैन्य गठबन्धन र राजस्व सेटिङले गठबन्धन अलोकप्रिय : शंकर पोखरेल

सुदीप भण्डारी
असार १, २०७९ बुधबार १५:४१, बुटवल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गठबन्धन सरकार पछिल्लो समय थप अलोकप्रिय बन्दै गएको बताएका छन्। उनले पछिल्लो केही दिन यताका गतिविधिले सरकार जनतामाझ अलोकप्रिय बन्दै गएको उल्लेख गरे। 

प्रेस चौतारी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पोखरेलले एमाले आगामी चुनावमा बलियो हुने आधार देखिएको तर्क गरे।

‘पार्टी विभाजन गरेको र चौतर्फी घेराबन्दीमा परेको बेला हामीले जनाधार बढायौं भने अबको समयमा सरकारले के गरेको छ भन्ने कुरा पलपल देखिँदै छ’ उनले भने, ‘राजस्वमा सेटिङ गरेको कुरा बाहिर आएको छ। मूल्यवृद्धि, सैन्य गठबन्धन यो सबै चिजको मुकाविला गर्ने हो एक्लै एमालेले चुनाव जित्न सक्छ।’

५ दल एकातिर उभिँदा पनि एमालेले जितेको वा दोस्रो भएको भन्दै एक्लै गठबन्धन पराजित गर्ने योजनाका साथ एमाले अघि बढेको पोखरेलले बताए। 

आवश्यक परेको ठाउँमा तालमेल हुन सक्ने उनले बताए। अहिलेको जस्तो गठबन्धनको सरकार बनाएर देश निर्माण गर्न नसकिने पोखरेलको भनाइ छ। 

महासचिव पोखरेलले केपी ओली नै चुनावपछि एमालेको तर्फबाट प्रधानमन्त्री हुने बताए। उनले आगामी ५ वर्ष ओलीको विकल्प सोच्न नसकिने उल्लेख गरे।

चुनावपछि प्रधानमन्त्री को भन्ने प्रश्नमा पोखरेलले भने, ‘भरखरै हामीले चितवनमा त्यतिका भव्य जनताको सहभागितामा दसौं राष्ट्रिय महाधिवेसन गरेर नेतृत्व चयन गरेका छौं। एक वर्ष पुगेको छैन। नेतृत्वको प्रश्न आउँछ र? ५ वर्षपछि प्रश्न आएको भए मैले के गर्ने भन्थेँ।’ 

पोखरेलले असंलग्नताको नीति विपरित सैनिक गठबन्धनको अंग बन्ने कुरा एमालेलाई स्वीकार्य नहुने बताए। नेपाली जनता कुनै पनि प्रकारको सैन्य गठबन्धनको पक्षमा नभएको उनको भनाइ छ।

देउवाको अमेरिका भ्रमण प्रधानमन्त्रीको रुपमा नभई रक्षामन्त्रीको रुपमा हुन लागेको चर्चा भएको भन्दै त्यसले प्रधानमन्त्री पदको गरिमामा आघात पुग्ने पोखरेलको तर्क छ। 

लुम्बिनीका पूर्व मुख्यमन्त्रीसमेत रहेका पोखरेलले सरकारका मन्त्रीहरुका बारेमा सार्वजनिक रुपमा टिकाटिप्पणी भइरहँदा प्रदेश सरकार बेखबर हुन नमिल्ने बताए। 

विमला ओलीको विषयमा प्रसंग उल्लेख नगरी उनले भने, ‘कानून हातमा लिने अधिकार कसैलाई छैन। सरकारमा रहेका मान्छेहरु चाहिँ स्वभाविक रुपमा कानूनी व्यवस्थाप्रति जिम्मेवार हुनुपर्छ। जनताले न्याय सबैको लागि हुन्छ भन्ने कुराको अपेक्षा गर्छन्।’ 

आफू नेतृत्वको प्रदेश सरकार हुँदा सतप्रतिसत पुँजीगत खर्च गर्न सफल भएको भन्दै पोखरेलले विकास निर्माणका काममा अहिलेको सरकार कमजोर सावित भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .