राजनीति


कांग्रेसका प्रवक्ता भन्छन् : एसपीपी सैन्य गठबन्धन होइन, चुनाव हारेपछि बढाइचढाइ गरियो

कांग्रेसका प्रवक्ता भन्छन् : एसपीपी सैन्य गठबन्धन होइन, चुनाव हारेपछि बढाइचढाइ गरियो

फाइल फोटो


नेपालखबर
जेठ ३१, २०७९ मंगलबार १४:१४, काठमाडौँ

नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले  अमेरिका र नेपालबीच हुन लागेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता कुनै सैन्य एलाइन्स नभएको बताएका छन्। 

चुनाव हारेपछि प्रतिपक्षले यसलाई बढाइचढाइ गरेर प्रोपोगान्डा शुरु गरेको डा. महतले प्रतिक्रिया दिएका छन्। 

अमेरिका र नेपालबीच हुन लागेको एसपीपी सम्झौतालाई लिएर देशमा तीव्र बहस सुरु भएको छ। 

सरकारले राष्ट्र हितविपरीत सम्झौता गर्न लागेको विपक्षीको आरोप छ। तर, सत्तारुढ नेपाली कांग्रेसका नेता डा. महतले भने एसपीपी सम्झौताको बचाऊ गरेका छन्।  

‘एसपीपी कुनै विशेष प्रोग्राम हो जस्तो लाग्दैन। यो कुनै एलाइन्स होइन,’ कांग्रेस प्रवक्ता महतले नेपालखबरसँग भने, ‘नेपालमा एउटा प्रवृत्ति छ, त्यही प्रवृत्तिले उछालेको हो। एमसीसी पनि पारित नहोस् भन्ने थियो नि! चुनावमा हारेपछि बढाइ–चढाइ गरिराखिएको छ। यसलाई देखाएर अर्को देशको खिलाफमा जान खोजियो भनेर प्रोपोगान्डा गरेको हो। एसपीपी त्यस्तो केही होइन।’

नेपाली कांग्रेस भारत, चीन र अमेरिकासँग राम्रो सम्बन्धको पक्षमा रहेको डा. महतले बताए । 

उनले भने,‘नेपाली कांग्रेस चीन र भारतसँग सहयोगको सम्बन्ध चाहन्छ। हामी हाम्रो भूमि कुनै पनि देशका लागि प्रयोग हुन दिन्नौँ। अमेरिकाले नेपाललाई किन सहयोग गर्यो, उसको सहयोग किन लिएको भन्न मिल्दैन। हामी आवश्यकताअनुसार अनुदान लिन्छौँ। ऋण लिनै परे सहुलियतपूर्ण ऋण लिने नीति छ।’

अमेरिका र नेपालबीच दुई देशका सैन्य अधिकारीहरुको भ्रमण र सहयोग आदान–प्रदान हुँदै आएको बताउँदै डा. महतले अमेरिकी सहयोगलाई स्वागत गर्नुपर्ने बताए ।

डा. महतले नेपालखबरसँग कुरा गर्दै भने, ‘सेनाका जर्नेलहरूको भ्रमण आदान– प्रदान हुँदै आएको छ। हामी सबैसँग सम्भावनाका आधारमा सम्बन्ध राख्छौँ। देशको स्वार्थ र आवश्यकताका आधारमा सहयोग लिने हो। अमेरिकाले दिने सहयोगको स्वागत गर्छौँ। अरु देशले दिने सहयोग पनि हामी स्वागत गर्छौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .