ad ad

राजनीति


एमाले विवाद : घनश्यामलाई डन्डा, अन्तर्घातीलाई उन्मुक्ति

हारको चोट एकातिर, प्रहारको निशाना भुसालतिर
एमाले विवाद : घनश्यामलाई डन्डा, अन्तर्घातीलाई उन्मुक्ति

ज्ञानेन्द्र खड्का
जेठ २२, २०७९ आइतबार २०:५०, काठमाडौँ

स्थानीय तह निर्वाचनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हिसाब थियो–हामी ६० देखि ७० प्रतिशत पालिका जित्छौँ।

महासचिव शंकर पोखरेलले पनि सार्वजनिकरुपमै पटक–पटक त्यही हिसाब सुनाए। ‘जित्ने नै एमालेले हो’, ओली चुनावी कार्यक्रममा भन्थे, ‘एमालेको जस्तो जनाधार र तलसम्म संगठन भएको अर्को पार्टी नै छैन।’

तर, वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेले ८४ स्थान गुमाउँदै २०५ स्थानीय तहमा मात्रै जित पक्का गर्यो। एमालेलाई दोस्रोमा झार्दै कांग्रेसलाई पहिलोमा पुर्याउन माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि भूमिका खेल्यो।

कांग्रेस नेतृत्वको सत्ता गठबन्धनसँग तालमेल गरेको समाजवादीकै कारण थोरै मतान्तरसहित एमालेले ५४ स्थान गुमाएको छ।

२०७४ को पहिलो दल एमालेलाई दोस्रो स्थानमा खुम्च्याउने क्रममा नेपाली कांग्रेसले ३३० बढी स्थानीय तह जित्यो। तर, कांग्रेसले सयभन्दा धेरै सिटसहित पहिलो स्थान पक्का गर्दा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु अझै हार स्वीकार्न तयार छैनन्।

आफ्नै कारण हार?

स्थानीय तह निर्वाचन परिणाम अन्तिम चरणमा पुग्दै गर्दा गत जेठ १२ गते संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनले भन्दा आफ्नै कारणले नतिजा राम्रो नआएको तर्क गरे।

संसदीय दलको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताको अभिव्यक्तिले हार स्वीकार्न तयार नरहेको स्पष्ट सन्देश दिएको थियो।

बैठकलाई सम्बोधनका क्रममा उनले पार्टी पंक्ति बलियो हुँदा पनि अन्तर्घातका कारण धक्का व्यहोर्नुपरेको बताएका थिए।

अध्यक्ष ओलीले आफ्नै दलबाट असहयोग हुँदा परिणाम सोचे जस्तो नआएको कुरा बैठकमा राखे। त्यसपछि जेठ १९ मा बसेको जनसंगठन समन्वय संयन्त्रको बैठकमा पनि उनले पार्टीभित्रकै अनुशासनहीनताले केही जनमत गुमाउनुपरेको बताए।

ओलीले पार्टी नेता र कार्यकर्ता पंक्तिले निष्ठा गुमाउँदा केही जनमत गुमाउनु परेको बताए।

‘स्थानीय तहमा जस्तो अनुशासन र निष्ठा गुमाउने काम नगरौँ’, उनले भने, ‘हामी स्थानीय तह निर्वाचनमा अरुले गर्दा कमजोर भएका होइनौँ, आफ्नै कारणले जनमत गुमायौँ।’

घनश्यामको आक्रमण

ओली र भुसालको द्वन्द्व नयाँ होइन। एमालेको नवाैँ महाधिवेशनबाट अध्यक्षमा ओली विजयी भए तर विचार भने भुसालको पास भयो। त्यसयता ओली र भुसालबीच निरन्तर तिक्ततापूर्ण सम्बन्ध छ।

यो द्वन्द्वको निरन्तरता चितवनको भरतपुरमा भएको १० औँ महाधिवेशन देखियो। भरतपुरमा उद्घाटन सत्र सकेर सौराहामा बन्द सत्र चलिरहँदा ओली आफ्नो नेतृत्वमा सर्वसम्मत नयाँ कमिटी छान्न चाहन्थे। तर भीम रावल र घनश्याम भुसालहरू प्रतिस्पर्धामा जान डराउन नहुने पक्षमा थिए।

ओलीको सहमतिको सूचीमा नअटाएका भुसालले सौराहास्थित बन्दसत्रको मञ्चमै उक्लिएर आफूहरुलाई प्रतिस्पर्धामा जान दिन अनुनय गरेका थिए। नभन्दै अध्यक्षको प्रतिस्पर्धामा उत्रिएका रावल र उपाध्यक्षमा उठेका भुसाल पराजित भए।

एमाले छाडेर माधव नेपाल र झलनाथ खनाल नयाँ पार्टीतिर तथा वामदेव गौतम घरमै बसेपछि ओलीको दबदबा रहेका बेला रावल र भुसालले निरन्तर प्रश्न उठाइरहेका छन्।

महाधिवेशनमा पराजित भए पनि स्थायी कमिटीमा मनोनीत भएका भुसाल ओलीको आलोचना गरिरहे पनि स्थानीय निर्वाचनका लागि आफ्नो क्षेत्रमा खटिए।

उनी आफ्नो निर्वाचन क्षेत्रअन्तगर्तको तिलोत्तमा नगरसहितको क्षेत्रमा एमालेलाई जिताउन यो पटक खटिएका थिए।

उनले तिलोत्तमाकै चुनावी अभियानमा भनेका थिए, ‘महाभारत युद्धमा कौरव र पाण्डवबीचको लडाईं जस्तै अहिलेको स्थानीय निर्वाचनमा एमाले पाण्डवको भूमिकामा छ। महाभारतको लडाईं पाण्डवले जितेजस्तै स्थानीय निर्वाचन एमालेले जित्छ।’

महाभारतमा जस्तै स्थानीय निर्वाचन पनि एमालेका लागि सत्य र न्यायको लागि भएको भुसालले बताएका थिए। यद्यपि तिलोत्तमको मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाँण विजयी भए। यहाँ भुसालनिकट एमालेका मोहन चापागाईं पराजित भए। उपमेयरमा भने एमालेकी जगेश्वरी देवी चौधरी विजयी भइन्।

निर्वाचन परिणाम आएसँगै एमाले दोस्रो स्थानमा खुम्चिएपछि भुसालको मत थियो, यसको नैतिक जिम्मेवारी अध्यक्ष ओलीले लिनुपर्छ।

उनले यही कुरा केही दिनअघि हिमालय टेलिभिजनको ‘यक्ष प्रश्न’मा संवाद कार्यक्रममा पनि उठाए। उनको त्यही टिप्पणीलाई लिएर केशव बडालको नेतृत्वको अनुशासन समितिले भुसाललाई कारबाही गर्न नेतृत्वसमक्ष सिफारिस गरेको छ।

बडाल तिनै नेता हुन्, जो हरेक टेलिभिजन अन्तवार्तामा अर्का अतिथिसँग कुटपिटको तहमै उत्रिन्छन्। पछिल्लोपटक प्राइम टेलिभिजनको संवाद कार्यक्रममा पनि उनी राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको नाकमै हात पुर्याउँदै उत्तेजक शैलीमा देखिएका थिए।

भुसालले उक्त टेलिभिजन कार्यक्रममा गत भदौ २३ गतेदेखि संसदमा गरेको अवरोध कुनै कारण नदिइ जेठ ३ गतेदेखि फिर्ता लियो। यो प्रसंगमा भुसालको तर्क थियो, ‘संसद् अवरुद्ध गर्नुपर्ने पक्षमा कमरेड केपी शर्मा ओलीबाहेक अरु कोही देखिन।’

उनले दुई पटकसम्म ओलीले गरेको संसद विघटनलाई ठूलो गल्ती भने।

‘जे नहोस् भनेका थियौं त्यही भयो’, उनले भने, ‘त्यसका लागि मैले गाली पनि खाएको छु।’

भुसालले ओलीमाथि प्रहार गर्दै संसद विघटनको कदम गलत थियो भन्ने कुरा यो संविधान बाँचुन्जेललाई स्थापित भइसकेको अर्को तर्क गरे। उनले सर्वोच्च अदालतले पनि संसद विघटनलाई गलत थियो भन्ने कुरा स्थापित गरिसकेकाले त्यसलाई स्वीकार्नुपर्ने अर्को तर्क गरे।

उनले नेकपा विघटन भएर एमाले पुनःस्थापित हुँदा ओलीकै बहुमत हुँदा पनि माधव नेपालसहितको अल्पमत समूहलाई प्रवेश नदिएर अर्को गल्ती गरेको तर्क पनि उक्त टेलिभिजन संवादमा गरेका थिए।

भुसालले दुई दुई पटकको संसद विघटन, एमाले विभाजन र १० बुँदेलाई नेतृत्वले बेवास्ता गर्दाको परिणाम अहिलेका निर्वाचनबाट देखिएको तर्क पनि गरेका थिए।

भुसालले आफू र भीम रावलसहितले सौराहमा प्रतिस्पर्धा गर्न खोज्दा रोकिएको पनि उल्लेख गरे। सौराहा महाधिवेशनको बन्द सत्रमा चुनावको चुनावको नाटक मात्रै मञ्चन भएको अर्को गम्भीर कुरा भुसालले उठाए। त्यही महाधिवेशनमा अध्यक्ष ओलीले रावल र आफूसहितलाई भाेट नदिन भनेको कुरा पनि स्मरण गरे।

भुसालले सामूहिक नेतृत्वमा विश्वास गर्ने एमालेभित्र ओलीलाई सर्वशक्तिमान बनाउँदा अर्को गल्ती भएको बताए।

‘कमरेड ओलीसँग सबै ज्ञान छ, सर्वशक्तिमान हुनुहुन्छ भन्दा हामीले बाटो बिरायौँ’, भुसालको तर्क थियो, ‘त्यहीकारण पछिल्लो समय एमाले देखिनै छाड्यो। देखिए त केबल कमरेड केपी ओलीका ठूला ठूला तस्बिर।’

उनले अझै पनि एमालेलाई जोगाउन सकिने बताए। पार्टी भीरको मुखमा पुगे पनि बचाउन सकिने सम्भव रहेको तर्क गरे। तर त्यसका लागि सही मूल्याङ्कन आवश्यक रहेको उनको भनाइ थियो।

भीरमा पुगेको पार्टीलाई जोगाउने हो भने अध्यक्ष अब बुद्धि पु¥याएर कोतपर्वमा पुग्ने प्रयास रोक्न सकिने उनको तर्क थियो। नत्र ठूलो दुर्घटनाको दृश्य आफूले देखेको भन्दै भुसालले चिन्ता जनाए।

भुसालले ओलीमाथि चुनावी हारको जिम्मेवारी लिन पनि दबाब दिए। ओलीले हारको कारण अन्तर्घात भएको जिकिर गरिरहँदा भुसालले भने माधव नेपालले जस्तै जिम्मेवारी लिएर नेतृत्वबाट बाहिरिन तयार हुनुपर्ने भुसालको तर्क छ।

भुसालले जिल्ला जिल्लामा केही कार्यकर्तालाई कारबाही भइरहेको संकेत गर्दै अब हारको कारण एमालेले माथि अर्थात् केपी ओलीबाटै खोजेर जिम्मेवार बनाउनुपर्ने बताए।

ओलीको त्यो बोली

बुटवलमा २०६५ मा भएको आठौँ महाधिवेशनबाट एमाले अध्यक्ष बनेका झलनाथ खनाल २०६७ माघमा प्रधानमन्त्री भएका थिए।

पार्टीमा कारवाही अघि बढिरहँदा १२ वर्षअघि झलनाथ प्रधानमन्त्री हुँदा ओलीले राजीनामा मागेको भिडिओ भुसालले नै शनिबार सामाजिक सञ्जालमा सेयर गरेका छन्।

सार्वजनिक मञ्चबाटै आफ्नै पार्टीका अध्यक्षले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने माग ओलीले त्यसबेला गरेका थिए। खनालको आलोचना गरेकै कारण ओलीलाई कारवाहीको सिफारिस नभएको तर्क भुसालले गरेका छन्।

यही प्रसंगमा एकजना एमाले कार्यकर्ताले भुसालका कुरामा सहमत हुन नसके पनि ओलीकै वरिपरि घुम्नेहरुका कारण पार्टीले क्षति भोगेको तर्क गरेका छन्।

‘कमरेड भुसालका धेरै कुरामा म सहमत हुन सक्दिनँ। तर हामीले सबै जित्छौँ ‘बा’ भन्दै बालकोट वरिपरि घुमेर बसेर चुनावको मुखमा जिल्ला झरेर पार्टीका उमेदवार हराउन लागिपरेको आरोप लागेकालाई अनुशासन आयोगले स्पष्टीकरण सोध्ने कि फरक विचार राख्ने भुसाललाई सोध्ने?’, ती एमाले कार्यकर्ताले प्रश्न गरेका छन्, ‘हाम्रो पार्टीमा विचारको बहस चल्नुपर्छ, सबैले आफ्ना तर्क राख्न पाउनुपर्छ। विचारको नाममा पार्टीलाई घात, अन्तर्घात भयो भने त्यो सह्य हुनुहुँदैन।’

फरक विचार राख्दैमा अनुशासन आयोगले निगरानी बढाउने हो भने सबैलाई कारवाही गर्नुपर्ने अवस्था आउने तर्क ती एमाले कार्यकर्ताको छ। उनले अनुशासन आयोगकै भूमिकामा पनि प्रश्न उठाइदिएका छन्।

चुनावी हारको जिम्मा कसको?

भुसालमाथि अनुशासनको डण्डा चलाउनै लाग्दा एमालेले अहिलेसम्म निर्वाचनमा हारको समीक्षा गर्न सकेको छैन।

पोखरा, बुटवल, हेटौंडा र दमकसहित कयौँ स्थानमा अध्यक्ष ओलीले नै अन्तर्घात भएको बताइरहँदा आयोगका अध्यक्ष बडाल भने औपचारिक रुपमा पार्टीमा छलफल नै नभएको बताउँछन्।

स्थानीय निर्वाचनमा एमाले आफ्नो गढ मानिएका हेटौँडा, पोखरा, बुटवल, काठमाडौंसहितका ठूला सहर गुमाएको छ। अर्थात् महानगरमा कतै पनि एमालेले आफ्नो पक्षमा नतिजा निकाल्न सकेन।

‘दशौँ महाधिवेशनमा प्रतिस्पर्धा गरिसकेको मान्छेले टेलिभिजनमा ४७ मिनेटसम्म पार्टी अध्यक्षविरुद्ध बोल्नु भनेको गम्भीर अनुशासन उलंघन हो’, उनी भन्छन्, ‘यही कुरालाई ढाकछोपका लागि अहिले अन्तर्घातको प्रसंग झिकिएको हो। तर पार्टीभित्र यसबारेमा औपचारिक रुपमा यसबारे कुनै छलफल नै भएको छैन।’

बडालले पार्टीविरुद्ध टिभीमा बोलिसकेपछि संगठनमा प्रश्न उठेको बताए। ‘पार्टीमा प्रश्न उठेपछि अनुशासन आयोगको बैठकबाट केन्द्रीय कमिटीमा पत्र लेखेका छौँ’ बडालले भने, ‘पार्टीमा अन्तर्घातबारे केही आएको छैन। भुसाल कमरेडबाट गम्भीर गल्ती भएको हाम्रो निष्कर्ष हो।’

पोखराको त्यो नारा

भुसालविरुद्ध अनुशासनको डन्डा चल्दै गर्दा पोखरामा गत जेठ ११ गते उपयमेयर जितेकी मञ्जु गुरुङको विजय जुलुसमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङविरुद्ध एमाले कार्यकर्ताको नाराबाजी पुरानो भएको छैन।

उपमहासचिव गुरुङलाई अन्तर्घातीको संज्ञा दिँदै एमालेकै कार्यकर्ताले चर्को नाराबाजी गरेका थिए। जहाँ एमालेका कृष्ण थापा उपमहासचिव गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीको द्वन्द्वको पनि शिकार हुन पुगेका थिए।

गण्डकीमा एमाले संसदीय दलका नेतासमेत रहेका गुरुङले बधाई कार्यक्रममा बोल्दै गर्दा कार्यकर्ताको नारा थियो, ‘अन्तर्घाती होसियार’, ‘अन्तर्घाती मुर्दावाद’, ‘अडियो–भिडिओ काण्ड सार्वजनिक गर’ भनेका थिए।

पोखराको मेयरमा एमालेका कृष्ण थापाको हारमा पृथ्वीसुब्बाको हात रहेको आरोप छ। कार्यकर्ताले सार्वजनिक रुपमा प्रश्न उठाए पनि उनीसहितका नेताहरुमाथि नेतृत्वले प्रश्न गरेको छैन।

अर्कातिर मेयरमा पराजित थापालाई टिकट नदिन र त्यसपछि हराउन लागेको भन्दै संगठन विभाग प्रमुख अधिकारीसँग पनि कार्यकर्ताहरु रुष्ट थिए।

कृष्ण थापा पराजित भएपछि पोखरा महानगरपालिकाको निर्वाचनमा अन्तर्घात गरेको भन्दै एमालेले स्थानीय तीन नेतामाथि कारबाही गरिसकेको छ।

एमालले कास्की जिल्ला कमिटीका अध्यक्ष मनबहादुर गुरुङका अनुसार ३३ नं वडा कमिटीका उपाध्यक्ष महेश अर्याललाई कमिटीबाट हटाइएको छ।

पोखरा–२१ का मनोज पहारी र ३३ का प्रशान्त आचार्यलाई संगठित सदस्यताबाट निलम्बन गरिएको छ। उनीहरु उपमहासचिव गुरुङनिकट मानिन्छन्। मेयरमा पराजित थापालाई हराउन उनीहरुले बनाएको अडियो टेप भाइरल भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .