ad ad

राजनीति


क्याप्टेन प्रभाकर : मुस्ताङको कुहिरोमै बिलाए ३० वर्ष उडान भरेका अनुभवी पाइलट

क्याप्टेन प्रभाकर : मुस्ताङको कुहिरोमै बिलाए ३० वर्ष उडान भरेका अनुभवी पाइलट

सागर न्यौपाने
जेठ १६, २०७९ सोमबार ९:२, काठमाडौँ

शनिबारमात्र प्रभाकर प्रसाद घिमिरेले तारा एयरबाट जोमसोमका लागि चारवटा उडान भरेका थिए ।

शनिबार जोमसोम–पोखरा र पोखरा–जोमसोम गर्ने यात्रुको संख्या धेरै थियो। त्यही भएर तारा एयरको ट्वीनअटर विमानबाट यात्रुलाई पोखरा लाने र जोमसोम पु¥याउन शनिबार दिनभर क्याप्टेन प्रभाकर खटिए।

एक त १९ सिटे ट्वीनअटर विमान, त्यसमाथि नेपालको पहाडी भूबनोट। पोखरा–जोमसोम, लुक्ला जस्ता छिनछिनमै बदलिरहने मौसम भएका एयरपोर्ट। त्यही जोखिम मानिने रुटमै वर्षौंदेखि सुरक्षित विमान उडाइरहेका थिए–क्याप्टेन प्रभाकरले।

पहाडी भेगमा निकै अनुभवी र खारिएका मात्र होइनन्, उनी प्रशिक्षक पाइलट पनि हुन्। त्यही भएर प्रभाकरले यात्रुको चाप भएको दिन एकैदिन तीन/चारवटा उडान भर्छन्। शनिबार पनि त्यही गरे।

आइतबार पनि बिहानैदेखि जोमसोम जाने यात्रुहरु पोखरा एयरपोर्टमा जम्मा भइसकेका थिए।

प्रभाकरले को–पाइलट उत्सव पोखरेललाई लिएर पहिलो उडान जोमसोम उडाउने तयारी गरे। पोखराको मौसम राम्रो भए पनि जोमसोमको मौसम बदलिनसक्ने कुरा प्रभाकरलाई थाहा थियो।

किनभने, ३० वर्षदेखि उनले त्यस क्षेत्रमा उडान भरेका थिए।

कुनबेला कहाँको मौसम बदलिन्छ, कसरी रुट परिवर्तन गर्नुपर्छ, कुनबेला समस्या प¥यो भने फिर्ता हुने यी सबै कुराका जानकार थिए प्रभाकर।

निकै खारिएका र अनुभवी पाइलट मात्र होइनन् उनी, सफल उडान भर्ने क्याप्टेन पनि हुन्। नागरिक उड्डयनको सुरक्षा क्षेत्रमा समेत काम गरिसकेका उनी नियम र कानुन पालना गरेर विमान उडाउने पाइलटका रुपमा नेपालका पाइलटमाझ परिचित छन्।

उनले धेरै पाइलटलाई तालिम र सुरक्षाको सीप पनि सिकाएका छन्। तर, आइतबारको उडान भरेको केहीबेरमै प्रभाकरले उडाएको विमान वेपत्ता भयो। उनीसहित ३ क्रु–मेम्बर र १९ यात्रु दुर्घटनामा परे।

प्रभाकरसँग संगत गरेका नेपाल एयरलाइन्सका क्याप्टेन उद्धव घिमिरे प्रभाकरलाई सम्झँदै भन्छन्, ‘निकै सोच विचार गरेर विमान उडाउने सफल पाइलट हो उहाँ।’

‘नेपालका पहाडी भेगहरुमा उडान भर्नु साँच्चिकै कठिन कार्य हो’, उद्धव घिमिरेले नेपालखबरसँग भने, ‘क्याप्टेन प्रभाकर निकै सोचविचार गरेर उडान गर्नुहुन्थ्यो। एकदमै अनुभवी, सुरक्षित उडान गर्न सक्ने उहाँको क्षमता थियो, उहाँले सधैँ मौसम हेरेर मात्र विमान उडाउनुहुन्थ्यो।’

नेपाल एयरलाइन्सका पाइलट उद्धव प्रभाकरलाई निकै मौसम विचार गर्ने पाइलट ठान्छन्। 

‘मौसम नहेरी पेलेर चलाउन खोजे त्यसो नगर भनेर अरुलाई सिकाउने पाइलट हो उहाँ,’ उद्धव भन्छन्, ‘आफैँ पनि एकदमै मौसम विचार गर्ने, नियम कानुन फलो गर्ने पाइलट हुनुहुन्थ्यो।’

आइतबार प्रभाकरका लागि जम्मा एउटा उडान जोमसोम भर्नु थियो। विहानको फ्लाइट गर्ने समय मौसमका कारण दुईघण्टा ढिला भयो। उनले विमानलाई ९ः५५ मा मात्र उडाए।

तर, विमान उडेको १२ मिनेटमै मुस्ताङको थासिङ गाउँपालिका माथि पुगेपछि कुहिरोमा फस्यो, प्रभाकरले केही फन्का लगाएर बादलबाट विमान निकाल्ने प्रयास गरे, तर सकेनन्।

अनुभवी पाइलट प्रभाकरले उडाएको तारा एयरको नाइन एन एइटी कल साइन विमान डाँडामा ठक्कर खाएर दुर्घटनाग्रस्त भयो। र, यो दुर्घटनासँगै अनुभवी सिनियर पाइलट प्रभाकर पनि अस्ताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .