ad ad

राजनीति


एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताको परीक्षा

प्रभु र टोपबहादुरले बाजी मारे, लेखराज र बादल बिलाए
एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताको परीक्षा

सागर न्यौपाने
जेठ १४, २०७९ शनिबार १०:४६, काठमाडौँ

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपा सर्वाेच्च अदालतले २३ फागुन ०७८ मा  भंग गरिदियो। दुई पार्टी पूर्ववत् अवस्थामा फर्किएपछि नेताहरु पनि पुरानै पार्टीमा रहन थाले।

तर, माओवादी केन्द्रका नेताहरुमध्ये रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा र प्रभु साह लगायतका १७ नेता माओवादीमा फर्केनन्। उनीहरुले ८ जनालाई फेरि माओवादीबाट एमालेमा प्रवेश गराए।

एमालेको दसौँ राष्ट्रिय महाधिवेशनले बादललाई उपाध्यक्ष बनाएको छ भने भट्ट र रायमाझीलाई सचिवमा निर्वाचित गरेको छ। २५ जना पूर्वमाओवादी नेताहरुलाई एमालेको केन्द्रीय सदस्य बनाइएको छ।   

पूर्वमाओवादी नेताहरुलाई एमालेको महाधिवेशनबाटै उचित जिम्मेवारी दिन सफल भएपछि एमालेले नेकपाको निरन्तरता भन्दै प्रचार गर्‍यो।

स्थानीय तहको निर्वाचनमा आइपुग्दा पूर्वमाओवादीका कुन नेताको शक्ति कति रहेछ भन्नेसमेत परीक्षण भएको छ।

बादलको प्रभाव शून्य

भरतपुरको चुनावी परिणामलाई हेर्ने हो भने माओवादीबाट एमाले बसेकामध्ये बादल कमजोर मात्र होइन, निरीहजस्तै देखिएका छन्।

चितवनको भरतपुर महानगरपालिकामा बादलले कुनै भूमिकै खेल्न नसकेको एमालेका नेताहरु बताउँछन्।

बादल चितवन क्षेत्र नम्बर २ का मतदाता हुन् । त्यहाँबाट ०६४ को संविधानसभा निर्वाचन जितेका उनी त्यसपछि भने चुनाव लडेका छैनन् ।

२०७० को संविधान सभा निर्वाचन बहिस्कार अभियानमा उनी मोहन वैद्यसँग थिए । ०७४ मा प्रचण्ड नै उठ्ने भएपछि उनले पालै पाएनन् ।

भरतपुर महानगरपालिका गुञ्जनगरमा पुरानो घर भए पनि बादल प्रायः भरतपुर १० मा रहेको भाइको घरमा बस्छन्। चोकबहादुर थापा, इन्द्र थापा बादलका भाइ छन् । उनीहरु कोही १०, कोही २ र कोही १२ नम्बर वडामा बस्छन् ।

स्थानीय निर्वाचनका लागि बादल बैशाख २४ गते भरतपुर ओर्लिए। २५ बैशाख क्याम्पाचौरमा भएको चुनावी सभामा सम्बोधन गर्न बाहेक उनी अन्यत्र खासै सक्रिय भएनन्।

स्थानीय निर्वाचनमा बादलले मत हालेको वडा पनि एमालेले हार्यो। भरतपुर महानगरमा एमाले १२ हजार बढी फराकिलो मतान्तरले माओवादी केन्द्रकी रेनु दाहाल निर्वाचित भइन्।

‘बादलको चितवनमा केही प्रभाव नै भएन, उनको व्यक्तिगत मत त ५ सय पनि रहेनछ,’ चितवनका एक एमाले नेताले नेपालखबरसँग भने, ‘बादलले न संगठन बनाए, न मत थप्नै सके।’

अर्का एमालेका नेताले बादल महानगरमा निकै कमजोर भएको बताए। ‘माओवादी पृष्ठभूमिको कुनै पनि मत हामीतिर तान्न नसक्ने पनि के नेता ?, ती नेताले असन्तुष्टि जनाउँदै भने, ‘पार्टीको उपाध्यक्ष जस्तो नेताको महानगरमा उम्मेदवार विजय सुवेदीको पक्षमा माहोल नै बनाउन सक्नुभएन।’

सुदूरपश्चिममा भट्टको परीक्षा

एमालेका सचिव तथा सुदूरपश्चिम इञ्चार्ज भट्टकै निर्वाचन क्षेत्रमा एमाले नमज्जासँग पराजित भयो। उनले आफ्नो पालिकामा समेत ‘जादु चलाउन’ सकेनन्।

भट्ट कैलालीको क्षेत्र नम्बर ४ बाट निर्वाचित संघीय सांसद हुन्। उनको निर्वाचन क्षेत्रमा पर्ने गोदावरी नगरपालिका मात्र होइन, वडा पनि एमाले हार्यो।

गोदावरी नगरको प्रमुखमा कांग्रेसका वीरेन्द्र भट्ट निर्वाचित भए। भट्टका सहोदर भाइ गोकर्ण भट्टलाई ४ हजार २७७ मतको फराकिलो अन्तरले हराउँदै कांग्रेसका वीरेन्द्र भट्ट निर्वाचित भए। नगरमा कांग्रेसले ७ वटा वडा जित्यो भने एमालेले ४ वडा जित्यो। एउटा वडा स्वतन्त्र उम्मेदवारले जिते।

तीन महिना मिहिनेत गरें : टोपबहादुर

एमाले सचिव रहेका टोपबहादुर रायमाझीले एमालेलाई अर्घाखाँचीमा बलियो बनाए। उनको निर्वाचन क्षेत्र अर्घाखाँची नै हो।

एमालेले सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, मालारानी नगरपालिका प्रमुख दलबहादुर भट्टराई र पाणिनि गाउँपालिका अध्यक्षमा टेकराज न्यौपाने विजयी भएका छन्। यी तीनै पालिका जिताउने महत्वपूर्ण भूमिका आफ्नो भएको रायमाझीले बताए।

‘तीन महिना मैले मिहेनत गरेँ, तीनवटै पालिकामा राम्रै मत बढाएको थिएँ, चुनाव पनि जितियो,’ रायमाझीले नेपालखबरसँग भने, ‘कांग्रेस गढ ध्वस्त बनाउनु, पाँचदलीय गठबन्धन नै हराउन चानचुने सफलता होइन।’

चुनावकै बेलामा उनी १५ दिन अर्घाखाँचीमै बिताएको दाबी गर्छन्। ‘हाम्रो क्षेत्र बच्यो, एमाले जोगाइयो र मत ३ गुणा बढाइयो, यसले संघीय निर्वाचनमा मलाई सजिलो भएको छ,’ उनले थपे।

२०७४ मा एमालेले १ पालिका मात्र जितेको थियो। अर्घाखाँचीमा पनि माओवादी शून्य बनाउन सफल भएको रायमाझीले बताए।

छत्रदेव गाउँपालिका र शीतगंगा नगरपालिकामा एमालेले उपप्रमुख जितेको छ। ‘पाँच उपमेयरसहित ५ पालिकामा बहुमत संख्या जितेर समन्वय समिति बनाउन सक्ने भएका छौँ,’ उनले थपे,अध्यक्ष जित्नैपर्ने रहेछ अब एकलौटी गर्न सक्छौं।’

एमालेमा रहेर आफूलाई कमजोर ठान्नेलाई जवाफ दिएको उनले बताए। संघीय निर्वाचनका लागि अहिलेभन्दा अझै मिहेनत गर्नुपर्ने उनको भनाइ छ।

अर्घाखाँचीमा जस्तै रौतहटमा एमाले नेता प्रभु साहले एमालेलाई सफलता दिलाएका छन् । उनी मौलापुर नगरपालिकाको प्रमुखमा आफ्नै श्रीमती रीनाकुमारी साहलाई दोहोर्याएर जिताउन सफल भए। त्यस्तै गरुडा नगरपालिकामा कन्थमणिप्रसाद कलवार र देवाही गोनाही नगरपालिका प्रेमलाल साह कानुलाई पनि जिताउन सफल भए।

रौतहटमा माओवादी केन्द्र शून्य भयो, जसमा प्रभुको भूमिका रहेको माओवादीकै नेताहरु स्वीकार गर्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .