सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलालीमा नेकपा एमालेले विरासत गुमाएको छ।
सत्ता गठबन्धन र कारागारमा आजीवन कैदी जीवन बिताइरहेका सांसद रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले कैलालीमा एमालेको विरासतमा धक्का लागेको छ।
कैलालीमा एक उपमहानगरपालिका, ५ नगरपालिका र ७ गाउँपालिका गरेर १३ वटा स्थानीय तह छन्।
नेकपा एमालेले ०७४ सालको स्थानीय तह चुनावमा १३ पालिकामध्ये ६ पालिकामा प्रमुख उपप्रमुख दुवै जितेर पहिलो शक्ति बनेको थियो। तर, यसपटक एमाले तेस्रो स्थानमा झरेको छ।
संघीयतापछिको दोस्रो पटक भएको स्थानीय तह चुनावमा एमालेले २ पालिकामा प्रमुख र ३ पालिकामा उपप्रमुख मात्रै जितेको छ।
यसपटक एमालेले चुरे गाउँपालिका र बर्दगोरिया गाउँपालिकामा प्रमुख तथा लम्कीचुहा नगरपालिका, धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकामा उपमेयर जितेको छ।
०७४ सालमा प्रमुख उपप्रमुख दुवै जितेका ४ पालिका गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिका, मोहन्याल गाउँपलिका र गौरीगंगा नगरपालिका एमालेले गुमाएको छ। यी पालिकामा एमाले यसपटक प्रमुख उपप्रमुख कुनै पद पनि जित्न सकेन।
यस्तै प्रमुख र उपप्रमुख दुवै जितेका लम्कीचुहा नगरपालिकामा यसपटक उपप्रमुख मात्रै र चुरे गाउँपालिकामा एमालेले प्रमुख मात्रै जित्न सकेको छ।
नागरिक उन्मुक्तिको उदय
सत्तागठबन्धनलाई पराजित गर्दै कैलालीमा नागरिक उन्मुक्ति पार्टीको उदय भएको हो।
टीकापुर घटनालाई लिएर आजीवन जेल जीवन बिताइरहेका सांसद रेशम चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएर गठन गरिएको पार्टीले गत १९ पुसमा दलको मान्यता पाएको थियो।
गठन भएको तीन महिनामै यो पार्टीले कैलालीमा सत्ता गठबन्धन र एमालेलाई उछिन्दै बलियो उपस्थिति देखाएको छ। जिल्लामा ठूलो शक्तिमा रुपमा नागरिक उन्मुक्ति पार्टी उदाएको हो।
नागरिक उन्मुक्ति पार्टीले कैलालीका ४ स्थानीय तहमा बाजी मारेको छ। उसले भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिकामा प्रमुख उपप्रमुख दुवै र टीकापुर नगरपालिका मेयर जितेको छ।
वि.सं.२०७२ सालमा टीकापुरमा ८ जना सुरक्षाकर्मी र एक बालकको हत्या घटनामा दोषी ठहर भएर कैलालीका सांसद चौधरी जेल जीवन बिताइरहेका छन्।
कैलालीमा कांग्रेसले ३ पालिका प्रमुख, एमाले र माओवादीले २/२, समाजवादी र स्वतन्त्रले १/१ पालिका प्रमुख जितेको छ।
यस्तै, कांग्रेसले ५ पालिकाको उपप्रमुख, एमाले र नागरिक उन्मुक्ति पार्टीले ३/३ र माओवादीले २ पालिकाको उपप्रमुखमा बाजी मारेको छ।
गठबन्धन ‘असफल’
कैलालीमा सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावी गठबन्धन गरेका थिए। तर चुनावी नतिजाले गठबन्धन सफल हुन नसकेको देखिन्छ।
धनगढी उपमहानगरपालिकामा सत्ता गठबन्धन मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल र उपमेयरमा एमालेकी कन्दकला रानासँग पराजित भएको छ।
केन्द्रको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको एकमात्रै धनगढी उपमहानगरपालिकाको मेयर कांग्रेसले पाएको थियो।
यस्तै, कैलालीका अन्य १२ वटा स्थानीय तहमध्ये भागबण्डामा कांग्रेसले ६ वटा स्थानीय तहको प्रमुख पाएको थियो।
यसरी भागबण्डामा कांग्रेसले पाएका ७ पालिका प्रमुखमध्ये २ मा मात्रै जित निकाल्न सकेको छ।
धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, लम्कीचुहा नगरपालिका, टीकापुर नगरपालिका, बर्दगोरिया गाउँपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकामा कांग्रेसले प्रमुखमा पाएको थियो।
तीमध्ये लम्कीचुहा नगरपालिका र गोदावरी नगरपालिकामा कांग्रेसले जित हासिल गरेको छ।
प्रमुख माओवादीको भागमा परेको कैलारीको गठबन्धन भाँडिएको थियो। त्यहाँ कांग्रेसले ‘क्लिन स्वीप’ गरेको छ।
यससँगै कांग्रेसले कैलालीमा यसपटक ३ पालिकाको प्रमुख जितेको छ। ०७४ मा कांग्रेसले ४ पालिका टीकापुर नगरपालिका, धनगढी उपमहानगरपालिका, जोशीपुर गाउँपालिकामा प्रमुख उपप्रमुख दुवै र बर्दगोरिया गाउँपालिका प्रमुख जितेको थियो
कांग्रेसले भागबण्डामा पाएका ६ पालिकाको उपप्रमुखमध्ये ५ जित निकालेको छ।
माओवादी र समाजवादी उस्तै
सत्ता गठबन्धनको भागबण्डा अनुसार पाएका केही पालिकामा माओवादी र एकीकृत समाजवादीले पनि जित हासिल गर्न सकेनन्।
माओवादीले भागबण्डामा ४ पालिका गौरीगंगा नगरपालिका, भजनी नगरपालिका, कैलारी र मोहन्याल गाउँपालिकाको प्रमुख पाएको थियो। तीमध्ये कैलारीमा गठबन्धन कायम रहन सकेन।
अन्य पालिकामध्ये माओवादीले २ पालिका गौरीगंगा नगरपालिका र मोहन्याल गाउँपालिकामा मात्रै प्रमुख जितेको छ। यस्तै ५ पालिका उपप्रमुख पाएको माओवादीले ३ पालिकामा मात्रै विजयी भयो।
उता चुरे गाउँपालिका र घोडाघोडी नगरपालिकाको प्रमुख भाग परेको एकीकृत समाजवादीले घोडाघोडीमा मात्रै जितेको छ।
Shares

प्रतिक्रिया