राजनीति


तिलोत्तमामा एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा, हारजितको अनुमान गर्नै कठिन

तिलोत्तमामा एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा, हारजितको अनुमान गर्नै कठिन

सुदीप भण्डारी
जेठ ८, २०७९ आइतबार १७:२४, बुटवल

बुटवल र भैरहवाको बीचमा रहेको तिलोत्तमा नगरपालिकाको मतगणना चलिरहँदा नतिजा कसको पक्षमा आउला भन्ने अनुमान कठिन भएको छ। 

रुपन्देहीका १६ मध्ये १४ वटा पालिकाको नतिजा आइसकेको छ। अब कोटइमाई गाउँपालिका र तिलोत्तमा नगरपालिकाको नतिजा मात्र आउन बाँकी छ। 

तिलोत्तमाको मेयरको लागि नेपाली कांग्रेसबाट रामकृष्ण खाँण र एमालेबाट मोहन चापागाईँ प्रतिस्पर्धामा छन्। 

कांग्रेस रुपन्देहीका जिल्ला सभापति समेत रामकृष्ण गृहमन्त्री बालकृष्णका भाइ हुन्। चापागाईँ पत्रकारिता पृष्ठभूमिबाट आएका हुन्। उनी पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा पूर्व जिल्ला अध्यक्ष हुन्। 

मतगणनाको सुरुदेखि नै कतिखेर रामकृष्णले अनि कतिखेर मोहनले अग्रता लिइरहेका छन्। शनिवार बेलुका मोहन ७३ मतले अघि थिए भने आइतबार विहान रामकृष्णले ७८ मतले अग्रता लिएका थिए। अहिले उनी ३५७ मतले अघि छन्।

उपमेयरमा भने एमालेकी जागेश्वरीदेवी चौधरीले भने गठबन्धनबाट माओवादी केन्द्रका  हेमन्त पाण्डेसँग ५ हजार बढीको फराकिलो अग्रता बनाएकी छन्। 

तिलोत्तमा कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाण र एमाले नेता घनश्याम भुसालको गृहनगर हो। २०७० सालको संविधान सभाको चुनावको मत गणनामा पनि अहिलेका रामकृष्ण र मोहनको जस्तै प्रतिस्पर्धा देखिएको थियो। 

त्यसबेला तत्कालीन रुपन्देही ३ बाट बालकृष्णले घनश्यामलाई सयभन्दा कम मतान्तरले नै पछि पराजित गरेका थिए। 

तर मेयरको थोरैको अन्तर अनि कहिले एउटा र कतिखेर अर्को अघि पछि हुँदा तिलोत्तमाको नजिता कठिन बनेको छ। तिलोत्तमामा कुल ६४ हजार ६२० मत खसेको छ। छिमेकी बुटवल उपमहानगर भन्दा यहाँ २ हजार बढि मत खसेको हो। 

जसमध्ये आइतबार विहानसम्म २८ हजार २७१ मत गणना भएको छ। अझै ३५ हजार बढि मत गन्न बाँकी छ। 

मतगणनामा विवाद हुँदा गत मंगलबार र बुधबार गणना रोकिएको थियो। त्यसैले पनि नतिजा आउन ढिलाइ भएको हो। तिलोत्तमामा अहिलेसम्म ६ वटा वडाको गणना सकिएको छ। 

त्यसमध्ये १ र १५ मा एमालेले वडाध्यक्ष जितेको छ। अघिल्लो पटक एमालेले जितेको २ र ३ नम्बर यो पटक कांग्रेसले लगेको छ। पहिले आँफैले जितेको १६ र १७ नम्बर वडामा पनि अहिले कांग्रेस विजयी भएको छ। 

अहिले ४, ५, १३ र १४ को गणना भइरहेको छ। गणना भएका मध्ये ४ मा एमाले अगाडि छ। ५, १३ र १४ मा कांग्रेस अघि देखिएको छ। 

 ६, ७, ८, ९, १०, ११, १२ को गणना सुरु भएको छैन। सुरु नभएका वडा मध्ये अघिल्लो पटक ९ र १० नम्बर वडा कांग्रेसले जितेका वडा हुन भने। बाँकीमा एमाले विजयी भएको थियो। 

गणना सकिएको र जारी रहेका वडामा कांग्रेस अगाडी रहेपनि मेयरको मतगणनामा भने तिब्र प्रतिस्पर्धा छ। 

दुबै तर्फ क्रस भोट आइरहेको र परिणाम पनि फेरबदल भएको हुँदा नतिजा अहिले नै अनुमान गर्न कठिन रहेको एमाले जिल्ला सदस्य सुरेन्द्र श्रीले बताए। 

‘कतिपय वडामा एमालेका वडा सदस्य आउने र वडाध्यक्ष पछाडि परेको देखिएको छ। वडाध्यक्षलाई मत दिएर मेयरलाई मत नदिएको पनि देखिएको छ,’ उनले भने ‘एक पक्षले ५ सय हजारले लिड गरिरहेको भए एउटा अनुमान हुन्थ्यो। ४ घण्टा अघि एउटा ४ घण्टापछि अर्को अगाडि जस्तो भइरहेको छ। यसले नगर प्रमुखमा कम मतले नै छिनोफानो हुन्छ होला।’ 

यस पटक मतदाताले फरक किसिमले आफ्नो अभिमत प्रकट गरेको श्रीले बताए। 

अहिलेसम्म वडामा राम्रो नजिता ल्याएको भएपनि कांग्रेसले पनि जितिन्छ भनेर ढुक्क हुने अवस्था छैन। क्रस भोटको मार बढी कांग्रेसकै उम्मेदवारले भोग्नुपरेको गणनामा कांग्रेस २ क का पूर्व क्षेत्रीय सभापति माधवलाल देवकोटाले बताए। 

‘वडाहरू हामीले धेरै जितिन्छ, तर मेयरमा भन्न सकिने अवस्था छैन,’ उनले भने  ‘एमालेको प्यानल भोट बढी आएको छ। क्रस भोट कम छ। वडालाई आएर पनि कतिपय भोट मेयरलाई गएको छैन।’  

मतदानअघि एमालेले ३ हजारदेखि ३५ सयको अन्तरले मेयर जितिने अनुमान गरेको थियो। 

कांग्रेसले एक हजार मतले जित्ने हिसाबकिताब निकालेको थियो। जुन जुन वडामा जसरी हिसाब निकालिएको थियो। त्यसअनुसार मत नआएको दुवै पक्षका कार्यकर्ताले बताएका छन्। त्यसैले तिलोत्तमामा मोहन चापागाईँ वा रामकृष्ण खाँण कसले जित्छ भन्न मुस्किल भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .