ad ad

राजनीति


जेलबाटै खोलिएको रेशम चौधरीको पार्टीले जित्यो चार पालिका

जेलबाटै खोलिएको रेशम चौधरीको पार्टीले जित्यो चार पालिका

फाइल फोटो


केशव सावद
जेठ ७, २०७९ शनिबार १३:३२, काठमाडौँ

निर्वाचन आयोगले गत पुस १९ गते ‘नागरिक उन्मुक्ति पार्टी’ लाई नयाँ दलका रुपमा मान्यता दियो। 

उक्त दलकी अध्यक्ष थिइन्– रञ्जिता श्रेष्ठ। सुरुमा यो दल कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीको नाममा दर्ता गर्ने तयारी थियो।

टीकापुर नरसंहारका मुख्य दोषी भनिएका चौधरी डिल्लीबजार कारागारमा रहेका कारण तयारी सम्भव नभएपछि उनकी श्रीमती रञ्जिताले आफ्नो नाममा दल दर्ता गराएकी थिइन्।  

‘ठूला राजनीतिक दल, आफू आवद्ध मधेसवादी दलबाट केही पनि निकास निस्केन। मधेशवादी दलले पनि कुनै पहल गरेको देखिएन। अब अरूको हातबाट हुन्न, अखण्ड सुदूरपश्चिमको राजनीतिक मुद्दा बन्यो तर थारूको बनेन,’ दल दर्ताका लागि आयोग परिसरमा उनले भनेकी थिइन्, ‘त्यसैले नयाँ दल स्थापना गरेर थारूहरूको पहिचान बनाउने, अरूको झोला नबोक्ने निष्कर्षका साथ पार्टी गठन गर्न लागिएको हो।’

दल दर्ता भएपछि रञ्जिताले गृहनगर टीकापुर क्षेत्रका थारु अगुवासँगको छलफल र भेटघाटलाई तीव्रता दिन थालिन्। उनले आउँदै गरेको स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर राजनीतिक गतिविधि बढाइन्। 

नवगठित दल ‘नागरिक उन्मुक्ति पार्टी’ ले आसन्न स्थानीय तह निर्वाचन लड्न थालनी गरेको तयारीलाई ठूला दलका नेता–कार्यकर्ताहरुले ‘हलुका’ का रुपमा लिए। 

थारु समुदाय रेशमको नाममा उनकी श्रीमती रञ्जिताको पछि नलाग्ने अधिकांशको बुझाई थियो।   

ठूला दलका नेता–कार्यकर्ताले ‘नागरिक उन्मुक्ति पार्टी’ का राजनीतिक गतिविधिलाई सामान्य रुपमा लिए पनि रञ्जिता कैलालीको दक्षिण पूर्वी ग्रामीण क्षेत्रमा व्यस्त रहिन्। थारु समुदायलाई आफ्नो पक्षमा तान्न उनले त्यहाँ आफूलाई सक्रिय बनाइन्।   

दल दर्ताको छोटो समयमै रञ्जिताले स्थानीय तह निर्वाचनका लागि टीकापुर र भजनी नगरपालिका तथा जोशीपुर र जानकी गाउँपालिकामा पार्टीका उम्मेदवार खडा गरिन्। 

रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ। फाइल तस्बिर

यसैबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरीले ‘नागरिक उन्मुक्ति पार्टी’ लाई ‘दोकान’को संज्ञा दिए। निर्वाचन अगाडि चौधरीले गरेको टिप्पणीबारे मतपरिणाम सार्वजनिक हुँदै गर्दा सामाजिक सञ्जालमा चर्चा हुन थाल्यो। 

चर्चामा ल्याएका थिए दाङका पत्रकार कृष्ण सर्वहारीले। उनले शुक्रबारमात्रै फेसबुकमा लेखेका छन्, ‘कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामजनम चौधरीले चुनावमा सबैले दुकान थाप्ने क्रमसँगै रेशम चौधरीले पनि दुकान थापेको तर उनको दुकान नचल्ने अभिव्यक्ति दिएका थिए। तर रेशमको नागरिक उन्मुक्ति पार्टीले जनकराज (चौधरी, कांग्रेस सुदूरपश्चिम उपसभापति) र रामजनमको वडा मात्रै होइन, तिनको जोशीपुर गाउँपालिका नै कब्जा गरिदियो। हाल राजनीतिलाई कम प्राथमिकता दिइ गाउँमै होटल चलाएर बसेका रामजनमको होटल त चल्यो तर राजनीतिक दुकान चल्न सकेन।’

पत्रकार सर्वहारीले यो टिप्पणी गर्नुको कारण ‘नागरिक उन्मुक्ति पार्टी’ ले निर्वाचनमा पाएको सफलता थियो। उक्त पार्टीले तीन स्थानीय तहमा विजय प्राप्त गरेर चौथो तह कब्जा गर्ने निश्चित भएपछि उनले यस्तो टिप्पणी गरेका थिए। 

कांग्रेस नेता चौधरीले पनि आफूले रञ्जिताको पार्टीलाई ‘दोकान’ भनेर टिप्पणी गरेको स्वीकार गरे। तर, उनले नेपालखबरसँगको टेलिफोन कुराकानीमा आफ्नो टिप्पणीलाई केही तोडमोड गरिएको पनि दाबी गरे। 

‘सबै ठाउँमा दोकान छन्। कहीँ ठूला दोकान छन्, कहीँ साना दोकान छन्,’ नेता चौधरीले भने, ‘जनताले कहाँ सामान किन्छन् हेर्न बाँकी छ भनेको हुँ।’ 

उनले उक्त कुरा सार्वजनिक सभामा नभएर एक सञ्चारगृहका पत्रकारलाई प्रतिक्रिया दिने क्रममा भनेको पनि जानकारी दिए।  

यद्यपि, चौधरीले ‘दोकान’ को संज्ञा दिएको रञ्जिताको दल चार पालिकामा नेतृत्वमा पुगेको छ। मतपरिणाम अनुसार उक्त दल टीकापुर र भजनी नगरपालिकामा प्रमुख तथा जोशीपुर र जानकी गाउँपालिकामा अध्यक्षमा विजयी भएको छ।   

टीकापुर नगरपालिका प्रमुखमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा ९ हजार ६४२ मतका साथ विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नवराज रावलले ६ हजार ६४२ मत पाएका छन्। 

भजनी नगरपालिका प्रमुखमा केवल चौधरी ८ हजार ९६६ मतले निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार शेरबहादुर चौधरीले ५ हजार १९८ मत ल्याएका छन्। 

चुनावका बेला टीकापुरको दृश्य

‘नागरिक उन्मुक्ति पार्टी’ का चित्रबहादुर चौधरी ४ हजार ९०३ मतसहित जोशीपुर गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बन्सराम बडायकले ३ हजार ३६८ मत प्राप्त गर्दा राप्रपाका भीमबहादुर बमले ३ हजार १८९ पाएका छन्। 

जानकी गाउँपालिकामा उक्त पार्टीका तर्फबाट पत्रकार गणेश चौधरी विजयी भएका छन्। कान्तिपुर दैनिकमा आवद्ध उनी राजीनामा दिएर निर्वाचनमा होमिएका थिए। चौधरी ७ हजार १५१ मतसहित गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन्। 

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका परशुराम महतो (कठरिया) ले ५ हजार २४२, एमालेका टेकबहादुर बमले ४ हजार २४१ मत ल्याएका छन्। 

कांग्रेस नेता चौधरी ‘नागरिक उन्मुक्ति पार्टी’ यो जीतलाई ‘इमोसनल ब्ल्याकमेलिङ’ को रुपमा टिप्पणी गर्छन्।

‘इमोसनल ब्ल्याक मेल गरेको हो। उनी (रेशम) सँगै जेलमा परेकाहरूबारे कुनै कुरा उठ्दैन,’ नयाँ दलको जति कसरी सम्भव भयो भन्ने प्रश्नमा उनले भने, ‘ऊबारे कुरा गर्दा अरुकाबारे कसैले भन्दैन। रेशमभन्दा अरु दुःखमा छन्। परिवारको कस्तो बिचल्ली छ। हामीले उठाउँदा जनताले पत्याउँदैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .