एपेन्डिसाइटिसको अप्रेसन गरेर स्वास्थ्य लाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले भेट गरेकी छन्।
प्रधानमन्त्री ओलीलाई भेट्न राष्ट्रपति भण्डारी बिहीबार साँझ ७ः४० बजे शिक्षण अस्पताल पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन्। ओलीको स्वास्थ्य अवस्थमा भइरहेको सुधारप्रति राष्ट्रपति भण्डारीले खुशी व्यक्त गरेको अस्पतालले आज साँझ जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान ९ बजे मनमोहन अस्पताल पुर्याइएको थियो ।
विशेषज्ञ चिकित्सकको टोलीले परीक्षण गर्दा उनलाई ‘एपेन्डिसाइटिस’का साथै ‘पेरिटोनाइटिस’ (पेटको संक्रमण) समेत देखिएपछि लगत्तै ‘ल्यापरोटोमी’ (पेटलाई पूरा चिरेर गरिने शल्यक्रिया) र ‘एपेन्डेक्टोमी’ (एपेन्डिसाइटिस हटाउने शल्यक्रिया) गरिएको थियो।
अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यमा गुणात्मक सुधार भइरहेको जानकारी दिएको छ।
प्रतिक्रिया