महोत्तरीको पीपरा गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार विक्रम चौधरीको घर पछाडी बम बिस्फोट भएको छ।
मंसिर १४ गते महोत्तरीको पिपरा गाउँपालिकामा हुन लागेको उपनिर्वाचनमा नेकपाका अध्यक्ष पदका उमेदवार चौधरीको गाउँपालिका–४ स्थित पिपरा बजारमा रहेको घरपछाडी बिहीबार अपरान्ह बम बिस्फोट भएको हो।
चुनाव प्रचारप्रसार कार्यालय समेत रहेको उक्त घरपछाडी प्रेसर कुकर बम विष्फोट भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए। उनका अनुसार पौने पाँच बजेको समयमा घर नजिकै भएको बम बिस्फोटले शौचालयको ढोका, घरको झ्यालमा क्षति पुगेको छ।
विष्फोटबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। सो विस्फोट विप्लव समुहले गराएको हुन सक्ने प्रहरीको आशंका छ। घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
Shares
प्रतिक्रिया