ad ad

कला


आस्था राउतको दोस्रो एल्बम ‘आधार भाग २’ सार्वजनिक

आस्था राउतको दोस्रो एल्बम ‘आधार भाग २’ सार्वजनिक

नेपालखबर
मंसिर १२, २०७६ बिहिबार १५:३,

गायिका आस्था राउतको दोस्रो एल्बम ‘आधार भाग २’ सार्वजनिक भएको छ। म्यूजिक नेपालले उत्पादन गरेको एल्बमलाई बिहीबार राजधानीमा एक कार्यक्रमका बीच हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह), संगीतकार सुरेश अधिकारी, गायक राजु लामा, आस्थाका बाबु हरिबहादुर राउत र आमा साबित्री राउतलगायतले एल्बम सार्वजनिक गरे।

कार्यक्रममा कलाकार हरिवंशले आस्थासँग आफूले चलचित्र ‘छक्का पन्जा २’को एक गीत ‘झ्याम्म झ्याम्म’मा सहकार्य गर्न पाएको स्मरण गर्दै आस्थाको स्वर भिन्न रहेको दाबी गरे। ‘जोकोहीको गीत सुनिरहँदा त्यो गीत सोही गायकगायिकाको हो कि होइन भन्ने अन्यौल हुन्छ। किनकी त्यस्तै किसिमको स्वर अन्य गायकगायिकाको पनि हुन्छ,’हरिवंशले भने, ‘तर आस्थाको स्वर सुन्दा उनको जस्तो स्वर अन्यमा पाइँदैन। त्यसकारण परबाटै यो गीत आस्थाले नै गाएको हो भन्नेमा ढुक्क भइन्छ।’

त्यस्तै कलाकार मदनकृष्णले कम उमेरमै आस्थाले नेपाली सांगीतिक क्षेत्रमा गरेको प्रगति देखेर आफूलाई खुशी लागेको बताए। ‘सांगीतिक वातावरणमा जन्मेर, हुर्केर होला, आस्थामा गायकीको नयाँ फ्लेभर पाउँछौं’, उनले भने।

आस्थाका सांगीतिक गुरु संगीतकार सुरेश अधिकारीले आस्था जस्तो सुकै फ्लेभरको गीत पनि गाउन सक्ने प्रतिभाशाली गायिका भएको बताए। आस्थाका पिता हरिबहादुरले आफूलाई आस्थाको पिता भनेर चिनाउन पाउँदा खुशी लाग्ने बताए।

एलबममा ‘दशै आयो तिहार आयो’, ‘कलधारा’, ‘हवाइजहाजको टिकट’, ‘सिमाना’, ‘राम साइली’, ‘नाकैमा फूलि’, ‘को छ यहाँ र झलझल गर्ने’ बोलका गीत छन्। यी गीतमध्ये ‘को छ यहाँ ’बोलको गीतमा आस्थाकी आमा साबित्री राउतको शब्द रहेको छ। बाँकी ७ वटा गीतमा सुरेश अधिकारीको शब्द र संगीत छ।

कार्यक्रममा ‘नाकैमा फुली’ गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो। शान थापाले निर्देशन गरेको भिडियोमा आँचल शर्मा र महेश खड्का फिचर्ड छन्। भिडियोमा सुप्रिम पराजुलीको सम्पादन र अनिल के मानन्धरको छायांकन छ। ‘आधार भाग २ ’मा रहेका गीतमध्ये ‘दशै आयो तिहार आयो’बोलको गीतको म्यूजिक भिडियो म्यूजिक नेपालको युट्यूव च्यानलका साथै मुभी एण्ड मस्ती र नेपाल अनडिमाण्ड एपमा सुन्न र हेर्न सकिन्छ।

आस्थाको पहिलो एलबम ‘आधार’ का गीतहरू ‘खै त मलाई झुम्के बुलाकी’, ‘चौबन्दी पटुकी’ चर्चित गीत हुन्। आस्था हाल टेलिभिजन गायन रियालिटी शो ‘दी भ्वाईस अफ नेपाल’ सिजन २ को एक निर्णायक पनि हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .