राजनीति


उपनिर्वाचन : मध्यरातबाट मौन अबधि सुरु

उपनिर्वाचन : मध्यरातबाट मौन अबधि सुरु

नेपालखबर
मंसिर १२, २०७६ बिहिबार १:३२,

१४ मंसिरमा हुने उपनिर्वाचनको मौन अबधि सुरु भएको छ। बुधबार मध्यराति १२ बजेदेखि मौन अवधि सुरु भएको हो।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचन हुन लागेको हो।

मौन अवधिमा निर्वाचनसम्बन्धी कुनै पनि प्रकारको प्रचारप्रसार गर्न/गराउन तथा वेबसाइट र सामाजिक सञ्जाल प्रयोग गरी भोट माग्न नपाइने प्रावधान छ।

मौन अवधिमा सञ्चारमाध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न गराउन, वेबसाइट, ट्विटर, फेसबुक, भाइबर, एसएमएसजस्ता सामाजिक सञ्जाल वा विद्युतीय माध्यम प्रयोग गरी मत माग्न निधेष गरिएको निर्वाचन आयोगले जनाएको छ ।

बुधबार साँझसम्म निर्वाचनका लागि सबै तयारी सकिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

निर्वाचन सामग्रीसहित मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सुरक्षाकर्मीलगायत सम्बन्धित जिल्ला तथा मतदान केन्द्रमा पुगिसकेका छन्।

निर्वाचन आयोग र जिल्ला निर्वाचन कार्यालयका कर्मचारीबाहेक मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा तीन सय ५४ कर्मचारी खटाइएको छ ।

मतदान केन्द्रमा दुई हजार ६ सय ८४ कर्मचारी र दुई हजार १६ स्वयंसेवक गरी जम्मा पाँच हजार ५४ जना खटिएका छन्। उपनिर्वाचन हुने एक सय ५५ वडामा घरदैलो मतदाता शिक्षा कार्य सञ्चालन गर्न प्रत्येक वडामा दुईजनाका दरले तीन सय १० मतदाता शिक्षा कार्यकर्ता खटिएका आयोगले जनाएको छ।

कहाँ-कहाँ हुँदैछ उपनिर्वाचन?
निर्वाचन आयोगका अनुसार एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो।

कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य तथा भक्तपुर निर्वाचन क्षेत्र नं १ को (क), बागलुङ निर्वाचन क्षेत्र नं २ को (ख) र दाङ निर्वाचन क्षेत्र नं ३ को (ख) मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुनेछ । सम्बन्धित क्षेत्रका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका सदस्यको निधनका कारण ती क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

 सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख, पाँचथरको फाल्गुनन्द, सङ्खुवासभाको मकालु, महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad