प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिमा बुधबार सुधार देखिए पनि उनी अझै ‘पूर्ण खतरामुक्त’ नरहेको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् ।
उनीहरूका अनुसार एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रियासँगै ओलीको पेटमा फैलिएको संक्रमण नियन्त्रण गरिए पनि अन्य संक्रमणको जोखिम यथावत् रहेको खबर आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन्।
‘हाल शल्यक्रियाको माध्यमले पेट सफा गरेर संक्रमणको स्रोत हटाएका छौं,’ उपचारमा संलग्न चिकित्सक भने, ‘अहिले एन्टिबायोटिक दिएर संक्रमण नियन्त्रण गर्ने प्रयास जारी छ।’
प्रधानमन्त्रीको शल्यक्रिया गरिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा.उत्तमकृष्ण श्रेष्ठले बुधबार राति ७ बजे विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको जनाएका छन् ।
ओलीलाई उपचारका सबै व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको विज्ञप्तिमा उल्लेख छ । त्यसअघि बिहान साढे १० बजे सेन्टरले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री कुराकानी गर्न सक्ने अवस्थामा रहेको जनाइएको थियो।
प्रधानमन्त्रीको मंगलबार ल्यापरोक्टोमी (पेटलाई पूरा चिरेर गरिने शल्यक्रिया( र एपेन्डेक्टोमी (एपेन्डिक्स हटाउने शल्यक्रिया) गरिएको थियो ।
जोखिम कम भएपछि प्रधानमन्त्रीलाई बुधबार बिहान भेन्टिलेटरबाट हटाइएको थियो । प्रधानमन्त्रीको रक्तचाप निकै घटेपछि मंगलबार उच्च गराउने तीनथरी औषधि दिइएको थियो । ती औषधि राति अबेर बन्द गराइएकामा बुधबार बिहान कम मात्रामा फेरि चलाइएको छ।
ओलीलाई हाल ‘बोर्ड स्प्रेक्टम एन्टिबायोटिक (विभिन्न संक्रमणमा प्रभावकारी हुने औषधि) दिइराखिएको छ । मल्टिड्रग रेसिस्टेन्ट (बहुऔषधि प्रतिरोधी) अवस्था आइपरे यस्तो औषधि एक साताभन्दा बढी समय दिनुपर्न सक्ने ती चिकित्सकले जनाए । प्रधानमन्त्रीलाई बुधबार तरल पदार्थ मात्र खान दिइएको थियो ।
चिकित्सकहरूका अनुसार शल्यक्रियापछि स्थिति सुधारोन्मुख देखिए पनि संक्रमणको जोखिम अझै छ।
‘शरीरको प्रतिरक्षा प्रणाली कमजोर रहेकाले ओलीलाई निमोनिया, फंगल र भाइरललगायत संक्रमणको जोखिम रहन्छ,’ चिकित्सक भन्छन्, ‘त्यसो भयो भने स्थिति नियन्त्रण गर्न धेरै गाह्रो हुन सक्छ । एपेन्डिक्स फुटेर फैलिएको संक्रमण हटाउन पेटको ठूलो शल्यक्रिया गरिएकाले भविष्यमा मिर्गौला प्रत्यारोपणमा समेत समस्या आउन सक्छ ।’

प्रतिक्रिया