नेपाली सेनाको उद्योगहरुबाट उत्पादित विष्फोटक पदार्थ वितरण प्रक्रियालाई थप सरल र व्यवहारिक बनाउने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरिएको छ।
नेपाली सेनाको सुनाचरी ईमल्सन प्लाण्ट र स्वयम्भू वारुदखानाबाट उत्पादित विष्फोटक पदार्थहरुको गुणस्तर, उत्पादन क्षमता र आपूर्तिमा सुनिश्चितता तथा वितरण प्रक्रियालाई थप सरल, सहज र व्यवहारिक बनाउने प्रक्रिया सम्बन्धमा नेपाली सेनाका बिभिन्न सम्बद्द विभागहरुबाट जानकारी गराउन र बिभिन्न प्रयोगकर्ता सरोकारवाला निकायहरुको तर्फबाट बिष्फोटक पदार्थ प्राप्तीमा विविध पक्षमा भोग्न परिरहेका समस्या तथा कठिनाईहरु, गुनासाहरु तथा राय सुझावहरु राख्नको लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको जंगी अड्डाले जनाएको छ।
कार्यक्रममा नेपाली सेनाको तर्फबाट सुनाचरी ईमल्सन प्लाण्टमा हालै मात्र आधुनिक मेशिन जडान गरी २४०० मेट्रिक टनको उत्पादन क्षमता, गुणस्तर र माग बमोजिमको क्रमिक रुपमा आपूर्ति गर्दै जाने तथा सरल र व्यवहारिक स्वीकृति प्रक्रिया तथा एउटै कार्यालयबाट उत्पादित बिष्फोटक पदार्थ सहज रुपमा प्राप्त हुने सम्बन्धी प्रस्तुतिकरणहरु गरी बिभिन्न परियोजनाहरुका सञ्चालक तथा प्रतिनिधीहरुलाई जानकारी गराईएको थियो भने सरोकारवालाहरुको तर्फबाट यथेष्ठ रुपमा गुणस्तर, उत्पादन क्षमता, आपूर्तिको प्रतिवद्धता, मूल्य र समयमै बिष्फोटक पदार्थको प्राप्ती सम्बन्धमा जिज्ञासा तथा राय सुझावहरु राखिएको थियो।
बलाध्यक्ष रथी गौरव तण्डुलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सैनिक सामग्री उत्पादन तथा यान्त्रिक सेवा महानिर्देशक, ईन्जिनियरिङ्ग विभागका प्रमुख, नेपाली सेना कल्याणकारी बोर्डका कार्यकारी निर्देशक, नेपाल सरकारका सम्बद्ध मन्त्रालयबाट पदाधिकारीहरु, नेपाली सेनाका विभिन्न विभाग तथा कार्यालयका निर्देशकहरु, सञ्चारकर्मीहरु, विभिन्न परियोजनाका प्रमुख, व्यवस्थापक तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो।
Shares

प्रतिक्रिया