राजनीति


ओलीले डाक्टरसँग सोधेः मेरो स्वास्थ्यबारे के के समाचार आए?

ओलीले डाक्टरसँग सोधेः मेरो स्वास्थ्यबारे के के समाचार आए?

नेपालखबर
मंसिर ११, २०७६ बुधबार १४:२७,

मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि अस्पतालमा आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यका बारेमा आएको समाचारप्रति उपचारमा संलग्न डाक्टरहरुसँग बुधबार जिज्ञासा व्यक्त गरेका छन्।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज अन्तर्गतको मनमोहन कार्डियोथेरासिस भस्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा आकस्मिक शल्यक्रियापछि स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री ओलीको अहिले स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

डा. अरुण सायमीले स्वास्थ्यमा सुधार भएको बताए।

‘सबै कुरा सुधार हुँदै गएको छ, भेन्टिलेटरबाट बाहिर निकाल्यौं। उहाँ अहिले बस्ने, गफ गर्ने गर्नुभएको छ,’ सायमीले नेपालखबरसँग भने, ‘सञ्चारमाध्यमले आफ्नो स्वास्थ्यको बारेमा के के समाचार लेखे भनेर पनि उहाँले जिज्ञासा राख्नुभयो।’

सायमीका अनुसार प्रधानमन्त्रीलाई मंगलबार भेन्टिलेटरमा राखिएको विषय सञ्चारमाध्यममा आउँदा स्वास्थ्यअवस्था निकै गम्भीर भएको सन्देश गएकोप्रति ओलीले चिन्ता व्यक्त गरेका थिए।

यसैबीच, बुधबार साँझ अस्पतालले विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको जनाएको छ।

उपचारमा संलग्न चिकित्सकहरूका अनुसार आज बुधबार ओलीलाई चिया, सुपजस्ता झोल पदार्थ खुवाइएको छ।

‘आज केहीबेर हिंड्नु पनि भयो, भोली गिलो खाना खान दिनेछौं’, ती चिकित्सकले भने, ‘अब एक सता जति त अस्पतालमा बस्नु पर्ने हुन्छ।’

सो अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक उत्तमकृष्ण श्रेष्ठले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको शल्यक्रिया पश्चात उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा रहेको उल्लेख छ।

शल्यक्रिया शुरु गर्ने बित्तिकै चिकित्सकहरुले ओलीलाई फोक्सोमा कुनै पनि दबाब सिर्जना नहोस भनेर भेन्टिलेटरमा राखेको बताएका छन्।

ओलीको पेटमा देखिएको संक्रमण रोक्नका लागि चलाएको दुईथरि औषधिमध्ये एकले राम्रोसँग काम गरेको र अर्कोले राम्रोसँग प्रभाव नपारेको देखिएपछि परिवर्तन गरिएको अस्पताल स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिस फुटेपछि त्यसको संक्रमण फैलिएको थियो। त्यसलगत्तै उनको शल्यक्रिया गरिएको हो।

१२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएका ओलीको केहि समययता रोगसँग लड्ने प्रतिरोधी क्षमता कमजोर हुँदै गएको बताइएको छ। त्यसकारण कुनै नयाँ स्वास्थ्य समस्या देखिनासाथ त्यसले गम्भीर रुप लिने हो की भनेर विशेष सावधानी अपनाउने गरिएको छ।

मंगलबार अकस्मात पेट दुखेपछि प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना गरिएको थियो। उनको स्वास्थ्यमा सुधार भएपछि पत्नि राधिका शाक्यले बुधबार भेट गरेकी थिइन्। त्यसैगरी प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए।

प्रधानमन्त्री ओलीसँग सोझै भेट गर्ने अवस्था नभएपछि देउवाले उपचारमा संलग्न चिकित्सकहरुसँग स्वास्थ्यअवस्थाबारे जानकारी लिएर फर्केका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad