राजनीति


सातै प्रदेशबाट एकसाथ नेपाल भ्रमण वर्ष शुभारम्भ हुने

सातै प्रदेशबाट एकसाथ नेपाल भ्रमण वर्ष शुभारम्भ हुने

नेपालखबर
मंसिर १०, २०७६ मंगलबार २:४५,

नेपाल भ्रमण वर्षको शुभारम्भ काठमाण्डौसँगै देशका सातवटै प्रदेशबाट गरिने भएको छ।

भ्रमणको शुभारम्भ जनवरी १ तारिख (पुस १६) मा काठमाण्डौको दशरथ रङ्गशाला र सोही दिन सातवटै प्रदेशबाट गर्ने तयारी गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले जानकारी दिए।

नेपाल भ्रमण वर्ष–२०२० मूल समारोह समितिको पाचौँ बैठकमा मन्त्री भट्टराईले सबै प्रदेशले भ्रमण वर्षलाई सहयोग हुने गरी कार्यालय स्थापना गर्ने बताए। एक हप्ताभित्र भ्रमण वर्ष सचिवालयलाई सहयोग गर्ने खालको कार्यालय स्थापना गर्ने निर्णय मन्त्रालयले गरेको छ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भ्रमण वर्ष सफल बनाउन आफ्नो प्रदेशले सक्दो सहयोग गर्ने बताए। ‘हामी पनि हाम्रो प्रदेशमा भएका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरेर पर्यटकलाई आफ्नो प्रदेशमा ल्याउने छौँ’, उनले भने, ‘सङ्घले पनि भ्रमण वर्षलाई सफल बनाउनका लागि प्रदेश सरकारसँग समन्वय गर्नुपर्छ।’

कार्यक्रममा प्रदेश ३ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले पर्यटनसँग सम्बन्धित कार्यक्रम आफूहरुले सञ्चालन गरिसकेको भन्दै भ्रमण वर्ष लक्षित कार्यक्रम सङ्घ सरकारको समन्वयमा गरिने बताए।

कर्णाली प्रदेशका पर्यटनमन्त्री नन्दसिंह बुढाले कर्णाली प्रदेशमा पर्यटक बढाउनका आकर्षित गरिरहेको जानकारी दिए।

कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले भ्रमण वर्ष सफल पार्नका लागि भौतिक पूर्वाधार विकासमा जोड दिए। अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले अन्तरराष्ट्रिय उडान अवतरण हुनुभन्दा अगाडि दुई मिनेट भ्रमण वर्षबारे जिङ्गल बनाइने तयारी गरिएको जानकारी दिए।

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाले भ्रमणलाई लक्ष्य गरेर आठ कार्यक्रम सञ्चालन गर्ने जानकारी बताए। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भ्रमण वर्षमा सुरक्षालाई मजबुत गरिने बताए।

गैरनेपाली आवासीय सङ्घका अध्यक्ष कुमार पन्तले भ्रमण वर्षको अवसरमा डिसेम्बर ३१ र जनवरी १ तारिखमा ८३ देशमा साइकल र कार ¥याली गरिने जानकारी दिए। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भ्रमण वर्ष सफल बनाउन निजी क्षेत्र लागिरहेको बताए।

कार्यक्रममा भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले सबै नेपालीलाई भ्रमण वर्षमा आवद्ध गराइने बतााए। प्रदेश र स्थानीय तहसँग समन्वय गरेर भ्रमणका कार्यक्रम तय गरिने भन्दै उनले सबै नेपालीलाई प्रतिबद्धता गराएर नेपाल घुम्न आग्रह गरिने बताए।

नेपाल भ्रमण–२०२० लाई लक्ष्य गरी आन्तरिक र बाह्य उडान थप गर्न थालिएको छ।

पर्यटनमन्त्रीले अन्तरराष्ट्रिय उडानका लागि अन्तरराष्ट्रिय एयरलाइन्ससंँग कुरा समेत भइरहेको जानकारी दिए। ‘सङ्घीयताको अभ्यासलाई जोड्न र भ्रमण वर्षलाई लक्ष्य गरेर कुनकुन प्रदेशबीच हवाई सेवा सञ्चालन गर्न सकिन्छ, त्यसबारे अध्ययन भइरहेको छ’ उनले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad