ad ad

राजनीति


बागी उम्मेदवारी दर्तापछि जगन्नाथका ‘सकसपूर्ण’ ५ दिन

‘देउवा, प्रचण्ड, खाँण र श्रेष्ठको सीप चलेन’
बागी उम्मेदवारी दर्तापछि जगन्नाथका ‘सकसपूर्ण’ ५ दिन

फाइल तस्बिर


रुपक चौलागाईं
बैशाख १६, २०७९ शुक्रबार १९:४९, काठमाडौँ

पूर्वसांसद एवं चितवन कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेल यतिबेला सबैभन्दा बढी चर्चामा छन्। 

नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले प्रतिष्ठाको विषय बनाएको भरतपुर महानगरपालिका प्रमुखमा १२ वैशाखमा उम्मेदवारी दर्ता गराएदेखि पौडेलको चर्चा चुलिएको हो। 

सत्तारुढ गठबन्धनभित्र महानगर र उपमहानगरपालिकाको भागबन्डामा किचलो सुरु हुँदादेखि नै भरतपुर चर्चाको केन्द्रमा थियो। यद्यपि शीर्ष तहका नेताहरुबीच लामो र अथक प्रयासपछि भरतपुरको प्रमुख पद माओवादीले नै लिने सहमति जुट्यो। 

०७४ को निर्वाचनमा भरतपुरको नेतृत्व माओवादीलाई सुम्पिएको कांग्रेसले यो पटक भने ‘त्याग’ गर्न नसकिने तर्क गरेको थियो। 

तर, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोरी रेनु दाहाललाई दोहोर्‍याउन ठूलै संघर्ष गरे। कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रचण्डलाई भरतपुर आफ्नो भागमा ल्याउन सहमति गराए। 

गृहजिल्ला समेत रहेको चितवनको प्रतिष्ठित महानगर भरतपुरमा प्रचण्डले ०७४ को निर्वाचनमा पनि निकै दुःख गरेर छोरी रेनुलाई भरतपुरको ‘साँचो’ थमाएका थिए। 

फेरि भरतपुरकै साँचो छोरीलाई थमाउन खोजेका प्रचण्डलाई यो पटक झनै समस्या थपियो। सत्ता गठबन्धनबीच तालमेलको भागवण्डा मिलाएर भरतपुर माओवादीको पक्षमा पारेका प्रचण्डले केन्द्रमा देउवालाई फकाउन सफल भए।

चितवनका कांग्रेसका नेता पौडेलले भने प्रचण्डसहितको प्रस्ताव अस्वीकार गरिदिएका छन्। त्यहीकारण अब चितवनमा रेनुलाई सजिलै जित्न चुनौती थपिएको छ।

गत ७ वैशाखमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताबीचको बैठकले महानगर र उपमहानगरको भागबन्डा टुङ्ग्यायो। जसमा भरतपुर महानगरको प्रमुख माओवादी र उपप्रमुख कांग्रेसले लिनेगरी सहमति भयो।

त्यसअघिदेखि नै चितवनका कांग्रेस नेताहरुले कुनै हालतमा भरतपुरको प्रमुख आफूहरुले पाउनुपर्ने दाबी गरिरहेका थिए। भरतपुरका जिल्लादेखि केन्द्रसम्म प्रभाव राख्ने सबैजसो शीर्ष

नेताहरुलाई काठमाडौंमै बोलाएर सभापति देउवाले ‘कन्भिन्स’ गराउने प्रयास पनि त्यसबीचमा गराए। यद्यपि उनको यो प्रयास असफल बनिदियो।

केन्द्रको निर्णयलाई वास्तै नगरी उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन अर्थात १२ वैशाखमा कांग्रेस चितवनका प्रभावशाली मानिने नेता पौडेलले उम्मेदवारी दर्ता गराए। 

उम्मेदवारी दर्तापछिका सकसपूर्ण ५ दिन

१२ वैशाख
उम्मेदवारी दर्ताको अन्तिम दिन मध्यान्ह भरतपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा जुलुससहित पुगे, पौडेल। सत्ता गठबन्धनकै अर्की उम्मेदवार रेनु दाहालले पनि सोही दिन उम्मेदवारी दर्ता गरेकी थिइन्। कांग्रेसका पूर्वसभापति कृष्णलाल सापकोटाले प्रस्ताव र महासमितिका सदस्य मीना खरेलले समर्थन गरेका थिए।

कांग्रेसको चुनाव चिह्नसहितको झण्डा बोकेका सयौं कार्यकर्तासहित पौडेल उम्मेदवारी दर्ता गर्न आयोग पुगेका थिए। रोचक दृश्य चाँहि नाम दर्ता गराउन आएका सत्तारुढ दुई दलबीचका भीडमा देखियो। यी दुई भिन्न भिडमध्ये कांग्रेसको झण्डा बोकेका समर्थकहरूको संख्या बागी उम्मेदवार पौडेलको समूहको जुलुसमा बढी देखिन्थ्यो।

केही क्षणपछि गठबन्धन दलको नेतृत्व गर्दै मेयर पदकी उम्मेदवार रेनु दाहालसहित अन्य उम्मेदवारहरू पनि नाचगान र चुनावी गीत बजाउँदै आयोगको कार्यालय परिसरबाहिर आइपुगेका थिए।
कांग्रेसका पूर्वसभापति टीकाराम न्यौपाने, पुराना नेता पूर्वसांसद भीमबहादुर श्रेष्ठ पनि पौडेल त्यहाँ पुगेका थिए।

१३ वैशाख
केन्द्रमा देउवाका राम्रो साथ पाएका प्रचण्डलाई रेनुविरुद्ध ‘बागी’ उम्मेदवारी परेसँगै छटपटी चल्यो। उनी १३ गते बिहान चाँडै चितवन हुँइकिए।

प्रचण्ड गृहजिल्ला चितवन जाँदा अघिपछि ठूलै हल्लीखल्ली हुन्थ्यो। अघिल्लै दिन मिडियालाई विमानस्थलमा आउन खबर हुन्थ्यो। तर, त्यो दिन त्यस्तो केही भएन। अन्तर्राष्ट्रिय विमानस्थलका केही उच्च सुरक्षाकर्मीलाई मात्रै थाहा हुनेगरी उनी बिहानै चितवन पुगेका थिए।

मध्याह्न भरतपुर विमानस्थल हुँदै काठमाडौं फर्किएका प्रचण्डको त्यो केही घण्टाको बसाइलाई अर्थपूर्ण रुपमा हेरिएको थियो। भरतपुरको निर्वाचनलाई सन्दर्भमा राखेर प्रचण्डले बागी उम्मेदवारी दर्ता गराएका पौडेललाई फोन सम्पर्क गरे। पौडेलका अनुसार प्रचण्डले फोन गरेर उनलाई अवस्था सहज बनाउन आग्रह गरेका थिए।

‘उहाँ(प्रचण्ड)ले मलाई टेलिफोन गर्नुभएको थियो,’ बिहीबार नै नेपालखबरसँगको कुराकानीमा पौडेलले भनेका थिए, ‘यहाँ तपाईंले छाडेर अवस्था सहज बनाउनुपर्यो भनेर भन्नुभयो। तपाईंहरुले पनि त्यो कुरा छाडेर मलाई सहज बनाइदिँदा हुन्छ भनेर मैले आफ्नो कुरा राखेको छु।’ 

पौडेलले प्रस्ताव अस्वीकार गरेपछि निराश हुँदै काठमाडौं फर्किएका प्रचण्डले केन्द्रबाट थप प्रयास जारी राखे। 

१४ वैशाख
प्रचण्ड चितवनबाट फर्किएको भोलिपल्ट प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाको ‘दूत’ बनेर गृहमन्त्री बालकृष्ण खाण चितवन झरे। 

खाण चितवन झर्दा भने हल्लीखल्ली भयो। विमानस्थलमा गृहमन्त्री खाण पुग्दै गर्दा वरिपरि सञ्चारकर्मीको घेरा लाग्यो। त्यहाँ उपस्थित सञ्चारकर्मीसमक्ष बागी उम्मेदवार फकाउन आएको तथ्य खाणले सुनाउन भ्याए।

‘बागीलाई मिलाउन मैले प्याकेज त ल्याएको छैन,’ उनले सञ्चारकर्मीसँग भनेका थिए, ‘मन ल्याएर आएको छु। म उहाँहरुलाई सम्झाउँछु। उहाँहरुले केन्द्रको निर्णय मान्नुहुन्छ।’

खाण सञ्चारकर्मीसँग त्यति भनेर बागी उम्मेदवारी दर्ता गराएका नेता पौडेलको घरमा पुगे। दिनभर त्यहाँको प्रयास असफल भएपछि खाणले केन्द्रमा देउवालाई टेलिफोनमार्फत ‘ब्रिफिङ’ गराए। 
देउवासँग नजिकको पात्र बनेका खाणलाई पठाएपछि चितवनको समस्या समाधान हुन्छ भन्ने पार्टी केन्द्रसम्म थियो। तर, अवस्था सोचेजस्तो भएन। 

पूर्वनिर्धारित कार्यक्रमअनुसार सोही दिन काठमाडौं फर्किने सोच बनाएर भरतपुर पुगेका खाण चितवनमै बास बस्न बाध्य भए। असन्तुष्टहरुको समस्या सुनेर समाधान गर्नेगरी अघि बढेका खाणको १४ गते दिनभरको प्रयास असफल भयो।

१५ वैशाख
गृहमन्त्री खाणको प्रयास असफल भएपछि भोलिपल्ट बिहानै केन्द्रबाट देउवाले अर्का ‘दूत’ भरतपुर पठाए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ पनि पौडेलको भरतपुर महानगरपालिका–७ स्थित घरमा १५ बैशाख बिहानै पुगे। 

गृहमन्त्री खाण र श्रेष्ठ मिलेर पौडेलसँग उनको घरमै वार्ता भयो। उक्त वार्तामा बागी उम्मेदवार पौडेललाई मनोनयनमा प्रस्ताव गरेका पाका कांग्रेस नेता कृष्णलाल सापकोटा पनि सहभागी थिए। पौडेलले उनीहरुलाई फूल र खादासहित आफ्नो निवासमा स्वागत गरे। 

पौडेलसँगको संवादपछि राज्यमन्त्री श्रेष्ठले बागी उम्मेदवारी फिर्ता लिन सकारात्मक भएको पत्रकारहरुलाई बताएका थिए। यद्यपि पौडेलले भने आफू कुनै हालतमा पछि नहट्ने बताइरहेका थिए।

१६ वैशाख
आज १६ वैशाख दिनभरजसो मूलधारका मिडियाको केन्द्रमा उनै जगन्नाथ परे। आजै साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने निर्वाचन आयोगको मिति थियो।

त्यस बेलासम्म उम्मेदवारी फिर्ता नलिएर पार्टीबाट कारबाही गर्ने भन्दै शुक्रबार बिहानै पार्टी केन्द्रबाट विज्ञप्ति जारी भयो। 

आफ्नो अडानबाट ‘ब्याक’ नहुने स्पष्ट सन्देश पार्टी केन्द्रसम्म पुर्‍याएका पौडेल आज पनि टसमस भएनन्। दिनभर उनको निर्णय कुरेर बसेको कांग्रेस र माओवादीसहितका केन्द्रीय नेताको प्रयासलाई विफल तुल्याउँदै पौडेलले आफ्नो उम्मेदवारी कायम राखेका छन्।

यो सँगै अब भरतपुर महानगरपालिकाको चुनावी रौनक झनै प्रतिस्पर्धात्मक बन्ने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .