राजनीति


नेपालमा चीन विरोधी गतिविधि असह्य: उपराष्ट्रपति पुन

नेपालमा चीन विरोधी गतिविधि असह्य: उपराष्ट्रपति पुन

नेपालखबर
मंसिर ९, २०७६ सोमबार १०:५१,

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग चीनको यूनान प्रान्तको गभर्नर रुआयन छङफाले शिष्टाचार भेट गरेका छन्। नेपाल भ्रमणमा रहेका यूनानका गर्भनर छङफाले सोमबार अपरान्ह उपराष्ट्रपति भवन हरितगृहमा उपराष्ट्रपतिसँग शिष्टाचार भेट गरेका हुन्। भेटमा नेपाल–चीन तथा नेपाल र यूनान प्रान्तबीचको सम्बन्ध, सहयोग र सहकार्यका विविध विषयमा छलफल भए। 

उपराष्ट्रपतिले यूनानका गर्भनर छङफासँगको भेटमा शताब्दीऔँ पुरानो नेपाल चीनबीचको मैत्री सम्बन्ध अहिले नयाँ युगमा प्रवेश गरेको बताए। ‘चीनका महामहिम राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपछि नेपाल चीन सम्बन्धले नयाँ उचाई हासिल गरेको मात्रै छैन, नयाँ युगमा प्रवेश गरेको छ,’ उपराष्ट्रपति पुनले भने, ‘राष्ट्रपति सीको भ्रमणको क्रममा दुई देशबीच भएका सम्झौताहरु छिट्टै कार्यान्वयन हुने र त्यसबाट दुवै देशलाई लाभ हुने हाम्रो विश्वास छ।’

उपराष्ट्रपति पुनले नेपाल जहिल्यै पनि एक चीन नीतिप्रति प्रद्धिबद्ध रहेको उल्लेख गर्दै नेपाली भूमीमा चीन विरोधी कुनै पनि गतिविधि सह्य नहुने बताए। उनले चीनले अगाडि सारेको बेल्ट रोड इनिसियटिभ (बीआरआई)मा नेपालले सहभागिता जनाएको र यसबाट प्रर्याप्त लाभ लिन चाहेको बताए।

उपराष्ट्रपति पुनसँगको भेटमा यूनानका गर्भनर छङफाले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण दुई देशबीचको सम्बन्धमा ऐतिहासिक कोशेढुंगा भएको बताए। उनले नेपाल–चीन तथा नेपाल र यूयान प्रान्तबीचको सम्बन्ध घनिष्ठ रहेको बताए।

गभर्नर छङफाले नेपालको विकास र समृद्धिको यात्रामा चीनको सधै साथ रहने बताए। उनले चीनले नेपालसँग व्यापार, उर्जा, पर्यटन र कृषि क्षेत्रमा बलियो सहकार्य गर्न चाहेको बताए। ‘यसपाली म मेरो टोली लिएर नेपाल भ्रमणमा आएको छु। नेपालसँग अर्थतन्त्र, व्यापार, उर्जा, पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले भ्रमणमा आएको हुँ’, गर्भनर छङफाले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad