ad ad

राजनीति


हेलिकोप्टर चढेर पुगेका धर्मराजको टिकट खोस्यो कांग्रेसले, दिक्तेलको मेयरमा तीर्थराज नै उठे

हेलिकोप्टर चढेर पुगेका धर्मराजको टिकट खोस्यो कांग्रेसले, दिक्तेलको मेयरमा तीर्थराज नै उठे

नेपालखबर
बैशाख १२, २०७९ सोमबार १८:४८, काठमाडौँ

नेपाली कांग्रेसको प्रदेश १ ले वितरण गरेको टिकटमा केन्द्रीय कार्य समितिले हस्तक्षेप गरेको छ। 

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरको आधिकारिक उम्मेदवार तीर्थराज भट्टराई भएको ब्यहोरासहितको सोमबार साँझ सभापति शेरबहादुर देउवाले पत्र पठाएका हुन्।

यसअघि सोमबार दिउँसो प्रदेशबाट टिकट लिएर धर्मराज पोख्रेल हेलिकोप्टरमा दिक्तेल पुगेका थिए। 

उनलाई हेलिकोप्टरबाट झर्ना साथ कार्यकर्ताहरूले हातपात गरेका थिए। उनले बोकेको ब्यागसमेत कार्यकर्ताले खोसेका थिए। 

प्रहरीले उनलाई सुरक्षा दिएर पार्टी कार्यालय लगेको थियो। पार्टी कार्यालयबाट मानवअधिकार आयोगको टोली र प्रहरीले सुरक्षा दिएर उनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लगेको थियो। 

बाहिर कार्यकर्ताको विरोधकाबीच उनले उम्मेदवारी दर्ता गराएका थिए। तर उनले उम्मेदवारी दर्ता गराइसकेपछि केन्द्रबाट तीर्थराज भट्टराई नै आधिकारीक उम्मेदवार भएको भन्दै पत्र पठाएको छ। 

निर्वाचन अधिकृतलाई सम्बोधन गरेर लेखिएको पत्रमा भनिएको छ, ‘दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख पदमा तीर्थराज भट्टराई नेपाली कांग्रेस पार्टीको आधिकारिक उम्मेदवार भएको प्रमाणित गरिन्छ। यसर्थ त्यहीअनुसार कांग्रेसको उम्मेदवार कायम गरिदिनु हुन अनुरोध गर्दछु।’

केन्द्रले पत्र पठाएसँगै तीर्थराज भट्टराई नै आधिकारिक उम्मेदवार हुने प्रदेशका कांग्रेस महामन्त्री भूपेन्द्र राईले बताए। 

‘प्रदेशको निर्णयमा केन्द्रले हस्तक्षेप गर्‍यो। केन्द्रीय सभापतिले आधिकारिक रुपमा पत्र पठाइसकेपछि केन्द्रको निर्णय नै मान्नुपर्छ,’ उनले भने। 

केन्द्रले अन्तिम समयमा टिकट दिएका भट्टराईले निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .