ad ad

राजनीति


काठमाडौंमा केशव स्थापितलाई एमालेको टिकट!

काठमाडौंमा केशव स्थापितलाई एमालेको टिकट!

फाइल तस्बिर


रुपक चौलागाईं
बैशाख ८, २०७९ बिहिबार १९:५६, काठमाडौँ

काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवारमा नेकपा एमालेले केशव स्थापितलाई उठाउने भएको छ। 

२०५४ सालमै काठमाडौं महानगर सम्हालिसकेका स्थापितलाई पाँच दलीय गठबन्धनको चुनौती चिर्ने गरी एमालेले टिकट दिने तयारी गरेको हो। 

हाल बागमती प्रदेशसभा सदस्य रहेका स्थापित २५ वर्षपछि फेरि काठमाडौं महानगरको बागडोर सम्हाल्ने बिन्दुमा पुगेका हुन्।

स्थापितलाई काठमाडौं उठाउने औपचारिक निर्णय एमाले आगामी १० वैशाखमा बस्ने सचिवालय बैठकबाट गर्नेछ।

काठमाडौंको प्रमुखका लागि एमाले नगर कमिटीले २ वैशाखमा ५ जनाको नाम सिफारिस गरिसकेको छ। 

नगर कमिटीले वर्तमान प्रमुख विद्यासुन्दर शाक्य, संघीय सांसद रामवीर मानन्धर, प्रदेश सांसद केशव स्थापित, निर्मल देउला र नेकपा एकीकृत समाजवादीका प्रदेश सांसद वसन्त मानन्धरकी पत्नी इन्दिरा पन्तको नाम जिल्लामा सिफारिस गरेको थियो।

यी ५ मध्येमा प्रमुखका लागि सबैभन्दा हेविवेट स्थापित नै हुन्। गठबन्धनको चुनौती चिर्न सक्ने सबैभन्दा बलिया मानिएका स्थापितलाई काठमाडौंको उम्मेदवार बनाउने सहमति भइसकेको एमाले उच्च स्रोतले नेपालखबरलाई बताएको छ।

०७४ को निर्वाचनबाट कांग्रेसका राजुराज जोशीलाई हराउँदै प्रमुख बनेका विद्यासुन्दरले पनि पार्टीले जिम्मेवारी दिएमा दोहोरिन तयार रहेको बताइसकेका छन्। तर, उनको कार्यकालप्रति एमाले

अध्यक्ष ओली एकातिर सन्तुष्ट छैनन् भने अर्कातिर फेरि टिकट दिएमा हार्न सक्ने आँकलन छ। 

एमाले प्रचार विभागका प्रमुख विष्णु रिजालले काठमाडौंसहित बाँकी महानगर र उपमहानगरका उम्मेदवारको टुंगो आगामी १० गतेको सचिवालय बैठकले गर्ने बताएका छन्। 

‘आज देशभरका महानगर र उपमहानगरबाट आएका नामहरूबारे सचिवालयमा छलफल भएको छ’, प्रचार विभाग उपप्रमुखसमेत रहेका रिजालले भने, ‘बाँकी निर्णय पर्सीको बैठकले गर्छ।’

स्थापित नै किन?
स्थापितले एक महिना अघिदेखि काठमाडौंको बागडोर सम्हाल्ने गरी दौडधूप थालेका थिए। 

बागमती प्रदेशको पूर्व भौतिक पूर्वाधारमन्त्री भइसकेका स्थापित यसअघि पनि २०५४ सालमा एक कार्यकाल काठमाडौंको प्रमुख बनेका थिए। 

उनले तत्कालीन अवस्थामा काठमाडौंको भौतिक पूर्वाधार सुधार र सुन्दरता बढाउन नवीन काम गरेको मानिन्छ। एमालेका एक नेता भन्छन्, ‘स्थापितको सार्वजनिक छवि राम्रो छ। मेयर हुँदा

स्थापितले गरेको काम अहिले पनि देखिन्छ, त्यति काम अरुले गरेका छैनन्।’

एमाले स्रोतका अनुसार स्थापितको नाममा करिब सहमति भइसकेको छ। अध्यक्ष ओली पनि स्थापितको नाममा कन्भिन्स भइसकेका छन्। विगतमा जे जे भए पनि अहिले स्थापितले नै एमालेलाई जिताउन सक्ने आँकलन ओलीले गरेका छन्। 

‘उपत्यकाका नदीहरुमा करिडोर खोल्ने, रत्नपार्क र माइतीघरका लगायतबाट घर टहरा हटाउने, सहरको बीचबाट अव्यवस्थित सुकुम्बासी बस्ती विस्थापन जस्ता काम अरु कसैले गरेनन्। सडक फराकिलो बनाउने कुरामा स्थापित ‘पिता’ नै हुन्।’

स्थापितले यसअघि नै अध्यक्ष ओलीसँग बालकोट पुगेर पटक पटक छलफल गरेका छन्। ओलीलाई पनि अरु नेताहरुले काठमाडौंमा स्थापितको ‘क्रेज’बारे जानकारी गराएका छन्। 

‘अरु उम्मेदवारको मत काठमाडौंमा १ बाट काउन्ट हुन्छ’, ती नेताले भने, ‘केशव स्थापितको मत १० हजारबाट काउन्ट हुन्छ।’

वर्तमान प्रमुख विद्यासुन्दरले केही राम्रा काम गरे पनि कार्यकालको सुरुबाटै उनी आलोचनामा परिरहे। जनस्तरबाट निरन्तर आलोचना हुँदा शाक्यले गरेका काम ओझेलमा परेको एमालेको निष्कर्ष छ। 

‘विद्यासुन्दरजीले छाडेर जाने बेला उहाँको नराम्रो कुरा नगरौँ? तर, उहाँले १ कार्यकाल चलाउनुभयो,’ ती नेता भन्छन्, ‘पार्टीको नीति सकेसम्म नदोहो¥याउने भन्ने छ। ठूलो पार्टीमा दोहोर्याउँदा आलोचना हुन्छ। अरुलाई अवसर दिन पनि विद्यासुन्दरले विश्राम लिनुहुन्छ।’

विद्यासुन्दर महानगरको मेयर भए पनि अन्य नगर र सहरका नराम्रा कामको दोष पनि उनैलाई बोकाइएको निष्कर्ष एमालेको छ।

‘जति पनि काठमाडौंमा नराम्रा काम भएका छन्, ती सबैमा विद्यासुन्दरलाई दोष लगाइयो। तर, त्यो सबै सत्य होइन। उहाँको कार्यकालमा केही राम्रा काम पनि भएका छन्। मात्रै चर्चा हुन नसकेको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .