राजनीति


बन्दीपुरमा एक्लै भिड्न सक्छौँ, गठबन्धन गर्न पनि तयार छौँः अध्यक्ष थापा (भिडियो)

बन्दीपुरमा एक्लै भिड्न सक्छौँ, गठबन्धन गर्न पनि तयार छौँः अध्यक्ष थापा (भिडियो)

जेवी पुन मगर
चैत २९, २०७८ मंगलबार १०:१७, बन्दीपुर

कुनै बेला शक्तिशाली सेन राजाको किल्ला हाल गण्डकी प्रदेशको तनहुँ जिल्लामा अवस्थित बन्दीपुर विसं २०२५ सालसम्म जिल्लाको राजधानी थियो । 

२०२५ सालमा बन्दीपुरबाट राजधानी दमौली सारियो । यहाँबाट धेरै मानिस अरु जिल्लामा सरेसँगै बन्दिपुरको व्यापारिक सान पनि घट्यो। 

अहिले फेरि नेवारी र तिब्बती शैलीका कलाकौशलले पुरातात्विक स्वरुप धारण गर्दै गैरहेको बन्दीपुर ब्यूँतिएको छ। पर्यटन र अन्य व्यापार बढिरहेको छ। मगर र गुरुङको साँस्कृतिक वैभवताका कारण विश्वप्रसिद्ध पर्यटकीय गाउँको रुपमा सूचीकृत मात्र छैन। आन्तरिक पर्यटकका लागि त बन्दीपुर देशकै एउटा आकर्षणको केन्द्र बनेको छ। 

उहिल्यैदेखि रणनीतिक किल्ला मानिँदै आएको यो थलोको राजनीतिक आकर्षण पनि बढेको छ अहिले। राजनीतिक बलका आधारमा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसबाट बन्दीपुरको अध्यक्षका एक दर्जन बढी आकांक्षी छन्, माओवादी केन्द्रबाट पनि वर्तमान अध्यक्ष पूर्णसिंह थापासहित तीन जना आकांक्षी देखिएका छन्।

कुनै बेलाको नगरपालिका बन्दीपुर देश संघीय संरचनामा गएपछि गाउँ पालिका बन्यो, जुन ६ वडामा बाँडिएको छ । १०२ वर्ग किलोमिटरमा फैलिएको बन्दीपुरमा पालिकाले २०७६ मा गरेको जनगणना अनुसार २२,१७१ जनसंख्या रहेको छ, जसमध्ये गएको स्थानीय निर्वाचनमा ११,९३२ मतदाता सूचीकृत थिए । 

७५३ स्थानीय सरकारमध्ये कार्यसम्पादनका हिसाबले बन्दीपुर गाउँ पालिकाले सहमतीय प्रणालीलाई यथोचित उपयोग गर्दै पर्यटन क्षेत्र लगायत अन्य भौतिक पूर्वाधार निर्माणमा राम्रो गरिरहेको देखिन्छ। 

अध्यक्षको हैसियतमा पालिका सरकारको नेतृत्व गरिरहेका माओवादी केन्द्रका युवा नेता  पूर्णसिंह थापा आफ्नो नेतृत्वमा भैरहेका र सबैको सहमतिमा बनाइएको २० वर्षे गुरुयोजनामाथि व्याख्या गर्न सोमबार नेपालखबरको टिमसँग निकै उत्साहका साथ सहभागी भए।  

२८६३ मतका साथ माओवादी केन्द्रबाट बन्दीपुर गाउँ पालिका अध्यक्ष निर्वाचित भएका थापाले चुनावी घोषणापत्रमा बाचा गरिएका भन्दा बढी कार्य सम्पादन गरिएको दाबी गरे। अध्यक्ष, उपाध्यक्ष र ३ वडा अध्यक्ष सहित १७ सदस्यीय कार्यपालिका टिम विजयी बनाएको माओवादी केन्द्र पालिकामा बलियो रहेको र गठजोड गडबड भएपनि आफूहरुलाई कुनै फरक नपर्ने थापा दाबी गर्छन्। 

गठबन्धनमा आवद्ध नेपाली कांग्रेसभित्रै अध्यक्षका निम्ति १४ जनाले दाबी गरिरहेको अवस्थामा थापाले आफूहरू ‘गठबन्धन गर्न र एक्लै प्रतिस्पर्धा गर्न पनि तयार रहेको’ बताए। यसअघि पालिकामा माओवादी केन्द्रले अध्यक्ष, उपाध्यक्षसहित ३ वडा अध्यक्ष, काँग्रेसले २ वडा अध्यक्ष र एमालेले एक वडाध्यक्ष जितेका थिए।

पूर्व स्वास्थ्यकर्मी थापा स्थानीय सरकारले स्थानीय राजनीतिक असन्तुष्टिको पनि व्यवस्थापन गरिरहेको दाबी गर्छन्।

बन्दीपुरमा आफ्नो नेतृत्वको टिमले गरेको कार्यसम्पादनबाट अध्यक्ष थापा सन्तुष्ट छन् र निर्वाचनको मुखमा अलि हौसिएका पनि देखिन्छन्। 

फेरि पनि पालिका अध्यक्षको दाबेदार रहेका थापाले नेपालखबरको टिमसँग यहाँ बनिरहेको ‘ट्रेल रुट’ मा हाइकिङ् गर्दै आफ्नो टिमले गरेको कार्यसम्पादन र चुनाव–चर्चा गरे।

बन्दीपुरको सौन्दर्य निहार्दै गरिएको चुनाव–चर्चा हेर्नुहोस् भिडियोमा :  

भिडियोः विशाल कार्की 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .