राजनीति


प्रधानमन्त्री देउवाले भने : गभर्नरमाथिको कारबाही ठीक छ

अर्थमन्त्रीलाई असहयोग गरेपछि निलम्बन
प्रधानमन्त्री देउवाले भने : गभर्नरमाथिको कारबाही ठीक छ

बालुवाटारमा बसेको पाँच दलको बैठक। तस्बिर : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
चैत २८, २०७८ सोमबार १५:७, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि गरिएको निलम्बन ठीक रहेको बताएका छन्। 

सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेता र वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको संयन्त्रको संयुक्त बैठकलाई सम्बोधनका क्रममा देउवाले यसो भनेका हुन्। 

कांग्रेस महामन्त्री गगनकुमार थापासहितले गभर्नरमाथिको कारबाहीबारे जिज्ञासा राखेपछि प्रधानमन्त्रीले यस्तो बताएका हुन्। 

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बैठकका क्रममा प्रधानमन्त्री देउवाले गभर्नरमाथिको कारबाही उचित रहेको बताएको नेपालखबरलाई जानकारी दिए। 

तत्कालीन केपी शर्मा ओली सरकारले नियुक्त गरेका गभर्नर अधिकारीमाथि अर्थमन्त्री जनार्दन शर्माले विलासी वस्तु आयातमा रोक गर्ने निर्णयको सूचना चुहाएको, अमेरिकाबाट भित्रिएको भनिएको ४० करोडमा कमिसन बार्गेनिङ गरेको सहितका आरोप लगाएका थिए।

अर्थतन्त्र संकटमा गएको भन्दै गलत सूचना जनतामाझ लगेको भन्दै मन्त्री शर्मा गभर्नर अधिकारीमाथि खनिएका थिए। 

शर्माले गभर्नर अधिकारीले अर्थतन्त्रसम्बन्धी महत्वपूर्ण सूचना एमाले अध्यक्ष केपी शर्मा ओलीसम्म पुर्‍याएको अर्को आरोप पनि लगाएका थिए। 

त्यसैलाई लिएर अर्थमन्त्री शर्माले आफूलाई असहयोग गरेको गुनासो गरिरहेपछि गभर्नर अधिकारीलाई निलम्बित गरिएको बताउँदै प्रधानमन्त्रीले यो कारबाहीलाई ठीक भनेका हुन्। 

गभर्नरबाट निलम्बित हुनुअघि गत शुक्रबार अर्थमन्त्रीसँगै मञ्च सेयर गरेका अधिकारीले नेपालको अर्थतन्त्र श्रीलंकाकै बाटोमा गएको बताएका थिए।

तर अर्थमन्त्री शर्माले त्यही मञ्चमा रिसाउँदै त्यस्तो अवस्था नआइसकेको बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad