ad ad

राजनीति


सेनाले थपेन पूर्वप्रधानसेनापति कटवालका छोराको कार्यकाल

सेनाले थपेन पूर्वप्रधानसेनापति कटवालका छोराको कार्यकाल

दीपक खरेल
मंसिर ६, २०७६ शुक्रबार ११:३९,

नेपाली सेनाले आफ्ना अवकाशप्राप्त प्रधानसेनापतिका छोराको कार्यकाल नथप्दा उनी प्रमुख सेनानीबाटै बिहीबार अवकाश पाएका छन्।

सेनाको बोर्डले अवकाशप्राप्त प्रधानसेनापति रुकमाङगद कटवालका छोरा शुभाङगद कटवालको म्याद नथपेको हो। सेनाभित्र प्रभावशाली प्रधानसेनापति मध्येका एक मानिने रुकमाङगदका छोरा प्रमुखसेनानी (लेफ्टिनेन्ट कर्णेल) शुभाङगदको पाँच वर्षे अवधिपछि थप तीन वर्ष नथपिएको हो।

सेनामा उनको निरन्तरताका लागि या त उनी यो बीचमा बढुवा हुनुपर्थ्याे वा बोर्ड बैठकबाट उनको कार्यकाल तीन वर्ष थपेर प्रधानसेनापतिबाट अनुमोदन हुनुपर्थ्याे।

सैन्य उच्चस्रोतका अनुसार उनको शैक्षिक प्रमाणपत्रमा समस्या देखिएपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले उनको म्याद नथपी अवकाशमा पठाएका हुन्। स्रोतका अनुसार यसपटक म्याद थपिएको भए उनी अर्को वर्ष महासेनानीको दौडमा हुन्थे।

‘फुल कर्णेल बनाउन फाइल रक्षामा पठाउनु पर्थ्याे,’ सैन्य स्रोतले भन्यो ‘शैक्षिक प्रमाणपत्रलगायत फाइल समेत त्यहाँ पठाउदा समस्या हुने भएकाले म्याद नथपिएको हो।’ स्रोतका अनुसार भर्नामा शुभाङगदले पेश गरेका शैक्षिक प्रमाणपत्रमा समस्या देखिएको हो। यही कारणले अघिल्ला प्रधानसेनापति राजेन्द्र क्षत्रीले समेत उनको बढुवा रोकेका थिए।

सैनिक प्रवक्ता सहायक रथी बिज्ञानदेब पाण्डेले शुभाङगद नियमित अवकाशमा गएको दाबी गरे। शैक्षिक प्रमाणपत्रका बिषयमा केही समस्या नभएको उनको भनाई थियो। ‘बोर्डको मूल्यांकनले म्याद नथप्ने निर्णय गरेको हो,’ सहायकरथी पाण्डेले भने ‘यसमा अन्य कुनै बिषय छैन।’

सैनिक मुख्यालय जंगीअड्डाका अनुसार २०५० सालमा सेकेण्ड लेफ्टिनेन्टबाट सैन्यसेवा प्रवेश गरेका शुभाङगद ३३ औं ब्याचका हुन्। उनी सेनामा प्रवेश गर्दा बुवा रुकमाङगद फुल कर्णेल थिए।

शुभाङगदको अवकाशको जंगीअड्डा भित्रै चर्चा

सेनामा सामान्यतया नातागोता र आफन्तलाई विशेष अवसर दिने चलन पुरानै हो। अझ, पूर्व प्रधानसेनापतिकै सन्तान भनेपछि निजका हकमा सैनिक मुख्यालयले नै विशेष ध्यान राख्ने गर्छ।

तर सेनाभित्रको यो परम्परागत मान्यताभन्दा बैज्ञानिक र समानताका आधारलाई जाेड दिएर शुभाङगदकै म्याद नथपेपछि अहिले याे विषयकाे जंगीअड्डा भित्र चर्चा भइरहेको छ।

प्रधानसेनापति थापाले आफ्नो कार्यकालकाे एकवर्ष पुरा भएको अवसरमा दिएको सन्देश र चेतावनी पुरा गरेको बिश्लेषण एकजना उपरथीको छ। उनका अनुसार प्रधानसेनापति थापाले आफ्नो मन्तव्यमा शैक्षिक प्रमाणपत्र, नागरिकता र अन्य विवरणका बिषयमा समस्या भए आफैले सच्याउन सबैलाई चेतावनी दिएका थिए। ती रथीका अनुसार निश्चित समयसीमा तोकेर उनले गरेको आग्रहअनुसार धेरै सैन्य अधिकारीहरु अवकाशमा जानेछन् भने अन्य केहिले राजीनामा दिइरहेका छन्।

‘चिफ सापलाई कटवाल सापले अति विश्वास र माया गर्नुहुन्थ्यो,’ ती उपरथीले भने ‘शुभाङगदलाई मध्यमार्गी बाटो अपनाएर म्याद नथपेको हो।’ उनका अनुसार रुकमाङगद प्रधानसेनापति हुँदा सहायक रथी रहेका थापालाई सैनिक कल्याणकारीको जिम्मेबारी दिएका थिए। ‘अब चाहिँ  चिफसाप साँच्चिकै कडारूपमा प्रस्तुत हुन खाेजेकाे देखियाे’ एक रथिकाे भनाइ थियाे।

सबैले शैक्षिक प्रमाणपत्र र विवरण बुझाए

प्रधानसेनापति थापाको निर्देशनपछि सेनाका रथीदेखि तल्लो दर्जासम्मले शैक्षिक प्रमाणपत्र लगायतका विवरण बुझाएका छन्।

सेनाको उच्चतहका अधिकारीलाई आफ्नो शैक्षिक प्रमाणपत्र र उमेर खुल्ने प्रमाणपत्र बुझाउन भनिएको छ। यस्तै शंकास्पद देखिएकाहरुको हकमा समेत पुनः विवरण बुझाउन भनिएको थियो।

यसरी विवरण बुझाउनेमा बढुवाको लाईनमा रहेका उपरथी, सहायकरथी, महासेनानी र प्रमुखसेनानी छन्। उनीहरुको शैक्षिक प्रमाणपत्र लगायतका आवश्यक विवरण एकजना उपरथीको नेतृत्वमा रहेको छानबिन समितीले केलाइरहेको हो। केही सैन्य अधिकारीका हकमा सुरुमा शंकास्पद भएपनि उनीहरुले त्रिभुवन विश्व बिद्यालयबाट पत्र ल्याएपछि उनीहरुका प्रमाणपत्र सक्कली भएको प्रमाणित भएको छ।

सेनामा बढुवा प्रयोजनका लागि भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने गरेको गुनासो बढेपछि प्रधानसेनापति थापाले सेनाभित्र प्रमाणपत्रसम्बन्धी मापदन्डमा कडाई गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .