hongkong


जब गोर्खा सैनिकले गोली नचलाई हङकङको हिंसा रोके


पिटर डुफेल
काठमाडौं, मंसिर ७
‘जवानहरुले गोर्खा ह्याट लगाएका थिए। एक त त्यसले टाउको जोगाउँथ्यो, अर्को यो ठाउँमा गोर्खा सैनिक तैनाथ छन् भनेर धाक पनि जमाउँथ्यो। हामी जति अघि बढ्यौँ, त्यति नै भीड तितरबितर हुँदै गयो। एउटा गोली पनि पड्काउन परेन, न त अश्रुग्यास नै प्रहार गर्नुपर्‍यो।’

हङकङस्थित बेलायती सेनाका पूर्व कमान्डर पिटर डुफेलले ‘गोर्खा ओडिसी’ नामक पुस्तक लेखेका छन्। यो पुस्तक नेपाली गोर्खा सैनिकको दुई सय वर्ष लामो सेवाको गाथा हो।

अहिले हङकङमा हिंसात्मक प्रदर्शन चलिरहेको छ। सन् १९६० को दशकमा पनि हङकङमा अनेकौँ प्रदर्शन र दंगा भएका थिए, त्यसलाई रोक्न गोर्खा सैनिकले कस्तो भूमिका खेले त? पुस्तकको यो सम्पादित अंशमा डुफेल त्यसकै चर्चा गर्छन्ः

चीनको सांस्कृतिक क्रान्तिका कारण सन् १९६६ को अप्रिलमा हामीलाई हङकङमा पहिलो पटक निकै आपत पर्‍यो। हामी एउटा बटालियन कमान्ड पोस्टमा गाडीमा राखिएको रेडियो प्रणाली परीक्षण गरिरहेका थियौँ। अप्रिल ६ को दिउँसो हामी उत्तरी भागमा रहेको न्यु टेरिटोरिजस्थित क्विन्स हिल ब्यारेकमा फर्कियौँ। इस्टर चाड नजिक भएकाले हामी छुट्टीको पर्खाइमा थियौँ।

काउलुनमा हुलदंगा सुरु भएको खबर सुनेका थियौँ। त्यसैले केही खबर आइहाल्छ कि भनेर सवारी साधनमा जोडिएका रेडियो खुल्लै राख्ने निर्णय गर्‍यौँ। नभन्दै राति १ बजे खबर आयो। ब्रिगेडका ड्युटी अफिसरले रुखो आवाजमा हामीलाई उठाए र हाम्रो बटालियनलाई तुरुन्त काउलुन लैजान भने। त्यहाँ हुलहुज्जत फैलिएको थियो र हामीले प्रहरीलाई सघाउनुपर्ने थियो।

मैले आफ्ना सैनिकलाई उठाएर छिटो गोलीगठ्ठा तयार पार्न कम्पनी कमान्डर र गोर्खा अफिसरहरुलाई निर्देशन दिएँ। काउलुनबाट पाँच सय गज मात्र टाढा रहेको गन क्लब ब्यारेकबाट ब्रिटिस बटालियन पुग्नुअघि नै हामी न्यु टेरिटोरिजबाट नाथन रोड हुँदै त्यहाँ पुग्यौँ।

काउलुन र हङकङ आइल्यान्डको बीचमा चल्ने स्टार फेरीको भाडा ५ सेन्टले बढेका कारण प्रदर्शन सुरु भएको थियो। त्यसमा चिनियाँ सांस्कृतिक क्रान्तिको प्रभाव पनि थपियो। यद्यपि तीन रातसम्म चलेको प्रदर्शन त्योभन्दा ठूलो सामाजिक असन्तुष्टिको अभिव्यक्ति थियो। गरिब र धनीबीचको खाडल र युवाहरुको निरासा त्यहाँ पोखिएको थियो।

GurkhaHK2

काउलुनको सहरी क्षेत्रमा जनघनत्व अत्यन्त बढी थियो, जसले दंगा तीव्र गतिमा फैलिन सहयोग गर्‍यो। दंगा, लुटपाट भइरहेको थियो। सडकमा जलेका बसको लामो लाइन थियो। प्रहरीहरु थाकिसकेका थिए। थप सहयोग अत्यावश्यक भइसकेको थियो। दंगाको केन्द्र नाथन रोड र यससँग जोडिएका सडक थिए।नाथन रोडमा मार्च गरिरहँदा मजस्ता युवा अफिसरलाई त्यसअघिभन्दा भिन्न अनुभव भइरहेको थियो। हामी पूर्ण रुपमा सुरक्षा अनुशासनमा थियौँ। घरका बरण्डाबाट हामीमाथि गमला र इँटा प्रहार भइरहेको थियो।

जवानहरुले गोर्खा ह्याट लगाएका थिए। एक त त्यसले टाउको जोगाउँथ्यो, अर्को यो ठाउँमा गोर्खा सैनिक तैनाथ छन् भनेर धाक पनि जमाउँथ्यो। मैले तत्कालै गोर्खा सैनिकको साखको प्रभाव महसुस गरेँ। हामी जति अघि बढ्यौँ, त्यति नै भीड तितरबितर हुँदै गयो। हामीले एउटा गोली पनि पड्काउन परेन, न त अश्रुग्यास नै प्रहार गर्नुपर्‍यो। भीड तितरबितर पार्न हामीले तयार गरेको ब्यानर र बिगुल प्रयोग गर्नै परेन।

त्यसपछिका तीन दिन हामीले कफ्र्यु लगायौँ। सबैभन्दा तनावग्रस्त क्षेत्रलाई हामीले घेराबन्दी गर्‍यौँ। काइ ताक विमानस्थलजस्ता संवेदनशील क्षेत्रमा सुरक्षा दिनुका साथै भीड नियन्त्रण गर्न प्रहरीलाई सघायौँ। हाम्रो उपस्थिति प्रभावकारी त छँदैथियो, त्यसको स्वागत पनि भयो। अप्रिल ११ मा इस्टरको छुट्टी सकिएपछि हामी ब्यारेक फर्कियौँ।

काउलुनको त्यो अवरोध एक वर्षपछि गर्मीमा हुने घटनाको प्रस्तावना मात्रै थियो। अर्को वर्ष चिनियाँ सांस्कृतिक क्रान्तिको बलियो धक्का हङकङमा पनि आइपुग्यो।

औद्योगिक क्षेत्रमा अशान्ति फैलिँदै गयो। प्रदर्शन र बम प्रहारका घटना सयौँका संख्यामा हुनथाले। पूरै क्षेत्रमा हिंसा चर्केको थियो। होटल र पसल बन्द भए। माओका राता किताब जताततै देखिन्थे।

यी घटनामा करिब ५० प्रहरी र नागरिकको ज्यान गयो भने सयौँ घाइते भए। उपनिवेश सरकार ढाल्न नभएपनि त्यसको कठिन परीक्षा लिन यो अभियान चलाइएको थियो।

सिमानामा खतरनाक घटना हुन थाले। चिनियाँ मिलिसियाले सीमामा दबाब र मारपिट उत्पन्न गरिरहेका थिए। एउटा घटना मलाई निकै गम्भीर लाग्यो, जसले यसको समाधानको शैली निर्धारण गर्न पनि भूमिका खेल्यो।

gurkha_4.jpgकाउलुनमा भीड तितरबितर पार्न अश्रुग्यास प्रहार गर्दै प्रहरी

त्यसबेला हङकङ प्रहरीको प्रमुख जिम्मेवारी भनेको सीमा सुरक्षा थियो। सेना सहयोगी भूमिकामा मात्र रहन्थ्यो। आवश्यक पर्दा १० औँ गोर्खा बटालियन त्यहाँ खटिने तय थियो।

जुन २४ मा सा ताउ कोकस्थित सानो सीमा प्रहरी चौकीमा राखिएको बेलायती झण्डा हटाएर जलाउने कार्यक्रम रहेको प्रहरीको विशेष शाखाले सुइँको पायो। त्यस्तो आक्रमणलाई रोक्न प्रहरीले सडकमा अवरोध राखेर सुरक्षा बढायो।

अनुमान गरेजस्तै दुई सय हुल्लडबाज कुल्लीहरु त्यहाँ देखापरे। तीमध्ये कतिपय भेष बदलेका चिनियाँ मिलिसिया पनि थिए। सीमा अवरोध पार गरेर उनीहरु प्रहरीको घेराबन्दीमाथि खनिए।

तर, प्रहरीले लाठीचार्ज र अश्रुग्यास गरेर तिनलाई तितरबितर पार्‍यो। दुवै पक्षबाट केही घाइते भए। त्यसपछि सा ताउ कोकमा पाकिस्तानी दंगा प्रहरीको एउटा प्लाटुन थप गरियो। त्यो सीमा चौकीमा जुलाई ८ शनिबारसम्ममा ८६ हङकङ चिनियाँ र पाकिस्तानी प्रहरी थिए। त्यसको २५० गज पछाडि प्रहरीको चार वटा प्लाटुन अर्थात् १०० प्रहरी तैनाथ थिए। चीनतर्फ भने जनमुक्ति सेनाको एउटा बोर्डर रेजिमेन्ट तैनाथ थियो।

बिहानै सीमाबाट चीनतर्फको भूभागमा ठूलो भीड जम्मा भयो। ११ बजेतिर सयौँ संख्यामा रहेका प्रदर्शनकारी प्रहरीलाई ढुंगामुढा गर्दै अघि बढे। उनीहरु बोतल र स्थानीयले गैरकानुनी रुपमा माछा मार्न प्रयोग गर्ने डाइनामाइट प्रहरीमाथि प्रहार गरिरहेका थिए।

दबाब बढेपछि पछाडि बसेका प्रहरीको चार प्लाटुन पनि आठआठजनाको फर्मेसन बनाएर अघि बढ्यो। त्यति नै बेला अघि बढिरहेको प्रहरी टुकडीमाथि चीनमा निर्मित मेसिनगनबाट गोली प्रहार हुन थाल्यो। एक प्रहरीको तत्काल मृत्यु भयो भने अरु घाइते भए।

प्रहरीको टुकडी तितरबितर भयो र गोली छल्न आड लाग्यो। सा ताउ कोक चौकीका प्रहरी र भवनमा पनि चिनियाँ स्नाइपरले गोली चलाए। जसबाट थप प्रहरी मारिए र घाइते भए।

यसप्रकारको आक्रमण रोक्न प्रहरीसँग न हतियार थियो, न त्यस्तो तालिम नै दिइएको थियो। उनीहरुसँग केही अटोमेटिक राइफल र सटगन थिए। त्यसमाथि पनि सीमाभन्दा पारि ताकेर गोली चलाउने अनुमति उनीहरुलाई थिएन। उनीहरु एकदमै अप्ठेरो स्थानमा थिए र त्यो आक्रमणले उनीहरुलाई चकित तुल्याएको थियो। तैपनि उनीहरुले जवाफी फायर गरे र केही चिनियाँ मिलिसियालाई घाइते बनाए। तर, उनीहरुको जोर चलेन। यतिबेलासम्म ५ प्रहरी मारिइसकेका थिए भने ११ घाइते भएका थिए।

थप गोली चलाइएन। किनभने त्यो प्रभावकारी नहुने विश्लेषण भयो। बरु, हतियार बोकेका अनुशासित गोर्खा सैनिक बख्तरबन्द गाडीसहित सडकमा देखिनु बढी प्रभावकारी भयो। गोर्खा सैनिक सा ताउ कोकतर्फ अघि बढ्नु नै चिनियाँहरु आफ्ना घाइते साथीलाई बोकेर बेलायती भूभागबाट भाग्नका लागि पर्याप्त थियो।

करिब साढे ४ बजेतिर गोर्खा बटालियनको सबैभन्दा अग्रभागमा रहेको कम्पनी त्यो प्रहरी चौकीमा पुग्यो। ५ बजेभित्रै सा ताउ कोकको बेलायती भूभाग सुरक्षित घेराभित्र आइसकेको थियो। भवनहरुमा रक्षात्मक पोजिसनमा हाम्रा सैनिक बसिसकेका थिए। मृत र घाइते प्रहरीलाई त्यहाँबाट लैजान थालिएको थियो।

सा ताउ कोक घटनाले प्रहरीको मनोबलमा आघात पुगेको थियो। त्यसैले सीमा सुरक्षाको मुख्य जिम्मेवारी बेलायती सेनाले लियो र सीमामा गोर्खा सैनिक तैनाथ भयो। त्यसपछि हप्तौँसम्म गोर्खाहरुलाई लक्षित गरेर राजनीतिक प्रदर्शन, उत्तेजना, बेइज्जती र त्रास दिइयो। कहिलेकाहीँ गोर्खा सैनिकलाई लक्षित गरेर चलाइएको गोली तिनको टाउकामाथिबाट जान्थे।

gurkha_23.jpgलो वुमा तैनाथ गोर्खा सैनिक

त्यसबाहेकको गम्भीर घटना लो वु र म्यान काम तोमा भयो। चिनियाँहरु पहिलेदेखि नै बेलायती सुरक्षा फौजसँग नाटकीय द्वन्द्व बढाउने प्रयासमा थिए।

तर, सीमामा तैनाथ सैनिकले लामो गर्मीभरी अश्रुग्यास र स्मोक ग्रिनेडबाहेक गोली चलाएनन्। गोर्खा सैनिकको सहयोगमा बेलायती र हङकङ सरकार अडिग रहे र हुलदंगाबाट उत्पन्न दबाबसामु घुँडा टेक्न अस्वीकार गरे। अगस्टमा गएर माओका लालसेनाले बेइजिङस्थित बेलायती दूतावासमा आगो लगाए।

हङकङका केही चिनियाँ करोडपतिहरु ठाउँ छोडेर क्यानडाको भ्यानकुभर र अन्यत्र गए। तर, सेन्ट्रलस्थित क्रिकेट ग्राउन्डमा बेलायतीहरुले खेल खेलिरहे। हङकङका गभर्नर पनि कहिलेकाहीँ फानलिङको गल्फकोर्समा झुल्किन्थे।

गर्मी सकिएसँगै हुलदंगा पनि कम हुन थाल्यो। हङकङबासीको लचिलोपन, सरकारको दृढता र सीमामा खटिएका गोर्खा बटालियनले संयमतापूर्वक तथा संवेदनशील तरिकाले उत्तेजनालाई दबाएका कारण कारण यो सम्भव भएको थियो। चिनियाँ अधिकारीहरुले समर्थकहरुलाई संयमता अपनाउन दिएको निर्देशनको असर पनि पर्‍यो। माओको उद्देश्य पनि बेलायतीहरुलाई घुँडा टेकाउनु थियो, नकि समयअघि नै हङकङलाई फिर्ता लिनु। किनभने हङकङ आर्थिक रुपले निकै महत्वपूर्ण थियो।

(साउथ चाइना मर्निङ पोस्टबाट)

मंसिर ७, २०७६, शनिबार
Building Future

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

FT 3 G/F Bo Lun Building, 28-34 Battery Street,
Yau Ma Tei, Kowloon Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Executive Editor
Thira Lal Bhusal

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors