ad ad

राजनीति


गठबन्धनका दलले प्रदेशमा तयार पारे चुनावी तालमेलको प्रारम्भिक मोडल

उम्मेदवार नबन्ने दलको चुनाव चिन्ह नराख्न सुझाव
गठबन्धनका दलले प्रदेशमा तयार पारे चुनावी तालमेलको प्रारम्भिक मोडल

सागर न्यौपाने
चैत २०, २०७८ आइतबार १९:४९, काठमाडौँ

अर्घाखाँची जिल्लामा सत्ता साझेदार पाँच दलले चुनावी तालमेल गर्ने घोषणा गरेको १९ दिनपछि यी दलका केन्द्रीय नेतृत्वले सबै स्थानीय तहमा गठबन्धन गर्ने निर्णय लियो। जिल्लामा आफूखुसी गठबन्धन घोषणा हुन थालेपछि दबाबमा परेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले चैत १७ गते तालमेलको निर्णय गरेका हुन्।

त्यसयता स्थानीय तहको चुनावमा देशैभर तालमेलको मोडालिटी बनाउने प्रयासमा पाँच दल छन्। त्यसका लागि उनीहरुले प्रदेश र जिल्ला तहमा पनि संयन्त्र बनाइरहेका छन्।

चुनावी तालमेलबारे मोडालिटी बनाउन शनिबार प्रदेश १ ले संयन्त्र निर्माण गरिसकेको छ। मधेश प्रदेशमा आइतबार बिहान जनकपुरमा पाँचै दलको बैठक बस्यो।

बैठकमा सहभागी नेकपा एकीकृत समाजवादी पार्टीका मधेश प्रदेश अध्यक्ष रामचन्द्र यादवका अनुसार गठबन्धनलाई प्रभावकारी बनाउन सबै जिल्लामा पार्टीहरुको यथार्थ अवस्था २२ चैतभित्र पेस गर्ने सहमति जुटेको छ।

मधेश प्रदेशमा १ महानगर, ३ उपमहानगर, ६९ नगरपालिका र ६७ गाउँपालिका छन्। 

‘गठबन्धनका सबै दलले इमान्दार भएर रिपोर्ट ल्याए मिलेर जान सक्ने सम्भावना छ,’ यादवले नेपालखबरसँग भने, ‘हामी तीन दलको अवस्था उस्तैउस्तै भएकोले एउटा दल मात्र इमान्दार नहुने, नभएको रिपोर्ट ल्याएर बढी भाग माग्न खोजे कुरा मिल्दैन। हामी कठिन भए पनि गठबन्धनबीच तालमेल गर्नुपर्छ भन्ने पक्षमै छौँ।’

लुम्बिनी प्रदेशमा मंगलबारसम्म चुनावी गठबन्धनको मोडालिटी बनाउने तयारी छ। माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटि अध्यक्ष सुदर्शन बरालका अनुसार गठबन्धन गर्नेमा  पाँच दलबीच सहमति छ। 

‘हामी मंगलबारसम्ममा पाँचै दलको संयुक्त बैठक बसेर जिल्लाका सबै स्थानीय तहको तालमेलबारे मोडालिटी बनाउँछौँ,’ बरालले नेपालखबरसँग भने, ‘गठबन्धन बनाउने सैद्धान्तिक सहमति गरिसकेका छौँ।’

लुम्बिनीमा ४ उपमहानगरपालिका, ३४ नगरपालिकासहित ७१ वटा गाउँपालिका छ। सबै जिल्लामा गरेर ९ सय ३८ वडा छन्। वडा तहसम्म चुनावी तालमेल गरेर जाने केन्द्रको नीति अनुसार वडासदस्य समेत गठबन्धनबाटै जिताउनेगरी लागेको उनले बताए। 

‘हामी सबै स्थानीय तह गठबन्धनले जित्नुपर्नेगरी लागेका छौँ, अहिले सबै जिल्लाको रिर्पोटिङ लिइरहेका छौँ,’ बरालले भने।

बागमती प्रदेशले गठबन्धनबारे थप निर्णय गर्न आइतबार साँझ बैठक राखेको छ। बैठकमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रदेश अध्यक्षहरु सहभागी हुँदैछन्। 

आइतबारको बैठकमा गठबन्धनबारे सैद्धान्तिक सहमति गर्ने बागमती प्रदेश नेपाली कांग्रेस सभापति इन्द्र बानियाँले बताए।

‘बागमती प्रदेशमा हामी राजनीतिक इमान्दारी साथ गठबन्धन निर्माण गछौँ र त्यो कार्यान्वयन गछौँ,’ बानियाँले नेपालखबरसँग भने, ‘गठबन्धनका पाँचै दललाई दोबाटोमा छाड्दैनौँ।’

‘माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपालगायतका दलले साथ दिएकैले कांग्रेसले सत्ताको नेतृत्व गर्ने अवसर पाएको छ,’ बानियाँले थपे, ‘कांग्रेसले पनि उच्च राजनीतिक नैतिकता देखाउँछ। बागमती प्रदेशमा पाँचै दललाई खुसी हुनेगरी नतिजा ल्याउँछौँ।’

असहज परिस्थितिमा सरकारको नेतृत्व गर्न पाएको, एमसीसी पास गर्न पाँचै दलले समर्थन गरेको र राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसलाई मत दिएर जिताउन प्रमुख भूमिका खेल्ने माओवादी, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीचको तालमेल आगामी संघीय र प्रदेश चुनावसम्म कायम रहने उनले घोषणा गरे। 

‘केन्द्रदेखि प्रदेशसम्म सरकार निर्माण गर्न दिएको साथ, राष्ट्रिय सभा निर्वाचनमा रुखमा मत दिएर हाम्रो मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिताउन गठबन्धनले साथ दियो। अब हामीले घात गर्न मिल्दैन, १३ वटै जिल्लामा कसैलाई मर्का नपर्नेगरी वडातह पनि बाँडफाँट गछौँ,’ उनले भने। 

जसपा बागमती प्रदेश अध्यक्ष सोनामसिंह स्याङतानले गठबन्धनमा रहेका दलहरुबीच पालिकास्तरसम्म संयन्त्र बनाउने बताए।

‘संयन्त्र बनाएर सबै पालिकासम्मको दलहरुको अवस्था हेरेर तालमेलबारे निर्णय हुन्छ होला,’ स्याङतानले नेपालखबरसँग भने, ‘गठबन्धनका सबै दलहरुलाई बाँडफाँटमा अन्याय गर्नु हुँदैन भन्ने छ।’

गण्डकी प्रदेशमा शुक्रबार गठबन्धनको बैठक बसेको छ।

स्थानीय चुनावमा गठबन्धन बनाएर जाने केन्द्रको निर्णय स्वागत गर्दै पाँचै दलको अहिलेको जनमतसहितको रिपोर्ट बनाएर चैत २२ गतेसम्म पेस गर्न समय दिएको छ।

गण्डकी प्रदेश कांग्रेसका प्रवक्ता माधवप्रसाद बाँस्तोलाले उम्मेदवार नभएको दलको चुनाव चिन्ह मतपत्रमा नराख्न केन्द्रमा सुझाव पठाएको बताए।

‘हामीले अघिल्लो चुनावमा गठबन्धनमा रहेका दलहरुले प्राप्त गरेको मतसंख्या र अहिलेको वास्तविक अवस्थासहित चैत २२ गतेको बैठकमा बसेर छलफल गछौँ,’ बाँस्तोलाले भने, ‘उम्मेदवार नभएको दलको चुनाव चिन्ह मतपत्रमा नराख्न केन्द्रमा सुझाव पनि पठाएका छौँ।’

सुदूरपश्चिममा अहिलेसम्म गठबन्धनका नेताहरुबीच औपचारिक छलफल सुरु भएको छैन। मंगलबारसम्म पहिलो चरणको छलफल हुने माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका इन्चार्ज खगराज भट्टले बताए।

‘कांग्रेससहितको शीर्ष नेताबीचको छलफल भोलिबाट सुरु हुन्छ,’ भट्टले भने, ‘समझदारीको मोडल बनाउने विषयमै छलफल गर्छौँ।’ 

सुदूरपश्चिममा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी बलियो अवस्थामा छन्।

‘तीनै दलको अवस्था बलियो छ, केही जटिलता छ। यसअघि कांग्रेसले जितेको ठाउँमा माओवादीले जित्ने आधार बनिसक्यो,’ भट्टले थपे, ‘यस्ता नमिल्ने कुरालाई केन्द्रमा पठाएर पनि सर्वसम्मत निर्णय गछौँ र गठबन्धनलाई बलियो बनाउँछौँ।’

सुदूरपश्चिममा वडा तहसम्म तालमेल हुने उनले बताए। 

कर्णाली प्रदेशमा गठबन्धनका पाँच दलबीचको बैठक जारी छ।

कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीले अहिले बैठक बसिरहेको जानकारी दिए।
 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .