सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा निर्वतनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफू सरकारबाट थप ऊर्जाका साथ बाहिरिएको बताएका छन्।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पुनर्गठन गर्ने क्रममा मन्त्री विष्टलाई हटाएका थिए। मन्त्रीबाट हटेपछि विष्टले बिहीबार सामाजिक सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
उनले आफू मन्त्रीमा रहँदा बैदेशिक रोजगारमा ठगिने युवा, श्रमिक र बेरोजगारका पक्षमा इमान्दारितापूर्वक ज्यामी माहुरीले झै काम गरेको दावी गरेका छन्। उनले काम गर्ने अवसर दिएकोमा प्रधानमन्त्री ओलीप्रति कृतज्ञता समेत व्यक्त गरेका छन्।
‘जति दिन श्रममन्त्रीको रुपमा रहेँ– वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र बेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ। अहिले मन्त्रीबाट बाहिरिएको छु –थप उर्जा र प्रेरणाका साथ। मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्माननीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु’, उनले फेसबुकमा लेखेका छन्।
उनले आफूले चालेको सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबैमा धन्यवाद समेत व्यक्त गरेका छन्।

प्रतिक्रिया