ad ad

राजनीति


नेकपाले चुनावलाई प्रभाव पार्न कम्बल बाँडेको आरोप, आयोगमा उजुरी

नेकपाले चुनावलाई प्रभाव पार्न कम्बल बाँडेको आरोप, आयोगमा उजुरी

वाशुदेव मिश्र
मंसिर ३, २०७६ मंगलबार ९:३०,

नेपाली कांग्रेस कास्कीले कास्की उपनिर्वाचनलाई प्रभाव पार्नेगरि वडा नम्बर १५ का वडाध्यक्षले त्यहाँको पट्नेरीको बस्तीमा कम्बल बितरण गरेको आरोप लगाएको छ। कास्की कांग्रेसले मंगलबार विज्ञप्ति जारी गरी पट्नेरीका १२ जनालाई वडाध्यक्ष प्रकाश पौडेलले कम्बल बितरण गर्दै आचार संहिता मिचेको दाबी गरेको हो।

वडाध्यक्ष पौडेलले पनि सो ठाउँमा कम्बल बितरण भएको स्वीकार गरेका छन्। थ्रि एन्जल्स नामक गैरसरकारी संस्थाले कम्बल बितरण गर्ने कार्यक्रममा आफू सहभागि भएको उनले स्वीकारे। पौडेल तत्कालीन एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्।

कांग्रेसले निर्वाचन आचारसंहिता विपरित वडा कार्यालयले कम्बल बितरण गरेको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको छ। पार्टी सभापति कृष्ण केसीका अनुसार निर्वाचन क्षेत्र भित्र मतदातालाई प्रलोभनमा पार्ने काम वडा कार्यालयबाटै भएको भन्दै वडाध्यक्षलगायत त्यस कार्यमा संलग्नलाई कार्बाहीको माग गर्दै उजुरी दिइएको हो।

कास्की कांग्रेसका सभापति कृष्ण केसीले यही विषयमा जारी गरेको विज्ञप्तिमा वडाध्यक्ष पौडेलको यो कार्य निर्वाचन आचारसंहिता २०७२ को दफा ३ को उपदफा १ (ख) विरुद्ध हुने जिकिर गरिएको छ। पार्टी सभापति कृष्ण केसीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनको मुखमा निर्वाचन क्षेत्रका मतदातालाई प्रलोभनमा पारी प्रभावित पार्ने मनसायले गरिएको यस प्रकारको कार्यको घोर निन्दा र भत्र्सना गर्दै यस्ता कार्य तत्काल बन्द गर्न सम्बन्धित निकायलाई सचेत गराउँदछौं।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हतास मनस्थितिबाट गरिएको यस प्रकारको निन्दनीय कार्यशैलीलाई निर्वाचन कार्यालयले अनुगमन गरी आचारसंहिता विपरीत कार्य गर्नेमाथि कार्बाही गर्न जोडदार माग गर्दछौं।’

निर्वाचन आयोग कास्कीले पनि आचारसंहित उल्लंघनको उजुरी परेको जानकारी दिएको छ। जिल्ला निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीका अनुुसार घटनाको मुख्यनिर्वाचन अधिकृतले छानबिन गर्ने र आचरसंहिता उल्लंघन भए कारबाही हुने जानकारी दिए। पोखरा महानगरपालिकाको वडा नम्बर १५ कास्की क्षेत्र नम्बर २ को निर्वाचन क्षेत्रभित्र पर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .