राजनीति


प्रदेश १ मा माओवादीको आक्रामक चुनावी अभियान, एक चौथाइ तह जित्ने दाबी

प्रदेश १ मा माओवादीको आक्रामक चुनावी अभियान, एक चौथाइ तह जित्ने दाबी

माओवादी अध्यक्ष प्रचण्डले प्रदेश १ मा आइतबार कार्यकर्ता भेलामा सम्बोधन गरेका छन्


सागर न्यौपाने
फागुन ३०, २०७८ सोमबार २१:४५, काठमाडौँ

नेकपा माओवादी केन्द्रले प्रदेश १ मा स्थानीय तहको निर्वाचनका लागि आक्रामक चुनावी रणनीति बनाएको छ। १४ जिल्ला रहेको प्रदेश १ मा एक महानगर, दुई उपमहानगर, ४६ नगरपालिका र ८८ गाउँपालिकासहित १ सय ३७ स्थानीय तह छन्। 

सबैभन्दा ठूलो प्रदेशमा यसअघि २०७४ को निर्वाचनमा माओवादी केन्द्रले १ नगरपालिकासहित १४ स्थानीय तह मात्र जितेको थियो। वैशाखमा हुने निर्वाचनमा त्यसको तेब्बर स्थानीय तह जित्ने लक्ष्य राखिएको सो पार्टीका नेताहरु बताउँछन्।

माओवादी केन्द्र प्रदेश १ का इन्चार्ज राम कार्कीले पार्टीको अवस्थामा निकै सुधार आएको बताए।

‘सोलुखुम्बु, संखुवासभा, भोजपुर र उदयपुरमा हाम्रो पार्टी बलियो अवस्थामा छ,’ कार्कीले नेपालखबरसँग भने, ‘पाँचथर, खोटाङ र मोरङमा केही पालिका जित्छौँ। अन्य जिल्लाका पालिकामा हामी तेस्रो अवस्थामा छौँ, पहिलो हुनेगरी वडा र टोलसम्म पुग्ने कार्यक्रम बनाएका छौँ।’

उनका अनुसार राम्रो मेहनत गर्न सके १ सय ३७ स्थानीय तहमध्ये एक चौथाइ अर्थात् ३५ स्थानीय तह जित्न सकिने अवस्था छ।

२०६४ मा बलियो बनेको माओवादी केन्द्र ०७४ मा आइपुग्दा कमजोर बनेको थियो। त्यसैले नयाँ, उत्साह जगाउन सक्ने, विचार र संगठन विस्तार गर्न सक्ने नेतालाई टिकट दिने सो पार्टीले बताएको छ। 

‘पहाडी जिल्लामा हामी बलियो अवस्थामा छौँ, त्यहाँ संगठननिक मत छ। तर, तराई भेगको मत उत्तारचढावपूर्ण हुन्छ। पार्टी र उम्मेदवारले फरक पार्छ,’ कार्कीले थपे।

केन्द्रीय सदस्य तथा सांसद सुरेशकुमार राई पनि १४ वटै जिल्लामा स्थानीय तहको चुनावी अभियानका लागि पाँच वटा कमान्ड बनाइएको बताउँछन्।

‘सबै जिल्ला समेटिने गरी पाँच कमान्ड बनाएर पाँच जना केन्द्रीय सदस्यलाई प्रदेशमा खटाइएको छ,’ राईले नेपालखबरसँग भने, ‘जित्ने ठाउँ सुरक्षित गर्दै थप दस तह जिताउने जिम्मा छ।’

सुरेशकुमार राई, इन्द्र आङ्बो, अजम्बर काङमाङ राई, सावित्री काफ्ले र हेमराज भण्डारीलाई कमान्डर तोकिएको छ।

स्थानीय तहको निर्वाचन परिणामले मात्र प्रदेश र प्रतिनिधि सभामा राम्रो मत पाइने भएकोले सबै शक्ति प्रदेशमा लगाइएको उनले बताए।

‘हामी ३४ जना केन्द्रीय सदस्य प्रदेश १ कै छौँ, अहिलेको रणनीति भनेको सबै केन्द्रीय सदस्यले कम्तीमा १ वटा पालिका जित्नै पर्ने भन्ने छ, त्यही भएर वडा र टोलमा खटिन्छौँ,’ राईले भने।

प्रदेश १ मा माओवादीको आन्तरिक विवादले असर नगरोस् र सबै खट्ने वातावरण बनोस् भनेर आन्तरिक समस्या हल गरेको प्रदेश इन्चार्ज कार्की दाबी गर्छन्।

‘हाम्रो पार्टीको आन्तरिक पंक्ति सुदृढ र एकतावद्ध भएको छ,’ कार्कीले भने, ‘एमसीसीलाई प्रष्ट पार्छौँ, पार्टीभित्र भएका द्विविधा हटाउँछौैं।’ 

केन्द्रीय सदस्य अजम्बर काङमाङका अनुसार चैत पहिलो हप्तासम्म पार्टीमा रहेका समर्थक, नेता, कार्यकर्ता सबैलाई सम्पर्कमा ल्याउने र त्यसपछि चैतभरि टोलटोलमै खटिने कार्यक्रम बनिसकेको छ।

‘प्रारम्भिक तयारी सकिएपछि हामी आक्रामक रुपमा लाग्छौं, पालिकाकेन्द्रित हुने कार्यक्रम बनाएका छौंँ,’ काङमाङले भने, ‘वडाअध्यक्ष जित्दा सबै सदस्य जित्नेगरी काम गर्न निर्देशन दिएका छौँ।’

टिकट वितरणमा समस्या नहोस् र त्यसले पार्टीभित्र विवाद नदेखियोस् भनेर मूल्यांकन विधि नै बनाउने राईले बताए। यसबाहेक माओवादीले प्रचारप्रसारमा पनि जोड दिने भएको छ। 

‘खासगरी प्रदेश १ मा हाम्रो पार्टीले गरेको विकास निर्माण, संघीयताको प्रयोग र सफल बनाउने कुरामा लिएको अडानजस्ता विषय जनताका घरघरमा भन्नुपर्नेछ,’ केन्द्रीय सदस्य राईले थपे।

आइतबार अध्यक्ष प्रचण्डले प्रशिक्षणका क्रममा प्रदेशका नेताहरुलाई गाउँ पस्न निर्देशन दिएका थिए।

‘तपाईंहरु अब सबै घरघर पुग्नुहोस् र जनताको समस्या नोट गरेर सके त्यहीँ समाधान गर्नुस्, नसके केन्द्रमा पठाउनुस्,’ प्रचण्डको निर्देशन उधृत गर्दै कार्कीले भने, ‘केन्द्रीय सदस्यले नगरपालिका र प्रदेश सदस्यले वडा जिताउनैपर्छ।’

प्रदेश १ मा माओवादीका नेताहरु जनताको घरमा नपुगेकैले कमजोर देखिएको निष्कर्ष निकालिएको नेताहरु बताउँछन्।

जितेका पालिका जोगाउने, दोस्रो भएकामा पहिलो हुने, तेस्रो स्थान भएका ठाउँमा पहिलो नभए दोस्रो भए पनि हुनैपर्ने निर्णय गरेर पार्टी खटिएको नेताहरु बताउँछन्।

मोरङको रंगेलीमा माओवादी केन्द्रबाट जितेका मेयर एमाले प्रवेश गरेपछि माओवादीले त्यो क्षेत्रमा पनि रणनीति बदलेको छ।

‘रंगेलीमा हामीलाई जित्न गाह्रो हुनसक्छ तर, प्रतिबद्ध मत थुप्रै छ, अहिले त्यस ठाउँमा एक पटक शक्ति केन्द्रित गर्छौँ,’ इन्चार्ज कार्कीले भने। 

वैचारिक हिसाबले इमानदार उम्मेदवार नभए जितेकाले पनि सानातिना नाफाघाटा हेरेर पार्टी छाड्नसक्ने देखिएकोले अब टिकट वितरण गर्दा निकै विचार गर्ने उनीहरु बताउँछन्। 

महानगर र दुई उपमहानगर मात्र होइन, सदरमुकाम भएका नगरपालिकाहरुमा पनि माओवादी कमजोर रहेको नेताहरु स्वीकार्छन्।

‘त्यसैले अहिले हामी गाउँ पालिकामै केन्द्रित हुन्छौँ,’ इन्चार्ज कार्कीले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad