नेपाली कांग्रेस लुम्बिनीले स्थानीय तहमा अन्य पार्टीसँग गठबन्धन गर्ने वा नगर्ने सम्बन्धमा सम्बन्धित स्थानीय तहको जिम्मामा छोड्ने जनाएकाे छ।
कांग्रेस प्रदेश कार्यसमितिको बैठकले गठबन्धन गर्ने या नगर्ने सम्बन्धमा तत् तत् स्थानीय तहको आवश्यकता र परिस्थिती अनुसार केन्द्रीय समितिको नीति, निर्देशन समेतलाई आधार बनाउने निर्णय गरेको छ।
बिहीबार विहान बैठकका निर्णय सार्वजनिक गर्दै प्रदेश सभापति अमरसिंह पुनले तालमेलको जिम्मा सम्बन्धित स्थानीय तहलाई दिनुपर्ने बताए। उनले माथिल्लो पंक्तिबाट गठबन्धन गर्न दबाब दिन नहुने उल्लेख गरे। पुनले त्यस्तो गठबन्धन पार्टी र नेपाली जनताको हितमा नहुने पनि बताए।
प्रदेश सभापति पुनले एकल रुपमा चुनाव लडेमा कांग्रेसले लुम्बिनीका ४ उपमहानगर सहित बहुमत स्थानीय तह जित्ने दाबी गरे। उनले चुनाव प्रचार प्रसारलाई समय मिलोस् भनेर सकभर छिटो उम्मेदवार टुंगो लगाउने बताए।
यस्तै, कांग्रेस लुम्बिनी प्रदेश समितिले स्थानीय तहका उम्मेदवारहरुलाई छनोट गर्न विधि र मापदण्ड तय गरेको छ।
उम्मेदवार छनोटको लागि पार्टीमा गरेको योगदान, जनाधार मूल्यांकन, कार्यक्षमता र कार्यकुशलता, दक्षतासहितको समावेशितालाई प्राथमिकता, क्रियाशीलता, निरन्तरता लगायतलाई आधार बनाएको प्रदेश सभापति पुनले बताए। यस्तै, प्रदेशका ५२ वटै प्रदेश निर्वाचन क्षेत्रमा प्रतिनिधि पठाउने निर्णय पनि बैठकले गरेको छ।
Shares
प्रतिक्रिया